आज मुलुकले प्राकृतिक बिपत्तिको कहर भोगिरहेको छ । सयौंको ज्यान मात्र गएन नागरिकका अर्बौंका धनमाल नष्ट भए । विदेशी ऋणबाट बनेका सडक , पुल र थुप्रै भौतिक संरचनाको बेहाल भयो ।
बल्ल बल्ल निर्यातजन्य उद्योगको रुपमा वामे सर्न लागेका जलविधुत आयोजनाहरु समेतमा ठूलो नोक्सानी भयो । यस्तो अवस्थामा हामीले देखिरहेका छौं विपतमा मुख्य भूमिका निर्बाह गर्नुपर्ने , देशविदेशमा सहयोगको अपिल अनि आम नागरिकलाई एकजुट भएर समर्पित हुन अपिल गर्नुपर्ने प्रधामन्त्री अन्टसन्ट कार्यक्रममा अमेरिकातिरै ढलिमली गरिरहे । देशको राजधानीमा बाढीमा फंसेर ज्यान जोगाउन गुहार मागिरहेका व्यक्तिलाई राज्यले देखेन ।
राजधानीको दुई किलोमिटर भित्र झण्डै आधादर्जन सार्बजनिक सवारी साधन पुरिदा दर्जनौ यात्रीहरुको ज्यान गयो । गृहमन्त्रीको पदमा बस्नेले भिजिबिलिटी नभएकोले उद्दार गर्न सकिन भनेर झुट बोल्छ । पाँच पाँच पटक देशको प्रधानमन्त्री भएको व्यक्तिले सबै मिलेर विपदको सामना गरौं भन्दैन उल्टै मलाई थाहा छैन गृहमन्त्रीलाई सोध भन्छ !
यति हुँदा पनि हामी तिनै दुष्ट नालायकहरुको शासन भोग्न बाध्य छौं । ईतिहासमा पढेको बाहादुर नेपालीको दर्जा कायर हुतिहारा र दासहरुको देशमा रुपान्तरित भएछ । यस्तो लाग्छ देश मुर्दाहरुले चलाउँछन् र यो देशमा बसेका हामी सबै डेथ वडिहरु हौं ! कति लेख्नु कति चिच्याउनु यस्ता दुष्टहरुलाई दशकौंदेखि सत्ता सुम्पिने हजुर हामी नै त हौं ।
मानवसृजित बिपत्ति
Hydrological & Geotechinal अनुसन्धान नगरी बनाइने सडक तथा ग्रामिण सडकका कारण बाढी , पहिरो तथा सबारी दुर्घटना भैरहेका छन् । कुन ठाउँको भूगोलमा कस्तो छ त्यहाँ कस्तो प्रकारको बाटो , पुल , भवन या भौतिक संरचना बनाउन मिल्छ भन्नेसम्म योजना तथाकथित नीति निर्माता संग छैन ।
खोलानदि मिचेर सुकुम्बासी बस्ती बसाउने , तिनैलाई लालपुर्जा दिने र तिनैको भोटले राजनीति गर्नेहरुको हातमा सत्ता भइन्जेल यस्ता बिपत्तिहरु आइरहेका र हामी दशकौंदेखि भोगिरहेका छौं । विकास र समृद्धिका गफ चुटेर राजनीति गरिरहेकाहरुसंग मुलुक विकासको कुनै पनि मार्गचित्र र गोल निर्धारण भएको छैन ।
भोटको लागि पहाड भत्काएर धुले बाटो बनाउने अनि त्यही धुलेबाटो निर्माण र मर्मतको माध्यमबाट हजारौं जनप्रतिनिधिले आर्थिक उपार्जन गरिरहेका सर्वत्र देख्न सकिन्छ ।
ओझेलमा पर्न सक्छ सहकारी अपचलन
आम नागरिकले बचत गरेको झण्डै एक खर्ब रकम अपचलनमा एमाले कांग्रेसको नेतृत्व संलग्न देखियो । गोर्खा मिडियामा गएको झण्डै ६५ करोड रकम मध्ये गैरकानुनी रुपमा गएको भए रविको भागमा पर्ने १२/१४ करोड रकम मात्र हो । कसुर भए उक्त रकम रविले तिर्नुपर्छ ।
देबकुमार नेपाली धनराज गुरुङ जस्ता दर्जनौं एमाले कांग्रेसका नेताहरुले सहकारीकै पैसाले नेतासंग टिकट र गाउँ शहरमा भोट किनेका रहेको बल्ल खुल्दै छ । देशको पैसा कहाँ गयो भनेको त्यति ठूलो रकम राजनैतिक नेतृत्वकै संलग्नामा विदेश गएको रहेछ ।
संसदमा सहकारीको बिषयमा गगन , विश्व प्रकाश , चन्द्र भण्डारी , धनराज गुरुङ सूर्य थापाहरुले गरेका चर्का भाषणहरु बचतकर्ताको रकम फिर्ता गराउने भन्दा पनि रवि र वैकल्पिक राजनीतिको तेजोबध गर्न र राजनीतिको मैदानलाई आफ्नो अनुकुल बनाउउन गरेको देखियो ।
नागरिक स्तरबाट खवरदारी तथा जनप्रतिरोध नगर्ने हो भने सम्पूर्ण सहकारी ठगहरुले दल र तिनका नेता किनेर सुरक्षित हुनेछन् ।
नेतालाई चाहिँदैन देश
हाम्रै छिमेकी देशमा भ्रष्ट नेताहरु सजिलै देश छोडेर भागे । भ्रष्टहरुको देश हुँदैन रहेछ । किनकी उनीहरुलाई थाहा छ कुनै पनि समय देशमा विद्रोह हुन सक्छ त्यो बेला भागेर जान छोराछोरीले विदेशमा सेटलमेण्टको व्यवस्था गरेका छन् । देश हामी नागरिकको हो ।
जस्ले देशकै नेतृत्व सम्हालेको छ उसैले आाफ्ना छोरा नाति अमेरिका , बेलायत या स्वीटजरल्याण्ड सेट गरिरहेको छ ऊ देश बनाउने उद्देश्यले होइन विदेशीको ईसारामा देश खरानी पारेर विदेशी प्रभुत्व ुसुनिश्चित गर्ने अभियानमा लागेको जस्तो अनुभूति सहजै भैरहेको छैन र ?
हामी त्यस्तो अभागी देशका तथाकथित गणतन्त्रका रैती हौं जहाँ आधा दर्जन दुष्ट नेताहरुले जे भन्छन् या जे गर्छन् त्यो नै सर्वोपरीं हो । गणतन्त्र भए त हामी नागरिक हुन्थ्यौं नि त ! संबिधानको किताबमा लेख्दैमा केही हुँदैन हामी दलिय सिण्डिकेट र लुटतन्त्रका पीडित भयौं । तिनले गरेको निर्णय यस्तो अकाट्य छ जुन बिषयमा अदालतमा मुद्दा लाग्दैन या दर्ता नै हुँदैन । किनकी अदालतका न्यायाधीशनै तिनका झोले कार्यकर्ता हुन् ।
हिजो म केही नभएको सुकुम्बासी सर्बहारा हुँ भनेर सार्बजनिक स्वघोषणा गरेको , आँफूलाई आम भूईं मान्छेको मसिहा हुँ भन्नेको राजधानी र देशका ठूला शहरमा करोडौंका महल , करोडौंका गाडी घोडा अनि थुप्रै उद्योग , वित्तिय संस्था , हाइड्रो अनि होटलहरुमा शेयर लगानी कसरी भयो ? जबकी उस्ले जीवनमा देखिनेगरि कुनै उद्यम गरेकै छैन ।
एउटा तपस्वी बमजनको दुई चार करोड श्रद्धालुहरुले दिएको दान अबैध भयो भन्नेहरु नेपाली जनतालाई नक्कली शरणार्थी बनाएर बेचेकाहरुको सम्पति जाँच त ? प्रथम चरणमा ०४६ सालपछि प्रधानमन्त्री , मन्त्री , उच्च राजनैतिक नियुक्ति , भन्सार राजश्वका प्रखुखहरुको सम्पति छानबिन गरे देशलाई चाहिने सम्पूर्ण विकास बजेटको निमित्त विदेशीसंग पसारिनु नै पर्दैन नि !
नागरिक सचेतना आजको मूल आवश्यकता
हामीले स्कुलले शिक्षा लिने बेला नागरिकका बिषयमा पढाइ हुन्थ्यो । देशका नागरिकहरुको अधिकारका साथमा कर्तव्यको पनि ज्ञान दिइन्थ्यो । समाज र राष्ट्र निर्माणमा नागरिकको अहंम भूमिकालाई हामी पूरा गरेका छौं ?
देशमा भ्रष्टाचार भयो कुशासनले जरा गाड्यो अनि राज्यका स्रोत साधनमा केही नेता तिनको दलिय लुटतन्त्र र सिण्डिकेटधारीहरुको हदैसम्मको लुट स्थापना भएको जान्दा जान्दै हामी नागरिकहरुले कुनै संगठित भूमिका पूरा गर्न किन सकेनौं भन्ने आजको मूल प्रश्न हो । अझै पनि आम नागरिकहरु आफ्नो नागरिक कर्तव्यलाई ख्याल नगरेर चुपचाप बस्यौं भने भोलि अझै अँध्यारो हुन सक्छ ।
एउटा हिरोको खोजी समाधान होइन
काल्पनिक कथा र सिनेमाहरुमा एउटा हिरो उत्पन्न गरिन्छ । हिरो एक्लैले साराका सारा भिलेनहरुलाई सखाप पार्छ । एकै रातमा ठूला ठूला भौतिक संरचना बनाएर देखाउँछ । उसको जयजयकार गरिन्छ अनि समाज खुसी सुखी र आवाद देखाइन्छ ।
पटक पटकका व्यवस्था र संविधान परिवर्तनबाट पनि मुलुक हिजो भन्दा आज झनै तल तल खस्किरहँदा आज आम नेपाली समाज एउटा हिरो खोजिरहेको छ । त्यो सर्बथा उचित समाधान होइन ।
उदाररणको निमित्त आजको युक्रेनलाई लिन सकिन्छ । युद्धबाट झण्डै सखाप भैसकेको देश युक्रेनका राष्ट्रपति भ्यादिमिर जेलेन्स्की एउटा टेलिभिजन कर्यक्रमका हिरो थिए । त्यो देशका जनताले उनको कलाकारिताको लोकप्रियतालाई जनअनुमोदन गरेर राष्ट्र नै सुम्पिए । उनी कलाकारितामा सफल भएपनि राजनीतिमा सफल हुन सकेनन् ।
उनले देशलाई शक्तिसम्पन्न राष्ट्र रुससँग देशलाई युद्धमा धकेले र आज युक्रेनको अवस्था के छ वर्णन गरिरहनु परेन । नेपालमा पनि हिरो जन्माउने कोसिस भैरहेको छ । तर हिरोहरु विद्यमान व्यवस्थाको सञ्चालन गलत छ भन्ने कुरा प्रमाणित गरे पनि सफल छैनन् । उदाहरणको निमित्त रवि लामिछाने हरेकदिन विवादमा छन् ।
उनको जीवन शैली , उनले संगत गरेका पात्रहरु हाम्रो समाजले पचाइरहेको छ र ? देश विधि र पद्धतिले चल्नुपर्छ । आजको युगमा व्यक्ति भन्दा विधि पद्धति अनि निष्ठा र नैतिकताको आधारमा चल्नुपर्छ । त्यसैले व्यक्तिको नायकीकरण सिनेमा खेल या कला संस्कतिमा हुन्छ राजनीतिमा हुदैन । नेपाली समाजले यो कुरा बेलैमा बुझेको राम्रो ।
हिंजो हामी राजाको पालामा रैती थियौं । व्यवस्था परिवतर्न हुँदै जाँदा जनता या नागरिक भनेपनि हामी नागरिक कहिल्यै भएनौं । बरु दलिय सिण्डिकेटको कारण दलका अन्धभक्त या झोले भयौं ।
हामीले आसा र भरोसा गरेका नेताहरुले हामीलाई सत्तामा उक्लने भर्याङको रुपमा उपयोग गरे । कुन दलले कति गरे त्यसको हिसाब हुँदै गर्ला तर शासन चलाउने तरिका , विधि र पद्धति सबैको एउटै रहेन र ? ओली , नेपाल , देउवा या पुष्पकमल सबैले मिलेर या झगडा गरेजस्तो गरेर आाम नेपालीको शोषण दमन र अत्याचार थप्ने बाहेक के पो गरे र ?
अन्तमा –
हामी निरपेक्ष विरोध या समर्थन कसैको नगरौं । एउटा सानो उदाहरण आफ्नो कर्म गर्दा गर्दै देशको कुनैपनि नागरिक बिमारी भएर ढल्यो । सबैभन्दा पहिला उस्को उपचार गर्नुपर्यो । उसको उपचारपछि सञ्चो भएर उसैले उपचार सक्ने रहेछ भने तिरिहाल्छ यदि नसक्ने रहेछ भने त्यहाँ राज्यको उपस्थिति होस् ।
संक्षेपमा यही नै हो नागरिक पहिलो अभियान भनेको । एउटा निमुखा गरीबको छोरा पढाईमा अब्बल छ उसको क्षमताले डाक्टर इन्जिनियर, संगीत, साहित्य वा कानुन पढ्न भ्याउँछ ।
उसलाई घरको आर्थिक अवस्थाले वाधा अर्थात सार रुपमा राज्य देशको नागरिकमैत्री बन्ने व्यवस्था नै आजको युगमा उचित व्यवस्था हो । मित्रहरु जीवन मरेर जाने नै त हो त्यसैले बाँकी जीवनलाई कम्तिमा स्वतन्त्र र स्वाभिमान नागरिक बन्ने तर्फ समर्पित गरौं ।