काठमाडौं । नेपालको बिजुली बंगलादेश निर्यात गर्न आज बिहीबार एक ऐतिहासिक सम्झौता भएको छ । यो सम्झौता त्रिदेशीय (नेपाल, बंगलादेश र इण्डिया) बीचमा भएको हो ।
काठमाडौंमा आयोजित भव्य कार्यक्रमबीच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, इण्डियाको एनटीपीसी विद्युत् व्यापार निगमकी सीईओ डेइनो नारान र बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहम्मद रिज्वान करिम प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा ऊर्जा मन्त्री दीपक खड्का र बंगलादेशी ऊर्जा मन्त्रालयकी सल्लाहकार सहिद रिजवाना हसनको उपस्थिति थियो ।
सम्झौतापछि एक जलविज्ञले राष्ट्रिय समाचारसंग भने,‘यो सम्झौता हुनुमा कुलमान घिसिङको मुख्य भुमिका छ । हरेक सरकार परिवर्तन हुँदा पनि घिसिङले नेपालको तर्फबाट बलियो विश्वासीलो वातावरण तयार गरिदिए र आज यो सम्झौता हुन सफल भयो ।’
सम्झौता अनुसार प्रारम्भिक चरणमा बङ्गलादेशले ४० मेगावाट बिजुली आपूर्ति गर्नेछ । यसको आपूर्ति प्रणाली व्यवस्थापनमा इण्डिया पक्षले आवश्यक सहयोग गर्नेछ । आयात प्रत्येक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म कायम रहनेछ । बंगलादेशले नेपालसँग प्रतियुनिट ६.४ सेन्टमा उक्त विद्युत् खरिद गर्नेछ ।
यो सम्झौताबाट नेपालले वार्षिक ९.२ मिलियन अमेरिकी डलर बराबरको वार्षिक आम्दानी गर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
गत जुलाईमा त्रिपक्षीय सम्झौता हुने गरी दिन नै तय भए पनि बंगलादेशमा राजनीतिक प्रदर्शनहरु भएपछि त्यो सरेको थियो ।
दक्षिण एसियाको ऊर्जा सहकार्यमा कोसेढुंगा भएको कुलमान घिसिङले बताए । ‘यो हाम्रो साझा भिजनको परिणति हो । यसले सबरिजनल र रिजनल सहकार्यको ढोका खोल्ने छ,’ उनले भने ।
नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा प्रतियुनिट (६.४० अमेरिकी सेन्ट) का दरले बंगलादेशको बीपीडीबीलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।
बंगलादेश विद्युत् निर्यात गर्दा इण्डियाको एनभीभीएनको प्रसारण लाइन प्रयोग गरेबापतको ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्नेछ ।
नेपालले इण्डियाको मुजफ्फरपुरमा विद्युतको मिटर राखिनेछ, बंगलादेशमा कति विद्युत् निर्यात भयो भन्ने रेकर्ड त्यही मिटरमा हुनेछ । त्यहाँसम्मको प्राविधिक नोक्सानी भने प्राधिकरणले नै बेहोर्नेछ ।
मुजफ्फरपुरबाट बंगलादेशको सीमाको प्राविधिक नोक्सानी पनि बंगलादेशी पक्षले नै तिर्ने सम्झौतामा उल्लेख छ । यसअनुसार नेपालले ६.४ सेन्टमा बिक्रीको विद्युतको मूल्य बंगलादेश पुग्दा प्रतियुनिट करिब ७.६ सेन्ट पुग्ने अनुमान गरिएको छ ।
इण्डियाबाट भने बेहरमपुर (इण्डिया–भेडामारा (बंगलादेश) ४ सय केभी प्रसारण लाइन हुँदै बंगलादेशले विद्युत् आपूर्ति लिनेछ । हाल इण्डियाको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बाट बंगलादेशले सोही प्रसारण लाइन हुँदै विद्युत् आयात गरिरहेको छ ।
५ वर्षसम्म विद्युत निर्यातका लागि यो सम्झौता भएको हो । यो सम्झौता अनुरुप हरेक वर्ष १४ करोड ४० लाख युनिट विद्युत् बंगलादेश निर्यात हुने जानकारी घिसिङले दिए । हरेक वर्ष करिब १ खर्ब २१ करोड रुपैयाँ (९० लाख २० हजार अमेरिकी डलर) को विद्युत् बंगलादेश निर्यात हुने जानकारी पनि घिसिङले दिए ।
इण्डियाको आवश्यक अनुमति पाएपछि निर्यात सुरु हुने उनले बताए । नेपाल तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने पहिलो मुलुक हुने जानकारी पनि उनले दिए ।
१० हजार मेगावाट इण्डियालाई र ५ हजार मेगावाट बंगलादेशलाई विद्युत् निर्यात गर्ने लक्ष्य रहेको उनले बताए ।
प्राधिकरणले इण्डिया अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै इण्डियामा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् ।
प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको १५ जुन–१५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ ।
यसअघि बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने निर्णय गरेको थियो । गत वर्षको २० मंसिरमा बंगलादेशका तत्कालीन अर्थमन्त्री मुस्तफा कमलको नेतृत्वको मन्त्रिपरिषद्को आर्थिक मामिला समितिले ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेश पावर डेभलपमेन्ट बोर्डको प्रस्ताव स्वीकृत गरेको थियो ।
प्राधिकरण र बीपीडीबीबीच विद्युतको दरमा गत फागुनको अन्तिममा सहमति भएको थियो । गत १३ साउनमा काठमाडौंमा त्रिपक्षीय सम्झौताको तयारी भएको थियो । तर, बंगलादेशमा चर्किएको आन्दोलनका कारण त्यो रोकिएको थियो ।
त्यसबीचमा बंगलादेशमा राजनीतिक परिवर्तन भई प्रा. मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेपछि नेपालले पुनः सम्झौताका लागि पहल थालेको थियो । बंगलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीले अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रा. युनुसलाई भेटी ऊर्जा सहकार्यका विषयमा कुरा गरेका थिए । त्यसबेला प्रा. युनुसले यसलाई अघि बढाउन बंगलादेश तयार रहेको बताएका थिए । त्यसपछि सम्झौताको नयाँ मिति तय भएको हो ।
नेपाल र बंगलादेशबीच विद्युत् खरिद बिक्रीका लागि करिब एक दशकदेखि प्रयास भइरहेको थियो । बंगलादेशले सन् २०१६ मै बनाएको ऊर्जा प्रणाली गुरुयोजनामा नेपालबाट विद्युत् आयात गर्ने उल्लेख थियो ।
यो गुरुयोजनामा नेपाल र इण्डियाको उत्तरपश्चिमबाट ८ हजार ५ सय मेगावाटसम्म विद्युत् आयात गर्न सकिने उल्लेख थियो ।
तर, नेपालबाट विद्युत् निर्यात गर्न इण्डियाको प्रसारणलाइन प्रयोग गर्नुपर्छ । त्यसका लागि बहुउद्देश्यीय सम्झौता हुनुपर्ने पनि उल्लेख थियो ।
त्यसपछि २०१८ मा दुई देशबीच ऊर्जासम्बन्धी सहकार्य अघि बढाउन संयुक्त समिति बनेका थिए । २०१९ मा जीएमआरद्वारा माथिल्लो कर्णालीबाट उत्पादन गर्ने विद्युत् खरिद गर्न बंगलादेशले सैद्धान्तिक स्वीकृति दिएको थियो ।
उसले नेपालबाट ५ सय मेगावाट विद्युत् निर्यात गर्ने गरी बंगलादेशसँग सम्झौता गरेको छ । तर, यो परियोजना निर्माण नै सुरु नभएकाले त्यस मुद्दामा दुई देशमा सरकारी अधिकारीले अहिले छलफल नै गरेका छैनन् ।
गत वर्ष बंगलादेशमा भएको दुई देशबीचको ऊर्जासम्बन्धी संयुक्त स्टेयरिङ कमिटी बैठकमा ४० मेगावाट विद्युत् आयात निर्यात गर्ने सम्बन्धी सहमति भएको थियो । बंगलादेशले नेपालको विद्युत् परियोजनामा आफैं लगानी गर्न पनि रुचि देखाएको छ ।
दुई देशका सचिवस्तरीय स्टेयरिङ कमिटी बैठकमा नेपालको सुनकोसी–३ परियोजना दुई देशको संयुक्त लगानीमा बनाउने सहमति भएको थियो । रामेछाप र काभ्रे सिमानामा पर्ने आयोजना ६ सय ८३ मेगावाटको जलाशययुक्त हो ।
बंगलादेश पावर डेभलपमेन्ट बोर्डले सन् २०२६ भित्र नेपालबाट ५ सय मेगावाट विद्युत् आयात गर्ने योजना बनाएको छ ।
नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र इण्डियन प्रधानमन्त्री नरेन्द्र मोदीले ऊर्जा क्षेत्रको भिजन पेपरमा हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले यो सम्झौता दक्षिण एसियाली विद्युत् सहकार्यमा कोशेढुंगा भएको बताइन् ।
‘बंगलादेश जनतालाई स्वच्छ र सुरक्षित ऊर्जा उपलब्ध गराउन प्रतिबद्ध छ । त्यसका लागि यो महत्त्वपूर्ण कदम हो,’ उनले भनिन् ।
इण्डिया, नेपाल र बंगलादेशको पारस्परिक लाभका लागि यो महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । आगामी दिनमा यो सहकार्य अझै बढ्ने उनले बताइन् ।
गत मार्च २०२१ मा नेपालका राष्ट्रपतिको भ्रमणको क्रममा, बंगलादेशका प्रधानमन्त्रीले बंगलादेश–भुटान–इण्डिया–नेपाल (बीबीआईएन) कनेक्टिभिटी अन्तर्गत नेपालमा जलविद्युत् आयोजना निर्माण गर्न बंगलादेश, इण्डिया र नेपालबीच त्रिपक्षीय सम्झौतामा जोड दिएका थिए ।
जुन २०२१ मा, बंगलादेशको विद्युत्, ऊर्जा र खनिज स्रोत मन्त्रालय राज्यमन्त्रीले बंगलादेशले नेपालबाट सात सय मेगावाट जलविद्युत आयात गर्ने योजना बनाएको सार्वजनिक गरेका थिए ।