केही दिनअघि इजरायलले लेबनानको हिजबुल्लाहका सदस्यहरूले प्रयोग गर्ने सयौँ पेजर विस्फोट गरायो । विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भयो । मारिनेमध्ये दुई बालबालिका पनि थिए । विस्फोटमा हजारौँ घाइते भएका कारण लेबनानी अस्पतालमा उपचार गर्नेको भिड बढेको थियो ।
त्यसको अर्को दिन देशभर वाकीटकीहरू विस्फोट गरिए, २० जनाको ज्यान गयो । त्यसको ठिक दुई दिनपछि लेबनानको राजधानी बेरुतको घना जनसंख्या भएको क्षेत्रमा भएको हवाई हमलामा सयौँ मानिस मारिए । गत सोमबार इजरायली सेनाले लेबनानका विभिन्न क्षेत्रमा स्पष्ट रूपमा भीषण बमबारी सुरु गर्यो। हमलामा ५० बालबालिकासहित कम्तीमा ५५८ जनाको मृत्यु भयो । हेजबुल्लाह समूहले पनि इजरायलका विभिन्न आधारमा मिसाइल हमला ग¥यो । बमबारीमा मारिने हेजबुल्लाहको यकिन तथ्यांक अझै सार्वजनिक हुन सकेको छैन । बमबारी अझै रोकिएको छैन । मंगलबारदेखि त इजरायलले लेबनानमा स्थल आक्रमणको तयारी गरेको छ । २५ लेबनानी गाउँका बासिन्दालाई त्यहाँबाट सुरक्षित क्षेत्रतर्फ जान इजरायली पक्षले दबाब दिइसकेको छ ।
बमबारीअघि इजरायलले लेबनानी फोनहरूमा सुरक्षित रहन चेतावनीयुक्त सन्देश पठाउने गरेको छ । सन् २००६ मा इजरायलको ३४ दिनको युद्धको क्रममा दक्षिणी लेबनानी गाउँ मारवाहिनका २३ बासिन्दालाई इजरायली सेनाको हेलिकोप्टरले नजिकको दूरीबाट हत्या गरे किनभने उनीहरूले आफ्नो घर छोड्न इजरायलको तर्फबाट जारी गरिएको निर्देशन पालना गरेनन् । मृत्यु हुनेमा अधिकांश बालबालिका थिए ।
इजरायल राज्यको अस्तित्व सामूहिक हत्यासँग जोडिने गरेको छ । हुन पनि गाजापट्टीमा जारी नरसंहारमा आधिकारिक रूपमा एक वर्षभन्दा कम अवधिमा ४१ हजार प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । तर, वास्तविक मृत्युको संख्या निःसन्देह धेरै गुणा बढी छ । र, अझै पनि लेबनानी इलेक्ट्रोनिक उपकरण विस्फोट र बढ्दो मनोवैज्ञानिक युद्धको विनाशकारी प्रयासले इजरायललाई अर्वेलियन (सर्वसत्तावादी राज्य)तर्फ उन्मुख गरिरहेको छ ।
अक्सफोर्ड अंग्रेजी शब्दकोशले अर्वेलियन शब्दलाई बेलायती लेखक जर्ज अर्वेलको ‘लेखनको विशेषता वा सुझाव’को रूपमा परिभाषित गर्छ । उनको पुस्तक ‘नाइन्टिन एटिफोर’मा सर्वसत्तावादी राज्यको निराशाजनक चित्रण गरिएको छ ।
उक्त पुस्तक सन् १९४९ मा प्रकाशित भएको थियो (प्यालेस्टिनी भूमिमा इजरायलको रक्तपातपूर्ण आक्रमणको एक वर्षपछि) र लेखनको वर्षदेखि सन् १९८४ आउन ३५ वर्ष नै बाँकी थियो । तर त्यति खेरै इजरायलले सन् १९८४ मा व्याख्या भएको डिस्टोपिया (एउटा काल्पनिक राज्य वा समाज, जहाँ ठुलो पीडा वा अन्याय हुन्छ) लेबनानमा विस्तार गरिसकेको थियो ।
सन् १९८२ मा लेबनानमा भएको इजरायली आक्रमणमा हजारौँ लेबनानी र प्यालेस्टिनीको हत्या भएको थियो । अनि के तपाईंलाई थाहा ? यो धेरै नै सर्वनाशपूर्ण आक्रमण थियो, जसले हिजबुल्लाहको गठनको विउ रोप्यो ।
अर्वेलको नाइन्टिन एटिफोर ‘ठुल्दाइले तपाईंलाई हेर्दै छ’ भन्ने वाक्यांशको स्रोत पनि हो, जुन निगरानीपूर्ण व्यवस्था र इजरायलमा लामो समयदेखि लागू भएको एउटा टिप्पणी हो (विशेषगरी विश्वव्यापी स्पाइवेयर उद्योगको अग्रगामी राज्यको सन्दर्भमा) । इजरायलको दमनको शस्त्रागारको अन्य घटकजस्तै इजरायली ह्याकिङ प्रविधिको सहज बजारीकरणलाई यस तथ्यले बलियो बनाएको छ कि त्यस्ता सबै विशेषज्ञता प्यालेस्टिनीहरूमा परीक्षण गरिएको छ ।
जेरुसेलम त्रैमासिकको ‘स्ट्रेटिजिज अफ सर्भिलेन्स ः द इजरायली गाजा’ शीर्षकको एउटा आलेखमा दिवंगत प्यालेस्टिनी समाजशास्त्री एलिया जुरिकले प्यालेस्टाइनीमाथि इजरायली निगरानी इजरायलको स्थापना हुनुअघि नै गरिएको उल्लेख गरेकी छिन । त्यतिवेला प्यालेस्टिनी गाउँहरूको विस्थापनलाई सहज बनाउन तथ्यांक संकलन गरिएको थियो ।
आजकल वेस्ट बैंकमा इजरायलको कठोर चेकपोइन्टहरू ‘बिग ब्रदर’को धेरै अनुहारमध्ये एक हो । गाजामा इजरायलको थप ‘बिग ब्रदर’का रूपले निगरानी कार्यक्रमले नरसंहारलाई बढावा दिने गरेको छ
। ‘बिग ब्रदर’ले तपाईंको व्यक्तिगत इलेक्ट्रोनिक उपकरण विस्फोट गराउन सक्षम हुँदा के हुन्छ भन्ने हामीले भर्खरै लेबनानमा देख्छौँ । यो निन्दनीय अपराधलाई केही पश्चिमी मिडियाले ‘परिष्कृत’ आक्रमणको रूपमा स्वागत गरे ।
अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार ‘सबै परिस्थितिमा अनावश्यक चोटपटक वा अनावश्यक पीडा निम्त्याउन डिजाइन गरिएका वा प्रकृतिको कुनै पनि खानी वा अन्य उपकरण प्रयोग गर्न निषेध गरिएको छ ।’
कानुनअनुसार, ‘अन्य उपकरण’ भन्नाले विधिवत् रूपमा राखिएका हतियार र यन्त्र पर्छन्, जसलाई अन्य कोहीलाई मार्न, चोट वा क्षति पु¥याउन डिजाइन गरिएको हुन्छ । यस्ता हतियारलाई विधिवत् तरिकाले रिमोट कन्ट्रोल वा समय बितिसकेपछि स्वचालित रूपमा विस्फोट गरिन्छ ।
अन्तर्राष्ट्रिय कानुनले जानाजानी नागरिकलाई लक्षित गर्न निषेध गर्छ । तर, ती कानुनले इजरायललाई नागरिकहरूमाथि जानीजानी हमला गर्नबाट कहिल्यै रोकेको छैन । लेबनानमा २००६ को युद्धमा इजरायली सेनाले ठुलो संख्यामा अर्थात् लगभग १२ सय मानिसको हत्या गर्यो। त्यस्तै, द्वन्द्वका अन्तिम दिनमा इजरायलले लेबनानमा लाखौँ ‘क्लस्टर’ बम प्रहार गर्यो, जसमध्ये केही त्यतिबेला विस्फोट हुन सकेनन् ।
जथाभावी प्रहार गरिएका ती बमले वर्षौंपछि पनि मानिसलाई हताहत बनाइरहेको छ । विस्फोटक पेजरहरूको मामलामा जस्तै विस्फोट नभएका क्लस्टर बमहरू भौतिक हतियार मात्र नभई मनोवैज्ञानिक हतियार पनि हुन्, जुन नागरिकलाई आतंकित राख्न डिजाइन गरिएको हो । इजरायलले अब गाजा र लेबनान दुवैमा घातक निगरानी र अनियन्त्रित मनोविज्ञानलाई सामान्यीकरण बनाउने काम गरिरहेको छ ।
गत मंगलबारको ‘परिष्कृत’ आक्रमणका प्रशंसकहरूले ‘डिस्टोपिया’ जुनसुकै समय तिनकै आगनमा आइपर्नसक्ने जोखिमलाई दिमागमा राख्नु राम्रो हुन्छ ।
आखिर, संयुक्त राज्य अमेरिका र मेक्सिकोबीचको सिमानामा निर्माण भएको निगरानी पूर्वाधार आकार दिन इजरायलको भूमिका ख्याल गर्दा उसको प्रभाव विश्वव्यापी विस्तार भएको भन्न सकिन्छ । र, अमेरिकी समर्थित नरसंहारको पृष्ठभूमिमा वाकीटकीहरू उडाउँदा कसले पो सीमा रेखा कोर्छ र ?
(बेलेन फर्नान्डेज एक चर्चित लेखिका हुन् । उनी ज्याकोबिन म्यागजिनको आगन्तुक सम्पादक हुन् । उनको यो लेख अलजजिराको अनलाइन च्यानलबाट साभार गरिएको हो ।