काठमाडौं । भुटानी राजपरिवारले ज्ञानेन्द्र शाह र उनको परिवारलाई राजाकै रुपमा स्वागत र सत्कार गरेको छ । सत्कार समारोहमा परिचय गराउँदा पनि पुर्व राजा उल्लेख छैन । भुटानी राजपरिवारका सदस्यहरुबीचमा ‘किंग अफ नेपाल’ भनेरै विमानस्थलबाट ज्ञानेन्द्र शाहको परिचय गराइएको थियो ।
यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा छन् । यही बिहीबारदेखि भुटानमा रहेका ज्ञानेन्द्र शाह त्यहाँको राजपरिवारसंग विभिन्न कार्यक्रममा सरिक छन् ।
पारो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा ज्ञानेन्द्र शाहलाई भुटानी राजपरिवारले शीर झुकाएर स्वागत र सम्मान गरेको थियो । स्वागत गर्न भुटानी राजकुमारी सहितको परिवार विमानस्थल आएको थियो ।
ज्ञानेन्द्र शाह साथै उनकी छोरी प्रेरणा, परिवारका अन्य शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना पनि भुटान गएका हुन् ।
शाहको भुटान भ्रमण निजी रहेको बताइएको भएपनि केही अर्थपूर्ण रहेको विश्लेषकहरु बताउँछन् ।
भुटानमा ज्ञानेन्द्र शाहले राजाकै रुपमा आतिथ्यता पाएका छन् । गएकै दिनदेखि भुटानी राजपरिवारका सदस्यहरुसँग पूर्वराजाको भेटवार्ता चलिरहेकोे छ ।
तर, स्रोतका अनुसार ज्ञानेन्द्र शाहलाई वातावरण संरक्षण क्षेत्रका शिखर व्यक्तित्वको हैसियतमा भुटान आमन्त्रण गरिएको भन्ने समाचारहरु पनि बाहिर आएका छन् । ज्ञानेन्द्र शाह जतिबेला अधिराजकुमार थिए त्यतिबेला श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषका अध्यक्ष भएका कारण सोही आतिथ्यता मिलेको हुन सक्ने अड्कलबाजी कतिपयको छ ।
भुटान सरकारले हालै ‘भुटान नवप्रवर्तन वृहत् अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गरेको छ । यो सम्मेलनमा ज्ञानेन्द्र शाहलाई निमन्त्रणा भएका विवरण पनि बाहिर आएका छन् ।
ज्ञानेन्द्र शाहलाई भुटानी राजकुमारी पेमा ल्हादेन वाङ्चुकले विमानस्थलमै गरेको स्वागत राजाकै हैसियत बराबर भएको राजसंस्थाका जानकारहरु बताउँछन् । ज्ञानेन्द्र शाहलाई स्वागतमा बिमानस्थलसम्म रेड कार्पेट ओछ्याइएको थियो ।
त्यसपछि विमानस्थलबाट राजकीय अतिथिगृह पुर्याइयो, जहाँ शाही धर्मगुरूहरुले अभिषेक प्रदान गरेका थिए । ज्ञानेन्द्र शाहले भुटानका बडामहाराज (हालका राजाका पिता) जिग्मे सिग्मे वाङचुकसँग भेटवार्तां गरे । डेचेन छोलिङ राजाप्रसादमा भएको भेटमा पारिवारिक इतिहासका कुराकानी भएका थिए ।
किनकी क्याम्पस जीवनकालमा ज्ञानेन्द्र शाह र जिग्मे सिग्मे वाङ्चुक दार्जिलिङको सेन्ट जोसेफ कलेजमा संगै पढ्थे ।
‘नेपालमा पो व्यवस्था फेरियो, तर, भुटानी राजपरिवारलाई नेपालको शाह परिवार अहिले नै राजा नै लाग्छ, एकजना राजसंस्था पक्षधर नेता भन्छन्,’‘यो भ्रमणले दक्षिण एसियामा राजतन्त्र र राजाको महत्व दर्शाएको छ ।’ ज्ञानेन्द्र शाह परिवारका सदस्य सहित भोलि (आइतबार) नेपाल फर्कनेछन् ।
(तस्बिरहरु, स्रोत–भ्रमण दलका सदस्यहरुका फेसबुक पेज)