सन् २०१२ मा २२ वर्षीया एक महिलालाई नयाँदिल्लीमा ६ जना पुरुषले बसमा गरेको बलात्कारको डरलाग्दो विवरण विश्वभरका मानिसले पढेका थिए । बलात्कृत भएको दुई साता नबित्दै अस्पतालमा उनको मृत्यु भयो ।
सामान्यतया निर्भया प्रकरणका नामले चिनिने यो घटना इण्डियाका लागि एक पानीढलो बन्न पुग्यो र महिलाविरुद्धका हिंसाबारे राष्ट्रियस्तरमा बहस सुरु भयो । न्यायका लागि जनतामाझ राजधानीमा व्यापक विरोध प्रदर्शन भड्कियो र प्रदर्शन इण्डियाव्यापी बन्न पुग्यो ।
नतिजा महिलाविरुद्ध हुने हिंसाको बृहत् परिभाषालाई मान्यता दिन कानुनलाई परिमार्जन गरियो, प्रहरी सक्रियता बढाइयो र महिला हिंसाका दोषीलाई मृत्युदण्डसम्मका कडा सजायको व्यवस्था गरियो ।
हरेक बलात्कारको मामिलाले पत्रिकाको पहिलो पृष्ठमा स्थान पाउँदैनन् । इण्डियाको राष्ट्रिय अपराध रेकर्ड ब्युरोको तथ्यांकअनुसार सन् २०२२ मा हरेक दिन औसतमा झन्डै ९० बलात्कारका घटनाको उजुरी गरिएका थिए । र, वास्तविक संख्या थप बढी हुने सम्भावना देखिन्छ । र, हालै इण्डियामा ३१ वर्षीया महिला प्रशिक्षार्थी चिकित्सकको बलात्कार र हत्याको घटनाले अन्तर्राष्ट्रियस्तरमा ध्यानाकर्षण गरेको छ ।
उनको शव उनी कार्यरत कोलकाताको एक प्रतिष्ठित शिक्षण अस्पतालको सेमिनार हलमा भेटिएको थियो । समाचार आएको केही घण्टामै मानिसले पीडितप्रति ऐक्यबद्धता जनाउँदै पश्चिम बंगाल राज्यभर सडकमा जुलुस निकाले । र, इण्डियाभरका चिकित्सकले राष्ट्रव्यापी हडताल गरे । अस्पताल र क्लिनिकले गैरआकस्मिक बिरामीलाई उपचारविनै फर्काए ।
गार्डियनसँगको एक अन्तर्वार्तामा ती बलात्कृत चिकित्सकका बुबाले भनेका थिए– ‘हामी गरिब परिवारका हौँ र हामीले उसलाई धेरै कठिनाइसाथ हुर्काएका थियौँ । उसले डाक्टर बन्न निकै मिहिनेत गरेकी थिई ।
उसले पढाइबाहेक केहीमा ध्यान दिएकी थिइन् ।’ जब प्रत्येकपटक यस्तो घटना बाहिर आउँछ, ठ्याक्कै यही भावनाले मानिसलाई सडकमा ल्याइदिन्छ । हामीले एक महिलाको मात्र नभई देशको भविष्यको प्रतिनिधित्व गर्ने महत्वाकांक्षी एवं आधुनिक भारतीय महिलाको मृत्यु व्यहोरेका छौँ ।
निर्भया बलात्कारपछि हत्याका समयमा मैले इण्डियामा दोषी ठहरिएका बलात्कारीको दृष्टिकोण बुझ्न भएका अध्ययनमध्ये एक अनुसन्धान गरेकी थिएँ । मेरो अध्ययनको उद्देश्य सरल थियो । मलाई इण्डियामा महिला विरुद्धको हिंसालाई समर्थन गर्ने र कायम राख्ने अन्तर्निहित सामाजिक संयन्त्रबारे बुझ्नु थियो ।
अध्ययनले दिल्लीको तिहाड जेलमा दोषी ठहरिएका बलात्कारी र गैरयौन अपराधीमाझ महिलाप्रतिको दृष्टिकोणको अन्वेषण गर्नु थियो । यी उत्तरदाताको कुरा सुनेको केही घण्टापछि मैले यी मानिसले इण्डियन समाजको मानसिकतालाई झल्काउने मनोवृत्ति व्यक्त गरेको महसुस गरेकी थिएँ ।
बलात्कारका दोषी पुरुषले पीडितलाई नै दोषी देखाउने, आफूमा महिलालाई जे पनि गर्न सक्छु भन्ने हकदाबीको भावना र सहमतिको बुझाइका कमीलगायत मनोवृत्ति व्यक्त गरेका थिए । यी ती कारक हुन्, जुन विभिन्न अनुसन्धानले विश्वभर महिलाविरुद्ध हुने आक्रामक व्यवहार र यौनहिंसा निम्त्याएको देखाउँछन् ।
यस्तो मनोवृत्ति व्यक्त गर्नेहरू बलात्कारी मात्रै छैनन् । निर्भया प्रकरणको ६ वर्षपछि सन् २०१९ मा भारतीय अनलाइन द प्रिन्टले युट्युबमा पोस्ट गरेको एउटा क्लिपले दिल्लीको सडकमा महिलाप्रति पुरुषको मनोवृत्ति कैद गरेको थियो । यो मनोवृत्ति जेलमा रहेका बलात्कारीसँग मिल्थ्यो । यदि महिलाले छोटा लुगा लगाउँछन् भने बलात्कार हुन्छ भन्ने धारणा निकै दोहोरिएको थियो ।
बलात्कारको दुश्चक्र रोक्न धेरै गर्नु छ । बलात्कारीले पीडितलाई नै दोषी देखाउने, महिलामाथिको हकदाबीको भावना र सहमतिको बुझाइको कमीलगायत मनोवृत्ति बोक्ने गर्छन्
निर्भया प्रकरणपछि पनि इण्डियामा बलात्कार र हत्याका अन्य धेरै घटना देखिए । र, प्रत्येक घटनामा हामीले हप्तादिन जनविरोध चल्ने र बिस्तारै सेलाउँदै जाने प्रवृत्ति देख्ने गरेका छौँ । विभिन्न अनुसन्धानअनुसार इण्डियाका राज्य प्रायः सार्वजनिक आक्रोशलाई शान्त पार्न प्रतीकात्मक कारबाही गर्छन्, जसमा मृत्युदण्डजस्ता कठोर सजाय पनि पर्छन् । तर, मृत्युदण्डजस्ता सजायले यौनहिंसालाई रोक्न नसकेको विभिन्न अध्ययनले देखाएका छन् ।
यसको कारण केही छ भने बलात्कारीले पीडितलाई हत्या गर्न प्रोत्साहित गर्छ किनभने पीडितको मृत्यु हुँदा अपराधीको पहिचानको सम्भावना घट्छ । यो सन् २०१९ मा देखिएको जब एक २६ वर्षीया पशु चिकित्सकलाई तेलंगाना राज्यको समसाबाद सहरमा चार पुरुषले निर्मम रूपमा सामूहिक बलात्कार गरी हत्या गरे ।
बलात्कार र सम्भोग एकै होइन । वास्तवमा यी दुवै एकै हो भन्ने बुझाइ नै समस्या हो । यसका बाबजुद पनि इण्डियाले लामो समयदेखि यौन शिक्षामा प्रतिगामी दृष्टिकोण अपनाएको छ । यौन शिक्षा सामाजिक प्रगति, गरिबी न्यूनीकरण र लैंगिक समानताका लागि महत्वपूर्ण मानिन्छ ।
एक प्रतिवेदनअनुसार इण्डियामा ८९ प्रतिशत मानिसले सन् २०१९ मा मोबाइल फोनमार्फत पोर्न (यौनजन्य सामग्री) हेरेका थिए र यो आँकडा सन् २०१७ को तुलनामा तीन प्रतिशतले बढी थियो ।
यस सन्दर्भमा लेखक आदित्य गौतमको सन् २०१८ मा प्रकाशित पुस्तक ‘पोर्निस्तान ः हाउ टु सर्भाइभ द पोर्न इपिडेमिक इन इन्डिया’का अनुसार विश्वको पाँचदेखि १० प्रतिशत पोर्न सामग्रीको गुगल खोज इण्डियाका वयस्कले गर्ने गरेको उल्लेख छ ।
इन्टरनेट र स्मार्टफोनको सहज पहुँचलाई सहमति, स्वस्थ र घनिष्ठ यौन सम्बन्धको शिक्षा र जागरुकता बढाउन उपयोग गर्नु आवश्यक छ ।
इण्डियामा सजाय पाएका हिंसात्मक अपराधीसँगको मेरो अनुसन्धानले बलात्कार अर्थात् यौनहिंसाको चरम रूपको उत्प्रेरणा र समर्थन समाजमा महिलाको भूमिकाले अभिव्यक्त गर्ने दृष्टिकोणबाट उत्पन्न हुन्छ भन्ने तथ्यलाई बेवास्ता गरिन्छ । र, इडियन समाजमा महिलामाथि हुने यौनहिंसाको दैनिक खतरा कायमै रहेको छ र त्यसमा थप ध्यान दिन आवश्यक छ ।
(पाण्डे सेफेल्ड हलाम विश्वविद्यालयकी अपराधशास्त्रकी वरिष्ठ लेक्चरर हुन् । पाण्डे त्यस्ती अनुसन्धानकर्ता हुन् जस्ले इण्डियाका विभिन्न जेलमा पुगेर १४२ भन्दा बढी बलत्कारीको अन्तर्वार्ता लिएकी छिन् । हामीले उनको यो लेख ‘द कन्भर्सेसन’बाट साभार गरेका हौैं )