अहिले बजारमा हरेक सामानको भाउ बढेको छ । सबैभन्दा बढी तरकारीको मुल्य आकासिएको छ । खाद्यान्य र तेलहन सामग्रीको मुल्य बजार पिच्छे फरक छ/अनियमित छ ।
बजार मुल्य सडक संजाल भत्किएर वा चाडवाड लागेर बढेको हैन । खाने वस्तुहरुको मुल्य साउन पहिलो सातादेखि नै बढेको थियो । नयाँ सरकार गठन भएदेखि प्रधानमन्त्री, मन्त्री र सम्बन्धित सरकारी निकायका जिम्मेवार व्यक्तिहरुले देखेको नदेखे झैं गरिरहे ।
अहिले बाढीपहिरोले सडक भत्किएर सामाग्री ल्याउन कठिनाई भएको बहानाबाजी हुँदैछ । सामग्री अभाव हुन सक्छ, तर सामानको अभाव देखाएर महंगी बढाउने यो कस्तो प्रणाली हो ? बजारमा बिचौलियाको रजगज छ । कालाबजारीको पकड छ ।
आइतबार सरकारले कालीमाटी तरकारी बजारमा अनुगमनका नाममा झारा टार्ने काम गर्यो । उद्योगमन्त्री दामोदर भण्डारी त्यहाँ पुग्दा अधिकांश थोक व्यापारी भागिसकेका थिए । कता सरकारकै सेटिङमा यो नाटक त चलेको छैन, नागरिकले शंका गरिरहेका छन् ।
असोज लाग्ने वित्तिकै खानेतेलको मुल्य बढाइयो । असोज दोस्रो सातादेखि तरकारी मुल्य चौपट बढ्यो । सरकार बेखबर छ । मानौं, यो देशमा सरकार छैन । विश्वका हरेक देशले विशेष परिस्थितिमा बाहेक खाद्यान्नको भाउ स्थिर राखिरहेका हुन्छन् । यो कुनै विलासी सामग्री सुन होइन, दैनिक घटबढ भइरहने ।
मानिसका लागि हरघडि नभइ नहुने खाद्यवस्तुको मुल्य बढाउन दिने शासक पापी हुन्छन् । सरकारले नागरिकमाथी गरिरहेको पाप तुरुन्त बन्द गरोस ।
यो साता मात्रै १६० प्रतिशत बढीले तरकारीको भाउ बढ्यो । २० देखि ४० प्रतिशतसम्म अन्नजन्य सामग्रीको मुल्य बढेको छ । खानेतेलको मुल्य मनलाग्दी वृद्धि छ ।
हरेक विभाग, मन्त्रालय चुप छन् । प्रहरीहरु तमासा हेरिरहेका छन् । गृह मन्त्रालय र यस माताहतका अड्डाहरु सरुवा बढुवा बाहेक केही गर्दैनन् । बरु विचौलियालाई साथ दिन्छन् ।
सरकारकै एउटा निकायले केही वर्षअघि एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो,नेपालका ४० लाख नागरिकले पेटभरी खाना खान पाउँदैनन् ।’ यो १० वर्ष अबधिमा नेपालीको आर्थिक अवस्थामा खासै अन्तर छैन । बरु अधोगतिमा छ ।
अर्थात अहिले पनि करिब आधा करोड नेपालीले आधा पेट खाएर जीवन घिसारिरहेका छन् । के सरकार यो चाडवाडमा यी नागरिकहरुको पुरै पेट खाली राख्ने पाप गर्दैछ ?
नागरिकलाई भोकै राखेर सिंहदरबार,बालुवाटार र भैंसेपाटीले यो पापको सजाय एक दिन न एक दिन भोग्नैपर्छ ।