काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले रास्वपालाई दवावमा राख्ने रणनीति तयार गरेको छ । यसका लागि दुवै पार्टीका दोस्रो तहका नेताबीचमा आन्तरिक सर्कुलर भइसकेको छ ।
रास्वपा सभापति रवि लामिछाने सहभागी शनिबार र आइतबार चितवनका विभिन्न कार्यक्रम विथोल्न भइरहेका प्रयास सत्तारुढ दुवै दलको भुमिका देखिएको छ । यी दुवै दलले दवावको रणनीति बमोजिम नै रास्वपालाई कार्यक्रम गर्न नदिने तयारी गरेका थिए ।
स्रोतका अनुसार, कांग्रेस एमालेले रास्वपाको गतिबिधिलाई सरकार संचालनको चुनौतीका रुपमा बुझेको छ । ‘यदि रास्वपाका कार्यक्रम बढ्दै गयो भने सत्ताधारी दल जनताबाट झन तिरस्कृत हुने संभावना देखियो,एमाले स्रोतले भन्यो,‘उनिहरुले प्रधानमन्त्रीदेखि मन्त्रीहरुका कार्यक्रम बिथोल्न हुन्छ भने हामीले पनि उनिहरुलाई छेक्न किन नहुने ?’ यही आक्रोषका कारण चितवन लगायतका कार्यक्रममा हाम्रा साथीहरु प्रश्न गर्न गएका होलान् ।’
खासगरि, रास्वपाप्रति एमाले बढी आक्रमक छ । अमेरिका भ्रमणमा आफ्ना अध्यक्ष केपी शर्मा ओलीका सार्वजनिक कार्यक्रम स्थगन हुनुमा त्यहाँ रहेका रास्वपा समर्थकको भुमिका रहेको एमालेको बुझाई छ ।
हुन त, रास्वपाका राजनीति गतिबिधिलाई रोक्न सरकार गठनको सुरुकै बेलादेखि दुबै पार्टीका शिर्ष नेताहरुले संकेत गरेका थिए ।
प्रधानमन्त्री भएको महिना दिनमा प्रधानमन्त्री ओलीले रास्वपालाई लक्षित गरेर भनेका थिए,‘सामाजिक मर्यादा, शिष्टता, इमान, नैतिकतालाई वास्ता नगरी अघि बढ्ने प्रवृति देखा परेका छन्, यस्तो प्रवृतिलाई कसरी रोक्ने भन्ने हामीलाई चिन्ता छ ।’ ओलीले यो भाषण यही साउन ३० गते प्रतिनिधि सभाबाट भनेका थिए ।
‘रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनुपर्छ, कांग्रेस महामन्त्री गगन थापाले साउन २९ गते मंगलबार प्रतिनिधि सभाबाट बोलेको विषय हो यो । (हेर्नुस प्रतिनिधि सभा अभिलेखमा माथी उल्लेखित दुई नेताका भनाई )
सरकार फेरबदल भएपछि दुई ठुला दल एकोहोरो रास्वपालाई दवावमा राख्न आरोपित विषयहरु उछाल्ने असफल जमर्कोमा तल्लिन रहे । यसको पहिलो उदाहरण हो, सहकारी छानविन समितिबाट जारी प्रतिवेदनमा रवि लामिछाने लेनदेन, सदस्य र कारोवार नभएको स्पष्ट हुँदा हुँदै कारवाहीको लागि दवाव दिइरहनु ।
यही आधार देखाएर रास्वपामाथि दुबै दलले बल प्रयोग जारी राखे । साउनको अन्तिममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले शिष्टता नभएकोले रास्वपालाई रोक्नुपर्नेे अभिव्यक्तिले ओलीको अभिमान मात्र झल्किएको राजनीति वृतमा चर्चा चलेको थियो ।
किनकी अहिले जारी सामाजिक संजालमा अर्मादित टिकाटिप्पणीको उदयकार एमालेले तयार गरेको थियो, जतिबेला उसले घोषित रुपमै साइवर सेना बनाइरहेको थियो ।
अहिले दुई दिनदेखि चितवनमा रास्वपाले सार्वजनिक सुनुवाई कार्यक्रम गर्दा सत्तारुढ दलकै कार्यकर्ताबाट बिथोल्ने प्रयास भएको रास्वपाको आरोप छ । सरकारमै भएका दलले सामाजिक मर्यादाको ख्याल नगरेको रास्वपाका नेताहरुले बताइरहेका छन् ।
चितवनमा भएका दुबै कार्यक्रममा भएका भौतिक आक्रमण पुराना ठुला दलको त्यही दवावको रणनीति थियो, जुन योजना नियोजित रुपमा सतहमा प्रकट भयो । किनकी रास्वपा सभापति रवि लामिछाने सहभागी कार्यक्रम बिथोल्दैमा सहकारी पीडितले रकम फिर्ता पाउने होइनन् भन्ने ती दुबै पुराना दललाई राम्रोसंग थाहा छ ।
नयाँ गठबन्धन बनेपछि दुई ठुला दलको पेलाई जति रास्वपाले भोगेको छ, प्रतिपक्षमा भएर पनि माओवादी केन्द्रले व्यहोरेको छैन । कांग्रेस एमालेको शिर्ष नेतृत्वलाई रास्वपाको नयाँ लहर रोक्न सकिएन भने जनअनुमोदन भत्किने बुझाई छ । दुबै दलले चर्चामा आएका विषय(सहकारी लगायत)लाई बदनामको मसला बनाएर रास्वपातिर प्रहार गर्न खोजिरहेका छन् ।
सत्तामै रहेका दलहरुको यस्तो योजनालाई रास्वपाले घृणित राजनीतिको संज्ञा दिएको छ । ‘यो भन्दा घृणित खेल केही हुँदैन, जनताबाट विश्वास गुमाएपछि हामीमाथि प्रहार गर्न खोजे,‘रास्वपा उपसभापति डिपी अर्यालले भने,‘सहकारीको आवरणमा उनिहरु हामीमाथि भौतिक आक्रमणमा उत्रिए ।’ हाम्रो सभापति रवि लामिछानेलाई सिद्ध्याउन पाए रास्वपा स्वत सकिने दुवै दलले बुझेका छन्, यो उनिहरुको शतप्रतिशत गलत सोच हो, उनले भने ।