अहिले राजधानी काठमाडौंको न्युरोड पेटी फराकिलो छ । यो फराकिलो बनाउन मेयर बालेन शाह प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टीसंग अविछिन्न जुध्नु पर्यो ।
नेपालका सडक, बजार, विकास निर्माणमा कुनै पनि शासकले भविस्य हेरेर बनाएनन् । फलस्वरुप हरेक विकास संरचना भत्काउँदै बनाउनुपर्ने अवस्था छ ।
आधुनिक विकास गर्न एउटा मेयर आफ्नै शासकसंग जुध्नुपर्ने विडम्वना हाम्रा सामुन्ने छ । विगतका शासकबाट अल्पकालीन बुद्धिबाट सृजित हाम्रा वस्तीहरुले हामीलाई कति हानी पुर्याएका छन् तमाम संरचना हेर्दा स्पष्ट हुन्छ ।
किन नेपालमा कुनै पनि शासकले नेपाल बनाउनै चाहेनन्, आउनुहोस, चर्चा गरौं ।
‘तिम्रो समाज तिमीले निर्माण गर्ने हो, जुन समाज समय अनुसार परिवर्तनशील छ,’ वेलायतका पुराना समाजवादी नेता क्लेमेन्ट रिचर्ड एटलीको यो भनाईलाई विकसित मुलुकले पछ्याउँदै गए । एक समाजशास्त्री समेत रहेका एटली वेलायतको सन १९४५ देखि १९५१ सम्म प्रधानमन्त्री भएर सेवा गरे ।
उनले समाज सुधारका लागि गरेका प्रयास वेलायतले मात्र उपभोग गरेन, संसारमा जहाँ जहाँ ब्रिटिश उपनिवेश थियो, त्यहाँका मलुकहरुले उन्नत समाज गर्न सफल भए । अहिलेका अमेरिका, अष्ट्रेलिया लगायत मुुलुकका समाज नै एटली जस्ता समाज सुधारकको विचारको प्रयोग थियो ।
ब्रिटिश उपनिवेश भएर पनि उन्नत समाज निर्माण गर्न नसकेको मुलुक इण्डिया मात्र हो । समाजशास्त्री एटलीको आदर्श पछ्याएर जुन मुलुकले अहिले सभ्य समाज निर्माण गरेका छन्, ती देशहरु नै अहिलेका विकसित मुलुकहरु हुन् । हामी विकसित मुुलुकलाई गाली मात्र गर्छौं, तर उही हिजोको जंगली युगको कालखण्डकै शुरुवाती दिनहरुमा गुज्रिएको भेउ पाउँदैनौं ।
पंक्तिकारले विगत डेढ दशकदेखि शहरको सौन्दर्यकरण कसरी गर्ने, वातावरण कसरी शान्त बनाउने र उच्च सभ्यतामा समाजलाई कसरी रुपान्तरण गर्ने विषयमा निरन्तर लेखनका माध्यम मार्फत बाटो देखाउँदै आएको छ ।
फलस्वरुप पछिल्लो पटक काठमाडौंका मेयर बालेन शाहले एउटा आम समाजको चित्र बनाउन गइरहेका छन्, जुन सभ्य मानिस बस्न योग्य हुनेछ । आउनुस, सही समाज र यसका विकृति अन्त्य कसरी गर्न सकिन्छ भन्ने बारेमा पुनः यो आलेखमा चर्चा गरौं ।
ठेलाको कहानी
विश्वमा ठेलामा सामान बेच्ने निकै पुरानो चलन हो । यो चलन सन १८०० देखि इण्डियामा निकै फस्टायो । पछि ब्रिटिशले इण्डियामा शासन गरेपछि कलकत्ताका गल्ली गल्लीमा सामान बोक्ने ठेलाहरु राखिए ।
गोराहरुका दैला दैलामा इण्डियनले ठेलामा सामान राखेर पुर्याउँथे । यो बिस्तारै नेपालमा पनि भित्रियो । अहिले हाम्रो सडक, गल्ली र चोकतिर ठेलामा सामान राखेर विक्री गरिन्छ ।
फ्रान्सको पेरिसमा सडक वा चोकमा जथाभावी सामान विक्री गर्न राखियो भने प्रत्येक पटकको १० डलर भन्दा बढि जरिवाना तिर्नुपर्छ । यस्तो नियम प्राय विकसित मुलुकमा लागु छ ।
कुनै बेला विश्वमै साम्राज्य फैलाएको वेलायतले त ठुला शहरमा जथाभावी फुटपाथ राख्न प्रतिबन्ध लगाएको छ । ठेलामा सामान राखेर चिच्याई चिच्याई विक्री गर्ने प्रचलन नेपालमा भने झन फस्टाउँदै गएको छ । यसका धेरै प्रकारका विकृति छन् । यसले हाम्रो सामाजिक असभ्यता प्रकट गर्छ।
विहानैदेखि राती अबेरसम्म ठेलामा सामान विक्री गर्ने र ठुलो आवाजले कराउने शैली सबैभन्दा ठुलो अराजक र भद्धापन हो । यो अहिलेको दुनियाँमा असभ्यता संस्कार भित्र पर्छ ।
सरकारले यसलाई व्यबस्थित बनाएर साना व्यवसायीका लागि निश्चित स्थान तोकेर व्यापार गर्न अनुमति दिनुपर्छ ।
विकसित मुलुकमा पनि फुटपाथ हुन्छन्, पसल राखिन्छ । तर ती सफा र व्यवस्थित हुन्छन् । जुन सुरुवात मेयर बालेन शाहले गरेका छन् । असरल्ल ठेला प्रयोग गर्नु विकृति मात्र होइन, हाम्रो समाजको फोहोरी चित्र हो ।
हर्नको कोलाहल
सन १८८६ जनवरीदेखि पेट्रोलियम पदार्थबाट चल्ने सवारी सुरु भयो । त्यसपछि संसारभरि गाडीको प्रयोग हुन थाल्यो । धनाढ्य परिवारले किनेर सवारी उपयोग गर्न थाले । त्यतिबेला घरको मुली व्यक्ति तल सडकमा आएर हर्न बजाउँदै परिवारलाई बोलाउँथ्यो । हर्न बजाएर घर भित्रका मानिसलाई बोलाउँदा शान मानिन्थ्यो ।
तर, पछि अत्यधिक सवारीको प्रयोग हुन थालेपछि युरोपेली मुलुकले यसमा प्रतिबन्ध लगाइदिए । कडा नियमका कारण नागरिकमा हर्न नबजाउने बानी पर्यो । फलस्वरुप विकसित देशमा हर्नको आवाज सुनिंदैन ।
नेपालमा भने हर्न निषेधको नियम २०७४ साल बैशाख १ देखि भएको हो । शुरुवाती दिनहरुमा शहरमा हर्नको आवाज कम सुनिन थाल्यो । विस्तारै यो नियम उल्लंघन हुन सुरु भयो । ट्राफिक प्रहरी पनि यो नियम लागु गर्न हैरानीमा पर्यो । त्यसपछि जथाभावी हर्नका आवाज फेरि बज्न थाले । हामी कति असभ्य छौं, यसको गतिलो प्रमाण हो ।
हर्न निषेधका विविध फाइदा छन् । यस तर्फ ध्यान दिन आबस्यक छ । सरकारले हर्न निषेध कार्यक्रम लागु गरेपनि कार्यान्वयन पक्ष निकै फितलो छ । सडकमा हर्नका आवाज बज्न छोडेका छैनन् । जथाभावी हर्न बजाउनेहरुलाई रमिता त हुन सक्छ । तर, यसको असर कति पर्छ भन्ने हेक्का हुन जरुरी छ ।
मानिसको कानले ६० डेसिवलसम्मको आवाज मात्र सुन्न सक्छ । तर उपत्यकाका धेरै स्थानमा ८० देखि २५० डेसिवलसम्म चर्को ध्वनी हुने गरेको तथ्याकले देखाएको छ । विकसित मुलुकमा हजारौं सवारी सडकमा गुडेपनि हर्नको आवाज सुनिंदैन ।
विश्वका धेरै देशहरु मध्ये दक्षिण एसियाली शहरहरुमा मात्र हर्नको आवाज सुनिने एक अनुसन्धानले देखाएको छ । त्यहि प्रभावले नेपालका शहरहरुमा पनि हर्नको आवाज बज्ने गरेको छ ।
इण्डियाका धेरै शहरहरु हर्नका आवाजले खराब अबस्थामा गुज्रिएका छन् । इण्डियाकै सिको गरेर नेपालका सिमावर्ती सडक र त्यसको प्रभाव अन्य शहरमा फैलिएको हो । यस तर्फ सरकारले बेलैमा ध्यान दिन आवस्यक छ ।
हर्न बजाएर सडक चौडा हुने, अगाडी बाटो खाली हुने र दुर्घटना कम हुने होइन । झन हर्नको आवाजले अगाडीको सवारी झुक्किएर दुर्घटना बढ्ने खतरा हुन्छ भने अन्य व्यक्तिलाई यस्ता ध्वनीले स्वास्थ्यमा नराम्रो असर पुर्याइरहेको हुन्छ ।
यस तर्फ नागरिक सचेत हुन जरुरी छ । नागरिकलाई सचेत गराउन राज्यले नियमलाई कडाईका साथ लागु गर्नु अनिवार्य छ । यो सभ्यतासंग जोडिएको अहंम सवाल हो । हाम्रो देश पर्यटकीय गन्तव्य पनि हो ।
पर्यटकहरु शान्त बातावरणमा रमाउँछन् । झन तेस्रो मुलुकका पर्यटकलाई शहरको बातावरण शान्त भएको हेर्न रुचाउँछन् । प्राकृतिक रुपमा रमणीय भएर मात्र पर्यटकको आकर्षण हुने होइन ।
हाम्रा क्रियाकलाप र व्यवहारमा सभ्यता प्रकट भयो भने पर्यटकलाई लोभ्याउने हुन्छ । त्यसैले, शहरमा ‘नो हर्न’ कार्यक्रम अनिवार्य लागु हुन आवस्यक छ । अव अर्को बिषय तर्फ लागौं । जुन बिषयमा पनि राज्यले लगानी गर्नु पर्देन, त्यो हो, व्यवस्थित शहरी बसोबास ।
भद्रगोल घरहरु
अहिले नेपालका सबैजसो शहरहरु भद्रगोल मात्र छैनन्, खराब प्रकारका भौतिक संरचनाले मानिस बस्न नसक्ने अबस्थामा छन् ।
घरको बसोबास क्षेत्र, अस्पताल क्षेत्र, कलकारखाना क्षेत्र, सरकारी कार्यालय क्षेत्र आदि जस्ता संरचनालाई व्यवस्थित बनाउन अनिवार्य छ । यसमा पनि राज्यको लगानी चाहिँदैन । मात्र, उपयोगी कानुन लागु गर्न सक्नुपर्छ ।
घर नजिकै काठका मिल, वर्कसप, स्टिल कारखाना, बिभिन्न उद्योगहरु संचालन गर्न तुरुन्त रोक लगाउनुपर्छ । यस्ता संरचनाहरुलाई स्थानान्तरण गर्न सरकारले छिटो भन्दा छिटो पहल गर्नुपर्छ ।
यस्ता उद्योग तथा व्यवसाय संरचनालाई निश्चित स्थानमा मात्र संचालन गर्न अनुमति दिनुपर्छ । जथाभावी खुलेका कलकारखाना र वर्कसपहरुले आमनागरिकलाई हैरानी पारेको छ ।
यसवाट निस्कने आवाज र गतिविधीले वातावरणलाई खलल पारेको अनुभव नागरिकले गर्दे आएका छन् ।
सरकारले यसलाई तुरुन्त नियन्त्रण गर्न सक्छ । दिर्घकालीन रुपमा ऐन बनाएर भएपनि कारखाना क्षेत्र र बसोबास क्षेत्र छुटयाउन सकिन्छ । यसका लागि प्रत्येक वडाका क्षेत्रहरुमा वर्गिकरण गरेर यो काम सजिलै गर्न सकिन्छ ।
यस्ता निर्णय गर्न बनिसकेका संरचनालाई हेरफेर गर्न वा संरचना भत्काउन पर्देन । अस्थायी र स्थायी सरंचनाका आधारमा वर्गिकरण गरेर वर्कसप र कलकारखानाहरु स्थानान्तरण गर्न सकिन्छ ।
हरेक विकसित मुलुकहरुले शहर निर्माणका यस्ता कामहरु सय बर्ष अघिदेखि गर्दे आएका हुन् । ति देशहरुले नियम, कानुन र प्रणालीलाई सुदुढ रुपमा अघि बढाएर कार्यान्वयन गर्दा आज कति सुन्दर देशमा परिणत भएका छन् ।
नेपालले यस्ता अनुकरणीय कामहरुको विकसित मुलुकबाट सिक्न सक्छ । राम्रा कामहरु पछ्याउन सक्दा त्यसले हामीलाई नै फाइदा दिने हो ।
शहर सौन्दर्यको अर्को पाटो हो रंगरोगन ।
हाम्रो देशमा राज्यद्धारा निर्देशित रंगरोगन कानुन छैन । तर, विकसित देशमा यसको अलग कानुन हुन्छ । मुल सडक वरपरका घरहरुले सरकारले तोकेको रंग मात्र प्रयोग गर्न पाइन्छ ।
जस्ले जे मन लाग्छ त्यहि रंग प्रयोग गर्न पाइने नियमले शहरको सौन्दर्यमा खलल पुर्याएको छ । ठुला शहरका मुख्य स्थानमा तोकिएको रंग मात्र प्रयोग गर्ने नियमले वातावरण सुन्दर बनाउँछ ।
यो हेर्दा सामान्य बिषय लागेपनि यसको ठुलो महत्व छ । पर्यटकलाई यसले हाम्रा वस्तीहरु र भवनहरुलाई आकर्षित गर्छ । यसको अलवा घर निर्माणमा डिजाइन पनि अर्को महत्वपुर्ण पक्ष हो ।
मुल सडक अगाडी कुन मोडेलका भवन बनाउने, भित्री सडकमा कस्ता घर बनाउन पाइने आदि जस्ता कुरामा बिशेष ध्यान दिन राज्यले स्थानीयस्तरमा कानुन लागु गर्न प्रोत्साहन गर्नुपर्छ ।
हाम्रो देशमा विविध हावापानी र अलग–अलग भौगोलिक वनावट छ । यसका लागि हिमाल, पहाड र तराईमा आवस्यकता अनुसारका नियमहरु तोक्न सकिन्छ । बढी गर्मी हुने स्थानमा बन्ने भवन र बढी चिसो हुने ठाउँमा निर्माण हुने संरचनाहरु एकै हुन सक्दैन ।
तर, पनि विविधता बिचमा पनि शहरको सौन्दर्यमा एकरुपता ल्याउन सकिन्छ । तराईका धेरैजसो शहरहरु अहिले पनि भद्रगोल छन् । उपत्यकापछि भद्रगोल र अव्यबस्थित शहरहरु तराईमा ज्यादा छन् ।
धेरै जनसंख्याका कारण उपत्यका भद्रगोल भएपनि बाहिरका शहरहरुलाई व्यबस्थित गर्न धेरै सहज छ । राज्यले कानुन मात्र लागु गरेर विना लगानीमा सौन्दर्य देखाउन सक्ने भनेको सार्बजनिक स्थानहरु हो ।
ति भनेका हाम्रा मठमन्दिर, गुम्बा, चौतारा, पार्क, सरकारी कार्यालयहरु, अस्पताल लगायतका क्षेत्र पर्छन् ।
यी स्थानहरुमा संबन्धित पक्षलाई धुलो वा हिलो हुने स्थान निर्माण गर्न लगाउने, कहिंकतै भत्किएको वा बिग्रिएको स्थान तुरुन्त मर्मत गर्न आदेश दिने काम राज्यले गर्न सक्छ ।
फोहोरी सार्वजनिक बस र बेवारिसे कुकुर
देशको विकासको मापन सडकलाई मानिन्छ भने नागरिकको सभ्यताको मापन यिनै सडकमा गुड्ने सार्बजनिक सवारीका आधारमा गरिन्छ । अझै पनि हाम्रा सार्वजनिक सवारीमा खलासी (चिच्याएर बोल्ने सेवक) को प्रयोग छ ।
यो सबैभन्दा असभ्य चित्रण हो । सार्वजनिक वसमा सहयागी राख्न सकिन्छ । तर, यात्रुलाई तान्ने, चिच्याएर फलानो ठाउँ जान आउनुस, आउनुस भन्ने र वसको ढोका जोडले ठोक्ने प्रणाली सबैभन्दा दिक्दार लाग्ने पक्ष हुन् ।
विकसित मुलुकमा यस्तो दृष्य कहिं पनि देखिंदैन । यसलाई तुरुन्त हटाउन सकिन्छ । कुनै पनि यात्रुलाई बोलाउन जरुरी छैन ।
अहिले हरेक नागरिक अक्षर चिन्न सक्नेछन् । कुन वस कहाँ जाने सजिलै पढ्न सक्छन् । चुपचाप शान्त वातावरणमा सार्वजनिक सवारी चलाउन सकिन्छ । हरेक विकसित देशहरुले गरेको पनि यहि हो ।
उपत्यकामा अहिले सडकमा असरल्ल हजारौं कुकुरहरु छन् । यिनले दिनहुँ वटुवालाई दुख दिइरहेका छन् । विकसित देशका शहरमा यसरी सडकभरि कुकुर हुँदैनन् ।
अन्तमा...
विना लगानी देशलाई सुधार गर्ने यस्ता दर्जनौं क्षेत्र छन् । सरकारी अस्पतालको बिजोग अहिले पनि थामिसक्नु छैन । प्राय सरकारी अस्पतालहरु दुर्गन्धले भरिएका छन् ।
सरकारी स्कुल, कलेजका बातावरण पनि त्यो भन्दा खराब छन् । त्यति मात्र होइन, देशको स्थायी सरकार भनिने कर्मचारीले काम गर्ने सरकारी कार्यालयका क्षेत्र पनि भद्रगोल र कुरुप देख्न सकिन्छ ।
यस्ता क्षेत्रलाई विना लगानी सजिलै सुधार गरेर लैजान कुनै ठुलो आयोजना आवस्यक पर्देन । सरकार र नागरिकमा इच्छाशक्ति भए मात्र पुग्छ । सरकारले यस्ता कामहरुमा प्रोत्साहन र सजायको व्यवस्था अनिवार्य गर्न आवस्यक छ ।
हाम्रो सभ्यता हामी आँफैले निर्माण गर्ने हो, विदेशीले होइन । बालेन शाहले उपत्यकामा केही सुधारका संकेत देखाएका छन् । सरकारका हरेक मन्त्रालयहरु बालेन जसरी व्युँझने हो भने ‘सुन्दर नेपाल, सफा शहर’ बन्न वर्षदिन पनि लाग्दैन ।
के अझै शासकहरु बालेनसंग पौंठीजोरी खेल्ने कि नयाँ विकासको लहर ल्याउने ? राम्रा काम विकसित देशबाट सिक्ने र नराम्रा पक्ष मिल्काउँदै जानुपर्छ । अनि पो मुलुकले समृद्धिको गति लिनेछ ।
(प्रस्तुत लेख केही समयअघि प्रकाशित थियो र हाल यसलाई परिमार्जनका साथ पुनः प्रकाशित गरेका हौं ।)