बडा दशैँ मनाउने संस्कार आदिम कालदेखिकै हो । तर, मनाउने चलन भने फरक–फरक छन् । यसले नेपालीबिचको जातीय विविधता र सद्भावको प्रतिनिधित्व गर्छ । अहिलेको गोर्खामा कुनै समय तल्लोकोट, माझकोट र उपल्लोकोट भन्ने तीन राज्य थिए । तल्लो कोट र उपल्लो कोटमा घले राजा थिए । तत्कालीन समय लिगलिगका घलेहरू बडादशैँको टीकाको दिन तल चेपे नदीमा भोज खाएर, टीकाटालो गरेपछि दगुर्थे । कोटमा जो पहिले पुग्थ्यो, उही राजा हुने चलन थियो ।
हिमाली जिल्ला मनाङमा घटस्थापना हुँदैन र टीका पनि लगाइन्न । तर, त्यहाँको डाबा–साबामा भद्र–भलादमी भेला गरेर बडा दशैँको टीकाका दिन भेडा काट्ने, जाँड खाने चलन बस्यो ।
लमजुङे राजाहरूको पालामा उनीहरूलाई स्वायत्तता दिइएको हुनाले यस्तो गरेका हुन् । आधुनिक नेपाल निर्माणपछि पनि राजाहरूले मनाङेहरूलाई विशेष स्वायत्तता र स्वतन्त्रता दिएका थिए । धेरै विशेषाधिकार पाएको हुनाले उनीहरू दसैँको टीकाको दिन राजा मान्नका लागि भेला भएर रमाइलो गर्छन् ।
प्रकृतिसँग भूमिपुत्रहरूको नजिकको सम्बन्ध छ । त्यसकारण ढुंगालाई पुज्ने, पानीको स्रोतको पूजा गर्ने, रुखको फेदमा पूजा गर्ने आदि चलन अनादिकालदेखि नै चल्दै आएको छ । जमरा राख्ने संस्कार गुरुङमा अनादिकालदेखि छ । प्राचीन ‘क्होल’ र अहिलेको ‘पस’ गाउँलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ ।
लमजुङ हिमालको फेदीमा रहेको क्होल गाउँमा मनाङतिरबाट एकजना गुरुङ सिकार खेल्दै आउँदा उनलाई उक्त ठाउँ निकै मन परेको किंवदन्ती छ । त्यहाँ बस्ती बसाल्नका लागि उनले माटो परीक्षण गरेका थिए । त्यसका लागि आफूसँग भएको केही उवाको गेडा छरेर गए । अर्को वर्ष आउँदा उवा त लहलह भइसकेको देखेपछि उनले खेतीयोग्य भूमि रहेको थाहा पाए । त्यसपछि उनले त्यहाँ बस्ती बसालेको किंवदन्ती छ । जमरा राख्ने भनेको माटोको परीक्षण हो ।
लमजुङकै पस गाउँमा पैँडीले दिएको साइतअनुसार गुरुङहरूले दुनाटपरी भण्डारमा लगेर सुनपानी छर्केर पूजा गर्छन्, माटो मोलेर त्यसमा बिउ राख्छन् । त्यसपछि त्यही बिउलाई अन्य बिउसँग मिसाएर ब्याडमा लगेर राख्छन् । यस्तो परम्परा त अझै जीवित छ । गुरुङले फूलपातीको दिनमा पितृपूजा गर्ने चलन अझै छ । आफूले मासुभात खानुभन्दा पहिले पितृलाई भागे दिने परम्परा कायमै छ ।
फूलपातीको बिहान गाउँदेखि बाहिर वनमा गएर वायुपूजा गर्ने गरिन्छ । वायु अर्थात् आफ्ना अगति परेका पितृलाई ‘दसैँ आयो, खाऊ पिऊ’ भनेर मान दिएपछि बल्ल आफूले मासुभात खाने चलन छ । त्यसैगरी कालरात्रिको दिन गुरुङहरूले झाँक्री, घ्याब्री, लामा बोलाएर आआफ्नै विधिले पूजा गर्छन् ।
अनि, बडा दशैँको टीका लगाएपछि पैँडी अर्थात् (ज्योतिष÷विद्वान्) भएको ठाउँ पुगेर आना–माना गर्छन् । आना–माना भन्नाले एक आना पैसा, एक माना चामल र रक्सी राखेर वंशावलीको भाषा फुकाउने कार्य हो । पैँडीले वंशावली सुनाउँछन् । वंशावली त गौरव गाथा हो । त्यो वंशावलीको भाषा फुकाएर वंशावली सुन्ने दिन दशैँको टीकाको दिन हो ।
हाम्रा पर्व विज्ञानसम्मत छन् । बर्खाभरि अक्सर हिलोमा चोबलिएको, झरीमा रुझेको, कटेरोमै सुतेको किसानले राम्रो खान पाएका हुँदैनन् । यतिवेला किसानहरू टकटक्याएका माछाजस्तो हुन्छन् ।
त्यसैले त्यतिवेलाको सर्दी फाल्न उनीहरू दशैँमा पुग्ने गरी मासु र भात खान्छन् । विशेषगरी, झोल मासु मान्छन् । त्यो पचाउन लिंगे पिङ खेल्छन् । एकैपटक धेरै मासु खाँदा अपच भएर झाडाबान्ता वा अन्य रोग लाग्यो भने समस्या हुन्छ । त्यही भएर मज्जाले मच्चिएर पिङ खेल्छन् । वर्षाभरि सुकेर बसेका मांसपेशी सक्रिय हुन्छन् । गुजुल्टिएर बसेका नसाहरू तन्कन्छन् । यो निकै वैज्ञानिक छ ।
यसरी राई लिम्बूको प्रमुख पर्व बडा दशैँ
किपटका धनी राई– लिम्बूहरु ।।
पूर्वी नेपालको तामाकोशीदेखि अरुणसम्मको ईलाका खम्बूवान् र अरुणदेखि पूर्वको ईलाका लिम्बूवानको नामले प्रसिद्ध थियो । कालान्तरमा प्रशासनिक दृष्टीले खम्बूवानलाई वल्लो किरात र माझ किरातको रूपमा विभाजन गरियो।
जस अनुसार तामाकोशीदेखि दूधकोशीसम्म वल्लो किरात,दूधकोशीदेखि अरुणसम्म माझ किरात र अरुणदेखि पूर्वको ईलाका पल्लो किरात कहलायो । कोशीप्रस्रवणक्षेत्रमा दूधकोशी राईको, अरुण देवानको र तमोर लिम्बूको भन्ने मान्यता छ ।
खम्बूवान् र लिम्बूवानमा विर्ताका धनी बाहुन– क्षेत्री र छाप माना चामलका धनी गुरुङ–मगरहरु पनि थिए तर किपटका धनी जिमि–जमिन्दार चाहिँ राई– लिम्बू मात्रै थिए । बाहुन, क्षेत्री र गुरुङ, मगरले यीनै किपटका धनी राई–लिम्बूको अधिनमा रहेर थरीको काम गर्दथे ।
यी थरीहरुले आ– आफ्नो ईलाकाको तिरो उठाएर किपटका धनी राई– लिम्बूलाई बुझाउँथे । किपटका धनीले मालमा बुझाउँथे।यी किपटका धनी राई–लिम्बूहरुलाई मुडेर दामल गर्नु,जात पतित गर्नु, ज्यान मुद्दा आदि पञ्चखत बाहेक अन्य देवानी मुद्दाहरु छिन्न पाउँथे ।
यिनका ठिङ्ग्रो र मुङ्ग्रो हुन्थ्यो।खती बापतीलाई मुङ्ग्रोले ठटाएर, ठिङ्ग्रोमा ठेँड्को लगाएर कायल गर्न पाउँथे। कुनै उपाध्याय बाहुन–बाहुनीलाई हाडनाता करणीको खत लागेमा कानून अनुसार दण्ड सजाय भोग्न पर्थ्यो।होइन खत लागेको रहेन छ, बात मात्रै लागेको रहेछ भने त्यस्ता बापती बाहुन– बाहुनीलाई किपटका धनी राई– लिम्बूले सुनपानी छर्किदिए पछि ती बापती बाहुन– बाहुनी चोखिएर आफ्नो जातमा उक्लन्थे।
यो कुरा त्यसबेलाको दण्डविधान थियो । समाजले यस नीतिलाई मान्यता दिएको थियो । यी किपटका धनी राई– लिम्बूहरुले आफ्नै आगनमा मौलो गाडेर दशैँ मान्दथे।किपट भरका बाहुन–क्षेत्री पर्यन्तका जनताले किपटीया राई–लिम्बूलाई मान्न पर्थ्यो ।
बाहुनहरुले बडादशैँको टीका दशमीको एक दिन मात्र लगाउँछन् । टीकाको भोलिपल्टदेखि बाहुनको टीका हुँदैन । ठकुरी,क्षेत्री, गुरुङ, मगर र दलितले पूर्णिमासम्म टीका लगाउँछन् ।
आजकल बाहुनहरुले पनि पूर्णिमासम्म टीका लगाउन थालेकाछन् । राई– लिम्बूहरुले तिहारको भाइटीकाको दिनसम्म दशैँको टीका लगाउँछन् । यसरी बाहुनको टीका एक दिन र राई– लिम्बूको टीका एक महिना।यसरी सब भन्दा लामो समयसम्म दशैँ मान्ने समुदाय राई– लिम्बू हुन् । त्यसकारण दशैँ कसरी बाहुनको भयो ?
यसरी राज्यले अख्तियार गरेको नीति अनुसार मौलो गाडेर दशैँ माने बापत Once Upen a Time राई–लिम्बूहरुले ठूलो Power Enjoy गरेका थिए ।
अघि सेन राजाको पालामा खम्बुवान् – लिम्बुवानका राजा सेन थिए। मन्त्री चाहीँ राई–लिम्बू हुने परम्परा थियो। पृथ्वीनारायण शाहले जिते पछि राई– लिम्बू मन्त्री हुने नीति हट्यो तापनि राई – लिम्बूको किपटको हक अधिकार चाहिँ यथावत् कायम थियो । यस संवन्धमा केही टीका टिप्पणी हुन सक्छ तर यो कुरा राई–लिम्बूहरुको गौरवमय ईतिहासको एउटा पाटो हो ।
यसरी गुरुङ लगायत सबैको बडा दशैँ
दशैँ र गुरुङहरु ।।
कोटलाई संस्कृतमा कोट्ट,नेपालीमा कोट, नेपाल भाषामा क्वाठ र गुरुङ भाषामा क्वे भन्दछ । कोट एउटा सामरिक किल्ला र प्रशासनिक केन्द्र हो ।
नेपालीमा कोटको उमरा र घाटको माझी भन्ने उखान छ,किनभने कोटको मुख्य व्यक्तिलाई उमरा भन्दछ । ती उमराहरु मध्येका प्रमुख उमरालाई मीर उमरा भन्दछ।नेपाल भाषामा क्वाठ नायक प्रधान भन्दछ ।
अघि राजतन्त्रात्मक राज्यकालमा राज्यमा राज्याधिकारी र धर्माधिकारी दुईटा पद थिए।अघि बाइसे, चौबीसे राज्यकालमा राजालाई तखतमा चढेका राजा भन्दथे।
कालान्तरमा गद्दिनसीन श्री ५ महाराजाधिराज भन्न थालियो।त्यस अवस्थामा तखतमा चढेका राजा अथवा श्री ५ महाराजाधिराजलाई राज्याधिकारी र राजाका श्री ६ बडागुरुज्यूलाई धर्माधिकारी मानिन्थ्यो।
राजा भएका दरबार र कोटहरुमा राज्याधिकारी राजाले पानी समाउने र राजाका गुरु पुरोहितले संकल्प वाक्य बोलेर दुर्गापूजा र मौलोपूजा गरिन्थ्यो। राजा नभएका कोटमा उमरा, मीर उमरा, तालुकदार,जिम्मावाल,मुखियाले राज्याधिकारी राजाको प्रतिनिधि भएर पानी समाउने र धर्माधिकारी श्री ६ बडागुरुज्यूको प्रतिनिधि ब्राह्मण पुरोहितले संकल्प वाक्य भनेर दुर्गापूजा र मौलोपूजा गरिन्थ्यो।कोट नभएका गाउँहरुमा मुखिया कै आगनमा मौलो गाडेर मौलोपूजा गरिन्थ्यो।
गुरुङहरुमा आफ्नै थिति परम्परा अनुसार दशैँ मान्ने परम्परा थियो।लमजुङका राजा यशोब्रह्म शाहका पालादेखि गुरुङहरुमा हिन्दूविधिले दुर्गापूजा गरेर दशैँ मान्ने परम्परा भित्रियो। यशोब्रह्म शाहले गुरुङहरुलाई नमासिने चोखो मतवाली जात र क्षेत्री– ठकुरी सरह खुँडा हान्ने जातमा दराई दिए।
खुँडा हान्ने जातमा दरिए पछि गुरुङहरुले गाउँका तालुकदार, जिम्मावाल, मुखिया; गढी गौँडाका द्वारे र कोटका उमरा र मीर उमरा भएर राज्यको शासनमा सहभागी हुन पाए।यशोब्रह्म शाहले लमजुङ चारनाल(मादी पूर्व र मर्स्याङ्दी पश्चिमको ईलाका ) र उँभो खोला( बाहुनडाँडादेखि उँभो र मनाङको सुकेखोलादेखि उँधोको ईलाका) का घले, गुरुङ र लामालाई उमराली मानको पगरी दिएका थिए।
त्यस ईलाकामा जग्गाको जाँच गरेर माना– मुठीको आधारमा तिरो उठाइने थिएन।उमराहरुले राजालाई सालबसाली रूपमा नगदी वा जिन्सी सिर्तो तिरेर शासन गर्दथे।
वि. सं.१८६२ मा किल्ला काँगडातिरको युद्धको उद्योग चल्दा देवी देवताको गुठी हरण भयो, ब्राह्मणको कुशविर्ता हरण भयो तर लमजुङ चारनाल र उँभोखोला समेतमा गुरुङ उमराहरुको सिर्तोविर्ता यथावत् कायम थियो।
लमजुङ, पुरानोकोटका मुखिया कोके गुरुङ थिए।अहिले पनि लमजुङ, पुरानोकोटको मौलोमा तीनै कोके मुखियाका सन्तान कोके गुरुङले कर्ता भएर पूजा गर्दछन्।
लमजुङ,पुरानोकोटको चण्डी मन्दिरमा कोके गुरुङले शाह राजाहरुको पुस्तावली फलाकेर पूजा गर्दछन्।लमजुङ, रागिनासकोटका द्वारे तुलाराम फिब्रोँ लामा गुरुङ थिए।तीनै द्वारे तुलाराम फिब्रोँ लामा गुरुङका वंशज रागिनासकोटका मुखिया थिए।
द्रव्य शाहले लमजुङबाट गोरखा प्रवेश गर्दा उनलाई १८ जना गुरुङ उमराहरुले साथ दिएका थिए।गोरखाको सिरानचोकलाई बाह्र थरी र सात वराहले घेरेर राखेको छ।गोरखाको सिरानचोक द्रव्य शाहको पालाका गणेश पाण्डे र किल्ला काँगडाका योद्धा बडाकाजी अमरसिंह थापाको थलो हो ।
तर सिरानचोकका बाह्र थरी र सात वराह मध्ये सिरानचोकका महामुखिया चाहिँ सिरानचोक, थालाजुङ, रामचेका गोफ्ले साँहिला गोलबहादुर कोके गुरुङ हुनुहुन्थ्यो।वहाँलाई मैले भेटेको छु।
यसैगरी सिरानचोकका द्वारे दर्लामी गुरुङ थिए।सिरानचोक, तल्लो पामका द्वारे माहिला टङ्कमान दर्लामी गुरुङलाई पनि मैले भेटेको छु।
गोरखा अजिरकोटका हजार कुरियाका मुखिया चैबर लामछाने गुरुङ थिए।गोरखा, आपुन थुम एघार गाउँ रैतीका जिम्मावाल डम्बरराज लामछाने गुरुङ हुनुहुन्थ्यो।वहाँलाई पनि मैले भेटेको छु। गोरखा ,सिम्जुङका उमरा सै गुरुङ थिए।तीनै सिम्जुङे उमरा सै गुरुङका सन्तान लामछाने गुरुङहरु सिम्जुङका मुखिया थिए।
अमर घले र रघु घले गोरखा, बारपाकका उमरा थिए। तमु ह्युल छोजधिँका पूर्व केन्द्रीय अध्यक्ष रेशम फेवाली प्हज्यु गुरुङका बाज्ये गोरखा, भुमलिचोकका जिम्मावाल थिए।
शङ्कर गुरुङ, किसन गुरुङ र मधु गुरुङ चितवन, कविलासपुरगढीका उमरा थिए। तनहूँ, पुर्कोटका महामुखिया स्टाफ सार्जेन्ट दिलिपसिंह फेवाली फहज्यु गुरुङ हुन्थ्यो।
वहाँ मेरो मित्र हुनुहुन्छ। तमु ह्युल छोजधिँ केन्द्रीय समितिका निवर्तमान महासचिव धनमान फेवाली प्हज्यु गुरुङका पिता तनहूँ क्यामिनका मुखिया थिए।कास्कीको रूपाकोट, वरथोकमा लमजुङको भुजुङबाट आएका पोम गुरुङ मुखिया छन् ।
अघि २००० ढोरका महामुखिया जसपुरका मनध्वज कोने लामछाने गुरुङ थिए।ढोर, लामागाउँका पैँडि खलकका ल्हवाँ गुरुङहरु आफ्नै घरको आगनमा मौलो गाडेर दशैँ मान्दछन् ।
श्याङ्जा, नुवाकोटका मुखिया नुवाकोट, देउरालीका घोताने गुरुङ थिए।कास्कीको भुम्दिकोटमा तगुह्रोँ घोताने गुरुङ मुखिया थिए।कास्कीको पाउँदुरकोटका मुखिया टुट लामछाने गुरुङ थिए।पर्वतको दुर्लुङकोटका मुखिया म्हिगिह्रोँ घोताने गुरुङ थिए।
अघि घान्द्रुङका पा प्ल्हन लामछाने गुरुङ र वीरवल प्ल्हन लामछाने गुरुङले पर्वतका राजा कीर्तिवम मल्ललाई रु.५००।– ले सहयोग गरि घान्द्रुङको आँडिखेत १०० मुरि र ६ वलक भोग गर्ने अख्तियार पाएका थिए।कास्कीको चौरनिवासी सुब्बा प्र्ह्लाद ङेह्रोँ पैँगि लामा गुरुङले वि. सं.१८७२ वैशाख ६ गते राजगढको युद्धमा अंग्रेजका नायक अक्टरलोनिको तासकुचिनको झण्डा र तरवार खोसेर ल्याएका थिए ।
उक्त झण्डा र तरवारको आजसम्म सरकारी गुठीबाट नित्य नैमित्य पूजा हुँदैछ।कास्कीको झुप्राङकोटमा गर्लाङका मुखिया घोताने गुरुङले कर्ता भएर पूजा गर्दछन्।अन्तिम समय ताका कास्कीको अर्मलाकोटका मुखिया केशर टुँ घ्याबृँ गुरुङ थिए।साविक लमजुङ हाल कास्की,६ गाउँ, घ्याम्राङका तिरिजका धनी जिम्मावाल मुखिया सन्तवीर नम्जु क्रोम्छैँ गुरुङ थिए।
६ गाउँमा दशजना गुरुङ उमराहरु थिए।ती दश उमरा मध्ये राज्याधिकारी राजाको प्रतिनिधि भएर ६ गाउँको थुम याङ्जाकोटको मौलोपूजा गर्ने उमरा चाहिँ मीर उमरा कहलाउँदथ्यो।कुग्याल्बु क्ह्रोँगि लामा गुरुङ , सान्के कामी र मान्के दमाईँले ६ गाउँ याङ्जाकोटको थुम जमाएका थिए ।
यी गुरुङ मुखिया, महामुखिया,द्वारे, उमरा र मीर उमराहरु केवल एउटा उदाहरण मात्र हो।यस्ता धेरै उदाहरण छन् जस्लाई यहाँ समेट्न सकिएको छैन।
गुरुङहरु अघि शाहकालमा खुँडाहान्ने जातमा दरिएका थिए।यसैगरी राणाकालमा दुवालवन्दी सिपाहीमा दरिएका थिए।नेपालमा खुँडाहान्ने जातमा दरिएका र दुवालवन्दी सिपाहीमा दरिएका जातलाई भारतमा गोरखा पल्टनमा भर्ती गर्दथे।
त्यसकारण गुरुङले जात ढाँटेर गोरखा पल्टनमा भर्ती हुन परेर।अहिले दशैँ मान्नु नमान्नु आफ्नो खुशी हो तर अघि गुरुङका पुर्खाले राजासंग बोल कबोल गरेर मौलो गाडेर दशैँ मानेर मान पदवी पाएको हुँदा अहिलेका गुरुङहरुले यो ऐश्वर्य व्यहोर्न पाएको हो।यो कुरा हामी सबैले राम्ररी बुझ्न सक्नु पर्दछ।।
फूलपातीको बिहान गाउँदेखि बाहिर वनमा गएर वायुपूजा गर्ने गरिन्छ । वायु अर्थात् आफ्ना अगति परेका पितृलाई ‘दसैँ आयो, खाऊ पिऊ’ भनेर मान दिएपछि बल्ल आफूले मासुभात खाने चलन छ ।
त्यसैगरी कालरात्रिको दिन गुरुङहरूले झाँक्री, घ्याब्री, लामा बोलाएर आआफ्नै विधिले पूजा गर्छन् । अनि, दसैँको टीका लगाएपछि पैँडी अर्थात् (ज्योतिष÷विद्वान्) भएको ठाउँ पुगेर आना–माना गर्छन् ।
आना–माना भन्नाले एक आना पैसा, एक माना चामल र रक्सी राखेर वंशावलीको भाषा फुकाउने कार्य हो । पैँडीले वंशावली सुनाउँछन् । वंशावली त गौरव गाथा हो । त्यो वंशावलीको भाषा फुकाएर वंशावली सुन्ने दिन दसैँको टीकाको दिन हो ।
(डा.जगमान गुरुङ नेपालका संस्कृति माथी गहिरो अध्ययन र अनुसन्धान गर्ने संस्कृतिविद् तथा नेपाल ऋषि हुन् )