म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाका स्वास्थ्य संस्थामा शिशु स्वागत घर स्थापना भएको छ ।
स्वास्थ्य संस्थादेखि टाढा रहेका भौगोलिक रुपमा विकट र दुर्गम बस्तीका विपन्न तथा गरिब समुदायका गर्भवतीलाई लक्षित गरेर गाउँपालिकाले शिशु स्वागत घर स्थापना गरेको हो ।
सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन शिशु स्वागत घर सञ्चालन गरिएको धवलागिरि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले जानकारी दिनुभयो ।
सुत्केरी हुने मिति नजिकिएपछि गर्भवती र आफन्त बास बस्नका लागि सबै स्वास्थ्य संस्थामा एक/ एक वटा कोठामा शिशु स्वागत घर बनाएको उहाँले बताउनुभयो ।
शय्या, विस्तारा, भाँडाकुडा र सरसफाइका सामग्री, ग्यासको व्यवस्था गाउँपालिकाले गरेको छ । सात वटा वडाका स्वास्थ्य चौकीमा शिशु स्वागत घर स्थापना गर्न गाउँपालिकाले गत आर्थिक वर्ष २०८०- ८१ मा विनियोजन गरेको पाँच लाख बजेटबाट सामग्री खरिद गरिएको थियो ।
धवलागिरिको एउटै वडाको एउटा बस्तीदेखि अर्को बस्तीमा पुग्न पूरै दिन हिँड्नुपर्ने अवस्था छ । भौगोलिक विकटताका कारण घर छाडेर स्वास्थ्य संस्था तथा बजारका अस्पताल जान नसक्ने गर्भवती घरमै जोखिम मोलेर सुत्केरी हुनुपर्ने बाध्यता छ ।
गत आर्थिक वर्ष २०८०- ८१ मा धवलागिरिमा ९१ जना सुत्केरी भएका थिए । जसमध्ये तीन जना जोखिम मोलेर घरमै सुत्केरी भएका हुन् ।
जोखिम मोलेर घरमै सुत्केरी हुने अवस्था अन्त्यगरी मातृशिशु मृत्युदरमा कमी ल्याउने र स्वास्थ्यमा सुधार ल्याउनका लागि शिशु स्वागत घरको अवधारणा अघि सारिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।