बाँके । बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा दसैँ मनाउन आएका आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
वर्षायाममा सुनसान रहेका बाँकेका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिक रूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिनुभयो ।
अहिले दसैँ मनाउन बाहिरबाट आएका पाहुनाको चहलपहल बढी हुने गरेको उहाँले बताउनुभयो । दसैँ मनाउन कोहलपुर, नेपालगञ्जलगायत गाउँघरमा आएका आफन्तजन घुम्न पुग्ने गरेका छन् ।
थारू र मुगाली समुदायद्वारा सञ्चालित ‘गाभर भ्याली होमस्टे’ मा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । वर्षातमा सुनसान हुन पुगेको उक्त घरबासमा अहिले आन्तरिक पाहुनाको चहलपहल बढेको अध्यक्ष चौधरीले बताउनुभयो ।
बाहिरी जिल्लाका साथसाथै दसैँ मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरबासमा घुम्न आउने गरेको उहाँले बताउनुभयो ।
आन्तरिक पर्यटकलाई लक्षित गरी मिनी गाभरमा भर्खरै सञ्चालनमा आएको बिसौनी ग्रिनरी रिसोर्ट पनि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ ।
प्राकृतिक सुन्दरता र आकर्षक पूर्वाधारले दसैँको माहोलमा पनि आन्तरिक पर्यटकको चहलपहल बढ्दो रहेको महाप्रबन्धक केशव चालिसेले बताउनुभयो ।
उहाँका अनुसार मिनी गाभरमा रहेका होमस्टेमा बाँके र बर्दिया मात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढीमात्रामा पाहुना घुम्न आउने गरेका छन् । मुलुकका अन्य जिल्लाबाट आउने पाहुनाको सङ्ख्या पनि बढ्दो छ ।