गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई आफ्नो कार्य सम्पादन गर्न समस्या भएको बताउनुभएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा ६९ औँ प्रहरी दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले प्रहरी समायोजन नहुदाको यसको असर प्रदेश सरकारको काम कारबाहीमा पनि परेको बताउनुभएको हो ।
गण्डकी प्रदेश सरकारले आफू मातहत नभए पनि प्रदेशभित्रका नागरिकको सुरक्षा, सेवा गरिरहेको सुरक्षाकर्मीलाई सहयोग गर्नेगरी कार्यक्रम र बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो ।
प्रहरीलाई मात्रै यस वर्ष कार्यान्वयन हुने प्रहरी चौकीहरू निर्माण, तालिम केन्द्रको संरचना, प्रहरी अस्पतालको भौतिक संरचना निर्माण सिसिटिभी जडान, घेराबार र चौकीहरूको भौतिक पूर्वाधारका योजनामा १३ करोड ९५ लाख बजेट विनियोजन गरिएको छ।
सुरक्षाकर्मीलाई साधन स्रोत सम्पन्न बनाउन, आधुनिक प्रविधिसँग दक्ष बनाउन राज्यले अहिले भइरहेको भन्दा लगानी बढाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
गत वर्ष कार्यक्रम ढिला गरी स्वीकृत हुँदा कार्यान्वयनमा समस्या भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले यस वर्ष केन्द्रको अर्थ र गृह मन्त्रालयबाट स्वीकृत भई प्रदेशको अर्थ मन्त्रालयले पनि स्वीकृत प्रदान गरिसकेका कारण कार्यक्रम कार्यान्वयनको चरणमा अघि बढिसकेको जानकारी दिनुभयो ।
भौतिक पूर्वाधार लगायत योजनामा गत वर्ष प्रहरीका लागि प्रदेश सरकारले १६ करोड विनियोजन गरेको बताउँदै उहाँले सीमित साधन स्रोत र प्रदेश सरकारको बजेट नै गत वर्षभन्दा घटेकाले यस वर्ष केही कम भए पनि प्राथमिकताका आधारमा प्रहरीको माग अनुसारकै बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।
खोज तथा उद्धारमा प्रयोग हुने विपद् सामग्री हस्तान्तरण, तालिम, अभ्यास, सचेतनामूलक कार्यक्रम, लागु औषध दुर्व्यसनी न्यूनीकरणका कार्यक्रम प्रदेश सरकारको सहयोगमा सञ्चालन हुँदै आएको बताउँदै उहाँले यसबाट केही हदसम्म प्रहरीहरूको मनोबल उच्च राख्न र सङ्गठनलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।