म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौँ पठाइएको छ ।
सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरूको शव भेटिएको थियो । रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो ।
एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकिङ का सञ्चालक मिङ्मा शेर्पा सहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए । इटली आधार शिविरबाट शवलाई काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएको प्रनाउ श्रेष्ठले बताउनुभयो ।
आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।
हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ता हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् ।
आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसन मार्फत १४ जना रसियाका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुईजनाले सफल आरोहण गरेका थिए । सातजना पर्वतारोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।
यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो ।