बागलुङ । बागलुङ दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन् ।
सहकारी मार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरी यहाँका किसानले आर्थिक वर्ष २०८०- ८१ मा मात्रै सात करोड बढी रकम गाउँ भित्र्याएका थिए ।
जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर एक वर्षमै सात करोड ४८ लाख १७ हजारको कारोबार गरेपछि स्थानीय समेत खुसी भएका छन् ।
यी दुई पालिकामा मात्रै १४ वटा दुग्ध सहकारी संस्था छन् । तिनमा आबद्ध भएर किसानले आफ्नो उत्पादनलाई बजारीकरण गर्दा आम्दानी गर्न सफल भएका हुन् ।
काठेखोला गाउँपालिका- ५ का केशवप्रसाद कँडेलले दूध उत्पादन गर्न सके जुनसुकै समयमा सहकारीले बजारीकरणको जिम्मा लिने भनेर आश्वस्त पारेपछि आफूजस्ता किसानलाई निकै सहज भएको बताउनुभयो ।
सोही गाउँपालिका- ६ स्थित नमूना दुग्ध उत्पादक सहकारी संस्थाका शेयर सदस्यहरूले मात्रै दैनिक तीन सय ५० लिटर दूध बजारमा पठाउने गरेका छन् ।
दुग्ध किसान मणिभद्र कँडेलले आफूहरूले उत्पादन गरेको दूध सङ्कलन, प्रशोधन र बजारीकरणको ग्यारेण्टी भएपछि जोडतोडका साथ उत्पादन वृद्धिमा लागेको बताउनुभयो ।
किसानले दूध उत्पादन बढाउने र सहकारीले बजारीकरण गर्ने भएपछि सधैँको चिन्ता अन्त्य भएको छ । त्यसैमा दूध ढुवानी तथा घाँस ढुवानीमा अनुदान र पशु बीमा कार्यक्रम लागू भएपछि व्यवसाय पनि सुरक्षित भएको किसानको भनाइ छ ।
चौध सहकारीका शेयर सदस्य किसानले गाउँ– गाउँमा सङ्कलन गरेको दूध एकमुष्ट बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ ।
सङ्घले एक आर्थिक वर्षमा मात्रै १४ सहकारीका शेयर सदस्य किसानबाट सात करोड ४८ लाख १७ हजारको दूध खरिद गरेको अध्यक्ष दीपक गौतमले बताउनुभयो ।
यी सहकारीमा आबद्ध करिब एक हजार चार सय किसानले एक वर्षमै उक्त रकम पाएको उहाँले बताउनुभयो ।