काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले जलवायु परवर्तनको प्रभावका कारण चरम मौसमी सङ्कटको सामना गर्नुपरेको बताउनुभएको छ ।
नेपाल रिपब्लिक मिडियाद्वारा आज आयोजित ‘विश्वव्यापी जलवायु कार्यका लागि सगरमाथाको आह्वान’ विषयक अन्तरक्रियामा उहाँले यसबाट जनधनको क्षतिका साथै सडक, पुल, जलविद्युत् परियोजना र अन्य सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिसमेत ब्यहोर्नु परेको उल्लेख गर्नुभयो ।
परराष्ट्रमन्त्री डा देउवाले भन्नुभयो, “कम विकसित र पर्वतीय राष्ट्रहरू जस्तै नेपालले जलवायु परिवर्तनको गम्भीर र असमान प्रभावहरूको सामना गरिरहेको छ तर विश्वव्यापी जलवायु एजेन्डा र जलवायु प्रक्रियाहरूले विकासोन्मुख र पर्वतीय राष्ट्रहरूको दुर्दशा पर्याप्त रूपमा प्रतिबिम्बित गर्न सकेका छैनन् ।”
उहाँले जलवायुसम्बन्धी सम्मेलन (कोप २८) मा सञ्चालनमा आएको हानी र नोक्सानी कोषसहित सबै जलवायु कोष र सुविधाहरूलाई पर्याप्त रूपमा पुँजीकृत गर्नुपर्ने र विकासोन्मुख राष्ट्रहरूले सजिलै पहुँच प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताउनुभयो ।
अजरबैजानको बाकुमा हुने आगामी जलवायु सम्मेलन कोप- २९ मा जलवायु जोखिममा रहेका राष्ट्र, पर्वतीय राष्ट्रका आवश्यकता र प्राथमिकता तथा प्रभावकारी सहभागिताको तयारी भइरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले जलवायु परिवर्तनलाई गम्भीरता साथ लिएको उल्लेख गर्दै जलवायु परिवर्तनको असर कम गर्न अनुकूलन र कार्बन उत्सर्जन घटाउन न्यूनीकरणका साथै हानी र नोक्सानीलाई सम्बोधन गर्ने उपायहरूलाई प्राथमिकता दिएको जानकारी गराउनुभयो ।
नेपालले सन् १९९२ को जलवायु परिवर्तन महासन्धि र सन् २०१५ को पेरिस सम्झौता अनुमोदन गर्नाका साथै आफ्नो प्रतिबद्धताहरू पूरा गर्दै आएको उहाँको भनाइ थियो ।
नेपालले सन् २०२० मा प्रस्तुत गरेको दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी)मा नवीकरणीय ऊर्जा, वन क्षेत्र संरक्षण, विद्युतीय यातायात प्रवद्र्धन लगायत क्षेत्रमा अत्यन्तै महत्वाकाङ्क्षी लक्ष्यहरू समावेश गरेका छौँ,” मन्त्री शाहीले भन्नुभयो, “यस योजनामा जलवायु अनुकूलन, हरित ऊर्जा र वातावरणीय संरक्षणका क्षेत्रहरूमा विशेष ध्यान दिइएको छ ।”
नेपालले २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार पारी कार्यान्वयन गरिरहेको बताउँदै उहाँले सन् २०४५ सम्ममा ‘नेट जिरो इमिसन’ को लक्ष्य हासिल गरी नेपाल कार्बन उत्सर्जन घटाउँदै दिगो विकास र समृद्धि हासिल गर्न लक्ष्य राखेको बताउनुभयो ।