काभ्रे । खानेपानीमन्त्री प्रदीप यादवले काभ्रेको रोशी लगायतका खोलानालाले बिगारेको संरचनाको काम फाष्ट ट्रयाकमा निर्माण गरिने बताउनुभएको छ ।
गत असोज १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट क्षतिग्रस्त काभ्रेको बनेपास्थित शशीपानी क्षेत्रको मुहान, धुलिखेलको राणेखोला मुहान र पनौती नगरपालिका अन्तर्गत २ र १२ नं. वडाको खानेपानी मुहान लगायतका संरचनाको आज स्थलगत निरीक्षणका क्रममा मन्त्री यादवले यस्तो बताउनुभएको हो ।
खानेपानीमन्त्री यादवले पनौती सहित आसपासका क्षेत्रमा खानेपानी मन्त्रालय अन्तर्गत विभागका संरचनामा पनि बाढीले ठूलो क्षति पुर्याएको र बिग्रे भत्केका ती संरचनाको काम द्रुत प्रक्रिया मार्फत सुरु गरी बाढी प्रभावित जनतालाई यथाशक्य छिटो खानेपानीको व्यवस्था गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मन्त्रालय, विभाग, खानेपानी संस्थान सहितको टिमले बाढीपहिरोका कारण भएको क्षतिको यथार्थ विवरण तयार गरी तीन दिनभित्र सूचना प्रकाशित गरी काम अघि बढाइने छ, ढुक्क हुनुहोस् यथाशक्य छिटो खानेपानी समस्या हल गर्न सरकार तयार छ ।”
मन्त्री यादवले खानेपानी उपयोग तथा व्यवस्थापनका सन्दर्भमा मुहान क्षेत्रका स्थानीयवासीसँग आवश्यक समन्वय गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
मन्त्री यादवलाई पनौतीका स्थानीयवासीले छिटोभन्दा छिटो खानेपानीको व्यवस्था गरिदिन र बाढीका कारण क्षतिग्रस्त संरचना निर्माणका साथै प्रभावित क्षेत्रका वस्ती समेत स्थानान्तरण गरी प्रभावित जनताको जीउ धनको सुरक्षाका लागि अनुरोध गर्नुभयो ।