बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सुख, शान्ति र मुलुकको समृद्धिको कामना गर्नुभएको छ ।
त्रिवेणी नगरपालिका- ७ स्थित ऐतिहासिक नाट्यश्वरी मन्दिरको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले परापूर्वकालदेखि बडिमालिका क्षेत्रका यी पवित्र धार्मिकस्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको आफूले सुन्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आज म यस पुण्यभूमिमा उभिएर प्रार्थना गर्दछु, सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र मुलुकको समृद्धि होस् ।”
राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महसुस भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नाट्यश्वरी देवीको मन्दिर प्राङ्गणमा उभिएर म भन्न चाहन्छु, यहाँ रहेको प्रकृतिको अद्वितीय छटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको छु ।”
बाजुरावासीले आफूलाई ‘विपन्नतामा छौँ’ भन्ने भावना नराख्न आग्रह गर्दै उहाँले यस ठाउँको कृषि, पर्यटनको विकास हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त समाजलाई प्रसिद्ध धार्मिकस्थल एवम् दिव्य धामले एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बाजुरामा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक धरोहर हुँदाहुँदै पनि विकास र समृद्धिमा पछाडि परेको छ, स्रोत र साधनका लागि अथाह सम्भावना बोकेको यो भूमिको विकासका लागि राज्यको उचित ध्यान जाने विश्वास व्यक्त गर्दछु । ” त्रिवेणीमा अवस्थित बडिमालिका दिव्य धामलाई नेपालकै एक अलौकिक धरोहरका रूपमा लिइने र यस्तो दिव्यधाममा आएर बडिमालिकाको दर्शन र नाट्यश्वरी देवीको दर्शन गर्न पाएकामा उहाँले खुसी प्रकट गर्नुभयो ।
राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्र धार्मिक, पर्यटकीय, पुरातात्विक, सांस्कृतिक एवं प्राकृतिक सुरम्य स्थलका रूपमा रहेको बताउनुभयो ।