काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आँफुलाई जस्तै केपी शर्मा ओलीलाई पनि छानविन हुने हो भने यो देशको सबैभन्दा ठुलो भ्रष्टचारी ओली ठहरिने आरोप लगाएका छन् ।
आज आइतबार कास्की जिल्ला अदालत परिसरमा संचारकर्मीसंग लामिछानेले ओली प्रधानमन्त्री भएकोमा यो देशको दुर्भाग्य भएको आक्रोष पोखे ।
शुक्रबारदेखि कास्की प्रहरी कार्यालयमा थुनामा रहेका लामिछानेलाई अदालतमा उपस्थित गराउन लैजाँदा उनी निकै आक्रोष मुडमा सबैलाई आन्दोलनमा सहभागी हुन अपिल पनि गरे ।
‘मलाई अदालतले न्याय दिनेमा निर्धक्क छु । तर देशभरबाट सबैजनालाई यो सरकारविरुद्ध उत्रिन आह्वान गर्छु, उनले भने,‘ केपी ओलीको सरकार रहिरहने हो भने देशले धेरै दुःख पाउँछ । त्यसैले यो अधिनायकवादी सरकारविरुद्ध यही बेलामा देशैभरिबाट जहाँ–जहाँ हुनुहुन्छ, मेरो लागि होइन, देशका लागि बाहिर निस्किनुपर्ने अवस्था आउन सक्छ ।’
पुर्व गृहमन्त्री समेत रहेका लामिछानेले भने,‘म सबैलाई अपिल गर्छु । सम्पूर्ण न्यायप्रेमी दाजुभाइ दिदीबहिनी, यो सरकार रहुञ्जेल यस्तै हर्कत गर्छ । यो सरकार नढलेसम्म, केपी ओलीको शासनसत्ता रहिरहेसम्म यस्ता अपराध भइरहन्छन् । यो सरकारबाट देश कहिल्यै बन्दैन । भ्रष्टाचारीलाई संरक्षण गरेर, सारा सहकारी ठग पार्टीभित्र पालेर, भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झूट्टा मुद्दा लगाउने ? मलाई जस्तै डेढ वर्ष लगाएर ओलीलाई छानविन गर्ने हो भने सबैभन्दा भ्रष्टाचारमा उभिएको मानिस केपी ओली हो । उनी देशको प्रधानमन्त्री हुनु दुर्भाग्य छ ।’
उनले मलाई न्याय अदालतले दिने विश्वास व्यक्त गर्दै भने,‘न्याय प्रक्रियामा सघाउन आएको हुँ । यो अन्तिम लडाईं हो । राज्यशक्ता कब्जा गर्ने र निर्दोष मान्छे फसाउने यिनीहरुको यो सत्ता अन्त्य हुनुपर्छ । घरघरबाट आएर आएर यो सरकारको विरोध गर्न अनुरोध गर्छु ।’
लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ गरी अदालतमा उपस्थित गराइएको हो।