काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतले आइतबार साँझ आदेश दिंदै ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो ।
कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको बताए ।
आजै जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
अदालतमा भएको बहसपछि न्यायाधीशले म्याद दिएसँगै अब प्रहरीले अनुसन्धान कार्य अघि बढाउनेछ ।
पुर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई शुक्रबार सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेको उनलाई सोही राति पोखरा पुर्याइएको थियो ।
उनी पक्राउ परेसँगै पार्टी नेता कार्यकर्ता भने आक्रोशित बन्दै सडकमा उत्रिएका छन् । आइतबार पनि पोखरामा दिनभर रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।
सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो ।
शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको थियो । उनलाई अदालतमा पेश गर्नअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा भएका थिए ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिदचोक आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।
उक्त निषेधाज्ञा तोडेर नाराबाजी गर्ने क्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो भने प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।