काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा आज समूह ‘बी’ मा रहेका नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।
यसअघि आफ्नो पहिलो खेल खेलिसकेका दुवै टोली आज दोस्रो खेल खेल्न लागेका हुन। नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो भने माल्दिभ्स श्रीलङ्कासँग १- ० गोलले पराजित भएको थियो ।
सेमिफाइनल पुग्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ । जारी प्रतियोगितामा नेपालको १ अङ्क छ भने माल्दिभ्स अङ्क विहीन रहेको छ।
नेपालले आफ्नो तेस्रो खेल आगामी बिहीबार श्रीलङ्कासँग खेल्नेछ ।
समूह ‘बी’ अन्तर्गत नै आज दिउँसो साढे १ बजे भुटान र श्रीलङ्का पनि खेल्दैछन् । भुटानको १ अङ्क छ भने श्रीलङ्का ३ अङ्क सहित समूहको शीर्षस्थानमा छ ।
समूह ‘ए’ मा रहेको भारतले पाकिस्तानलाई ५- २ गोलले हराएको छ । भारतले तीन अङ्क जोडेको छ भने बङ्गलादेश र पाकिस्तानको एक- एक अंक छ ।
दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल कात्तिक १४ गते हुनेछ।
प्रतियोगितामा नेपालसहित दक्षिण एसियाली सात राष्ट्र सहभागी छन् । जसमा समूह ‘ए’ मा भारत, पाकिस्तान र बङ्गलादेश तथा समूह बीमा नेपाल, श्रीलङ्का, माल्दिभ्स र भुटान रहेका छन् ।