काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कर्णाली क्षेत्रका विभिन्न जिल्लामा केन्द्रीय तहका कार्यक्रमहरु गरिरहेको छ ।
मंगलबारदेखि सूरु कर्णाली यात्रामा ‘कर्णालीका कुरा सुन्न र आफ्ना कुरा भन्न’ भन्ने उदघोषका साथ राप्रपाका केन्द्रीय तहका नेताहरु कर्णालीमा सक्रिय छन् ।
कर्णाली यात्राको पहिलो दिन मंगलबार सल्यानको सल्ली बजारमा भव्य कार्यक्रम सम्पन्न भएको राप्रपाले जनाएको छ । कार्यक्रममा हजारौं सहभागी थिए । कयौं व्यक्तिहरु राप्रपा प्रवेश गरेका थिए । राप्रपा प्रवेश गरेकाहरुलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सम्मान गर्दै पार्टीमा स्वागत गरेका थिए ।
मंगलबार भएका आमसभाहरुमा राप्रपाका केन्द्रीय तहका नेताहरुले संबोधन गरेका थिए । अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले मुलुक निर्माणको नविनतम सोच लिएर आएको हुँदा ०८४ सालको चुनावमा बहुमत दिलाउने लक्ष्यका साथ सबै नागरिक राप्रपामा होमिन आग्रह गरे ।
वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राप्रपा अहिले युवाहरुको आर्कषण र विपन्न जनताको पहरेदार भएको बताए ।
संसदीय दलका मुख्य सचेतक तथा जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले कर्णाली जनताको आवाज सुन्ने र उनिहरुको दुखमा साथ दिने पार्टी भनेको राप्रपा मात्र भएको उल्लेख गरे ।
कार्यक्रममा सहभागी अधिकांश नेता तथा नेतृहरुले राप्रपामा भरोसाका आधारहरु र नागरिकको यसप्रतिको विश्वासका बारेमा प्रकाश पारेका थिए ।
राप्रपाले कर्णालीका सुखदुखलाई राजधानीसँग जोड्ने अनि आफ्ना कुरा भन्ने नागरिकका कुरा सुन्ने अभियानका साथ अहिले कर्णालीका सबै जिल्लामा कार्यक्रम गरिरहेको छ ।
कार्यक्रमका झलकहरु तस्बिरमा
(सबै तस्बिर राजेन्द्र लिङ्देनको फेसबुकबाट)