काठमाडौँ । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका छन् ।
एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा आज काठमाडौँमा आयोजित हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो ।
प्रतिवेदनअनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका पाइएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभाग र वन तथा भू- संरक्षण विभागले आज आयोजना गरेको कार्यक्रममा सन् २०२४ अप्रिल ४ देखि जुन २ तारिखसम्म कञ्चनजङ्घा संरक्षण क्षेत्रमा गरिएको हिउँ चितुवा सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो ।
प्रतिवेदनअनुसार कम्तीमा नौ र बढीमा २४ को सङ्ख्यामा हिउँ चितुवा रहेको जनाइएको छ ।
विभागले वैज्ञानिक एवं विश्वसनीय अध्ययन विधिको प्रयोग गरी हिउँ चितुवाको राष्ट्रिय सर्वेक्षण गर्ने उद्देश्यले क्यामरा ट्याप गरी विभिन्न हिमाली संरक्षित क्षेत्र तथा वन क्षेत्रमा गणना थालनी गरेको थियो ।
करिब २०३५ वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको उपयुक्त बासस्थान मानिने भएकाले सोही क्षेत्रभित्र १६ वर्ग किमीका ग्रिडमा स्वचालित क्यामरा ६० दिनसम्म राखेर फोटो खिची विश्लेषण विधिमार्फत गणना गरिएको हो ।
यसैबीच, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कम्प्युटरको ‘बटन’ थिचेर उक्त प्रतिवेदन सार्वजनिक गर्दै हिउँ चितुवाको संरक्षणका लागि सरकारसँगै स्थानीय समुदाय र सरोकार भएका निकायले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले हिउँ चितुवाको संरक्षण र सङ्ख्या वृद्धिका लागि आगामी दिनमा संरक्षण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
उनले नेपालको पहिचानसँग जोडिएको हिउँ चितुवाको ठूलो महत्व रहेकाले यसको संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे ।
कार्यक्रममा वन राज्यमन्त्री रुपा विकले हिउँ चितुवा संरक्षणमा देखिएका चुनौती सामना गर्न सरकारसँगै दातृ तथा सहयोगी निकाय र सरोकार भएकाको सहयोग र समन्वय आवश्यक हुने बताए।
निकुञ्ज विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले हिउँ चितुवा संरक्षणमा भएका उपलब्धि र प्रयासका बारेमा जानकारी गराउँदै सरोकार भएका निकायसँग समन्वय गरी काम गरिरहेको बताए।
यसअघि डोल्पा क्षेत्रमा हिउँ चितुवा गणनाको नतिजा सार्वजनिक गरिएको थियो । डोल्पामा ९० हिउँ चितुवा रहेको पाइएको छ ।
दिवसका अवसरमा आजै डोल्पा राष्ट्रिय निकुञ्जअन्तर्गत पूर्व (वन क्षेत्र) को हिउँ चितुवा अध्ययन प्रतिवेदन लोकार्पण गर्नाका साथै डोल्पा राष्ट्रिय निकुञ्जभित्र खिचिएका जङ्गली याकको फोटो फ्रेम अनावरण गरिएको छ ।
विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।