कञ्चनपुर । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ ।
गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो ।
गत असारमा आएको बाढीका कारण पर्यटक पथमा क्षति पुगेका कारण यस वर्ष ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।
तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफल रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाका लागि प्रख्यात छ । निकुञ्जको विशाल घाँसेमैदानमा दुई हजार बढी बाह्रसिङ्गाको झुण्ड देख्न पाइन्छ ।
त्यसैगरी, निकुञ्ज पाटे बाघका लागि पनि प्रख्यात छ । निकुञ्जले गरेको पछिल्लो गणनाअनुसार बाघको सङ्ख्या ४४ पुगेको छ ।
त्यसैगरी, गैँडालगायत दुर्लभ वन्यजन्तुका लागि पनि निकुञ्ज प्रसिद्ध छ । निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, २०१३ को गणनाअनुसार ८०- ९० वटा नीलगाई र चार सय ४९ प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।
विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन् । स्तनधारी वन्यजन्तुमा ५३ वटाभन्दा बढी प्रजातिहरू रहेका छन् ।
जसमा पाटेबाघ, एक सिङ्घे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपिड खरायो, बँदेल आदि रहेका छन् । निकुञ्ज प्रशासनका अनुसार गत आर्थिक वर्षमा निकुञ्जमा तीन हजार ६७ पर्यटकले अवलोकन गरेका छन । यसमा विदेशीको सङ्ख्या दुई सय ५० मात्रै छ ।