काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन, गरिबी र सुरक्षा चुनौतीलगायत विश्वव्यापी चुनौती समाधानका लागि सामूहिक र बहुपक्षीय प्रयास आवश्यक रहेको बताएका छन् ।
संयुक्त राष्ट्र सङ्घ स्थापना दिवसका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै नेपाल विश्वव्यापी शान्ति, स्थिरता र दिगो विकासलाई अगाडि बढाउन रचनात्मक भूमिका खेल्न तयार रहेको बताए।
शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र गैरहस्तक्षेप नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण सिद्धान्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालले ‘सबैसँग मित्रता’ को भावना अघि सारिरहेको स्पष्ट पारे।
संयुक्त राष्ट्र बडापत्रप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै उनले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति, समानता, सहयोग र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि नेपालले दशकौँदेखि निरन्तर पैरवी गर्दै आएको स्मरण गरे।
राष्ट्र सङ्घीय शान्ति मिसन, अन्तर्राष्ट्रिय सन्धि र निशस्त्रीकरण प्रयासमा नेपालको योगदानले विश्वव्यापी शान्ति र सद्भाव प्रतिको समर्पणलाई झल्काएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रतिकूलताका बाबजुद पनि द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा खटिएका शान्ति सैनिकको भूमिका प्रशंसनीय रहेको बताए।
राष्ट्र सङ्घको आह्वानमा नेपालले शान्ति सैनिक पठाउन थालेको इतिहास गर्व गर्न लायक रहेको जनाउँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय शान्ति अभियानले विभिन्न चुनौती सामना गरिरहेको बताए।
शान्ति सैनिकहरु हिंसात्मक समूह र बदलिँदो सुरक्षा अवस्थाबाट जोखिममा रहेका उल्लेख गर्दै उनले जटिल बन्दै गएका द्वन्द्व व्यवस्थापन र समाधानका लागि मजबुत अन्तर्राष्ट्रिय समर्थन र ऐक्यबद्धता आवश्यक भएकोमा जोड दिए।
प्रधानमन्त्री ओलीले विश्वव्यापी समुदायले सामना गरिरहेको वातावरणीय चुनौती सम्बोधन गर्न तथा मानवजातिको साझा खतराविरुद्ध सामूहिक रूपमा लड्ने बेला आएको उल्लेख गरे।
संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभाले जलवायु परिवर्तन, जैविक विविधताको हानी र वातावरणीय ह्रासबाट आइपर्ने चुनौतीलाई स्पष्टसँग किटान गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ती चुनौती समाधान गर्न दृढ प्रतिबद्धता र सामूहिक प्रयासको खाँचो औँल्याए ।