काठमाडौँ । बिजुली खपत गरेर पैसा तिर्न नखोज्ने विभिन्न उद्योगको विद्युत हिजो बिहीबार रातीदेखि काटिएको छ ।
यसअघि भएका प्राधिकरण र बोर्ड वैठकको निर्णय बमोजिम बिजुली काटिएको हो । बिजुली खपत गर्ने , समयमै रकम नतिर्ने, रकम तिर्न नपरोस भनेर राजनीति दलहरुसँग निकटता बढाउने, सरकारका शक्ति केन्द्र धाउने प्रवृति देखिएपछि प्राधिकरण पूर्ववत निर्णयमा दृढ देखिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ उद्योगको लाइन काटेको जनाएको छ । प्राधिकरणले यसअघि ९० दिनको समयसीमा दिएर महसुल बुझाउन पत्राचार गरेको थियो । जुन समय बिहीबार राती सकिएको थियो ।
तोकिएको समयमा पनि महसुल नबुझाएपछि प्राधिकरणले महसुल नबुझाएका सबै उद्योगको लाइन काटेको प्राधिकरणले बताएको छ ।
बिहीबार बिहान प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महसुल नबुझाउने उद्योगीहरुलाई पटक पटक समय थपिएको, थपिएको समयभित्र पनि रकम नबुझाएका र सोही बमोजिम सूचना जारी गरेर महसुल तिर्न आग्रह गर्दा समेत उद्योगीहरुबाट वेवास्ता भएकोले लाइन काट्ने अडान राखेका थिए ।
विवरण अनुसार, हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको छ ।
जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरनको लाइनसमेत काटिएको प्राधिकरणको सिमरा वितरण केन्द्रले जानकारी दियो ।
पछिल्लोपटक गत २४ असोजमा एक सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिक (आज) सम्मको म्याद दिएको थियो ।
महसुल नबुझाउने उद्योगीहरु रकम तिर्न नपरोस भनेर प्रधानमन्त्रीदेखि विभिन्न राजनीति शक्ति केन्द्रमा धाइरहेका छन् ।
प्राधिकरणले असोज २४ गते जारी सूचना