म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोम बजारसहित घरपझोङ गाउँपालिकाका पाँचवटा वडालाई समेट्ने चक्रपथ सडक कालोपत्र गर्न थालिएको छ ।
गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रममार्फत पूर्वाधार विकास कार्यालयले घरपझोङ चक्रपथको जोमसोम- ठिनी- ढुम्बा खण्डमा कालोपत्र गर्न थालेको हो ।
कार्यालयका प्रमुख अजय श्रेष्ठले निर्माण व्यवसायीले बिहीबारदेखि जोमसोम तर्फबाट प्रिमिक्स प्रविधिको कालोपत्र गर्न थालेको बताए। पहिलो दिन एकतर्फी तीन सय मिटर कालोपत्र भएको छ ।
जोमसोम- ठिनी- ढुम्बा- छैरो खण्डको १२ किलोमिटरमध्ये पहिलो चरणमा पाँच किलोमिटर कालोपत्र गरिने छ ।
छ किलोमिटर कालोपत्र र छ किलोमिटर ग्राभेल गर्न २०७६ साल असार २६ गते निर्माण कम्पनीसँग २१ करोड ४३ लाख १३ हजारमा निर्माण कम्पनीसँग सम्झौता भएको जनाउँदै उक्त कार्यालयले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको बताएको छ ।
घरपझोङ चक्रपथ सडकले जोमसोम- ठिनी- ढुम्बा- चिमाङ, छैरो, मार्फा र स्याङ गाउँ जोडिन्छन् । चक्रपथको मार्फा- स्याङ- जोमसोम खण्ड सङ्घीय सरकारको कालीगण्डकी करिडोर, बेनी- जोमसोम- कोरला सडक योजनामार्फत स्तरोन्नतिको चरणमा छ ।
जोमसोम-ठिनी- ढुम्बा- चिमाङ- छैरो खण्डको स्तरोन्नति प्रदेश सरकारले गर्न लागेको हो ।
मुस्ताङको नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको ठिनीगाउँ र ढुम्बाताल आवतजावतका लागि यही सडक प्रयोग हुन्छ ।
सडक कालोपत्र र ग्राभेल भएपछि स्थानीयवासी, पर्यटकलाई आवतजावतका साथै कृषि उपजको बजारीकरणमा सहज हुनेछ ।