काठमाडौँ । बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ ।
लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए।
दैनिक दुई सिफ्टमा काम भइरहेको छ । सिटामोलसँगै जीवनजल लगायत अन्य औषधि पनि उत्पादन भइरहेको छ । उनका अनुसार दैनिक तीन लाख सिटामोल उत्पादन भइरहेको छ ।
डेङ्गीका बेला पनि सिटामोल पाइएन भन्ने सुनिएपछि सूचना निकालेका छौँ । हामीसँग जति खरिदका लागि आउनुभएको छ, दिएका छौँ । खरिद बिक्रीको अनुपात हेर्ने हो भने सन्तुलित छ”, प्रबन्ध निर्देशक पनेरुले भने।
सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट गुनासो आएकाले लिमिटेडले एक सूचना जारी गरी सोबारे ध्यानाकर्षण गराएको जनाएको छ ।
खरिदका लागि सम्पर्क गर्नुहुने लिमिटेडका सबै भण्डारण कर्ता, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायलाई मागअनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइरहेको सूचनामा उल्लेख छ ।
लिमिटेडले पछिल्लो समय बढिरहेको डेङ्गुको सङ्क्रमणलाई लक्षित गर्दै सर्वसाधारणका लागि सिटामोल सहज रुपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौँ, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले आवश्यकता अनुसारको खरिद गर्नसक्ने व्यवस्था मिलाएको छ ।
उक्त काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिटामोल खरिद गर्नसक्ने लिमिटेडले जनाएको हो ।