रामेछाप । रामेछापको सैपुमा आजबाट ‘नमुनादीप कप’ भलिबल प्रतियोगिता शुरु भएको छ।
प्रतियोगिताको आज जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले उद्घाटन गर्दै हुनुहुन्छ ।
नमुनादीप युवा क्लबले पालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको अध्यक्ष राजन बस्नेतले जानकारी दिनुभयो ।
लिखु तामाकोशी गाउँपालिका- २ सैपुस्थित अरुणोदय माविको प्राङ्गणमा हुने प्रतियोगिताका लागि रामेछाप, सिन्धुली, दोलखा र ओखलढुङ्गाका स्थानीय तहबाट खेलाडीहरूको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १ लाख १ हजार ५ सय, उपविजेता टोलीले ७५ हजार ५ सय र तेस्रो हुने टोलीले ५० हजार ५ सय प्राप्त गर्नेछन्।
क्लबले २०६५ साल यता नियमित रूपमा आयोजना गर्दै आइरहेको नमुनादीप कपको यो दशौं संस्करण हो ।
क्लबले भलिबल प्रतियोगिताको साथमा डोरी तान (टग अफ वार) प्रतियोगिता, निःशुल्क स्वास्थ्य शिविर, बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने छ।
टग अफ वारमा ६ सय केजी समूह सम्मका ९- ९ जना खेलाडी रहनेछन्। विजेताले २० हजार नगद र उपविजेता टोलीले १० हजार नगद पुरस्कार पाउने छन्। यसैगरी भोली सोमबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने क्लबले जनाएको छ ।
आगामी मङ्गलबार सकिने प्रतियोगिताको समापन नेकपा एमालेका बागमती प्रदेश सदस्य एवम् समाजसेवी रत्न गौतमले गर्ने कार्यक्रम रहेको छ ।