काठमाडौँ । नेपालको काठमाडौँ स्थित दशरथ रंगशालमा भइरहेको साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनल फुटबल खेलमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलमा इण्डियालाई टाइब्रेकरमा ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
दशरथ रंगशालामा इण्डियाले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन ।
अन्त्यतिर इण्डियाले पेनाल्टी क्षेत्र भित्रबाट लगातार आक्रमण गरेपनि डिफेन्सले खतरा टार्यो ।
दोस्रो हाफ निकै तनावपूर्ण रह्यो । सुरुवातमा रेखा पौडेलले रातो कार्ड खाएपछि मैदानमा दर्शकले बोतल फाल्दा खेल झन्डै १३ मिनेट रोकियो ।
खेल सुरु भएको केही बेरमा इण्डियाले संगीता बास्फोरको उत्कृष्ट गोलमा अग्रता लियो । नेपालले लगत्तै इण्डियाले गोलको खुसी मनाइरहेको अवस्थामा किकअफमा गोल गर्यो तर रेफ्रीले आफैं व्हिसल बजाएर खेल सुरुवात गरेपनि पछि गोललाई मान्यता दिइनन् । नेपालले पुनः खेल सुरु गरेको केहीबेरमा खेलमा विवाद भयो र झन्डै १ घण्टा खेल रोकियो ।
खेल सुचारु भएको केहीबेरमा नेपालले गोल फर्कायो । साम्बाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि गोल हुन नसक्दा खेल बराबरी हुँदै टाइब्रेकरमा पुग्यो ।
टाइब्रेकरमा इण्डियाको पहिलो प्रहारमा कप्तान आशालता देवीले पोस्टमा प्रहार गरिन् । साम्बाले नेपालको पहिलो पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रतामा पुर्याइन् ।
इण्डियाकी मनिषाले दोस्रो प्रहारमा गोल गरिन् । नेपालकी गीता रानाले गोल गर्दै २–१ को अग्रतामा पुर्याइन् । त्यसपछि पुरुषोत्तम शिरोभ्करले गोल गर्दै खेल २–२ मा ल्याइन् । सविताले तेस्रो प्रहारमा गोल गर्दै खेलमा नेपालको अग्रता कायम राखिन् ।
इण्डियाको चौथो प्रहार गरेकी रन्जना चानुको पेनाल्टीलाई अन्जनाले रोकिन् । त्यसपछि अमिषा कार्कीले गोल गर्दै नेपाललाई जित दिलाइन् ।
इण्डियाले किकअफबाट नै सिधै गोलपोस्टमा सट लिँदै आफ्नो आक्रामक रणनीतिको झल्को दिएको थियो । कप्तान एन्जिला तुम्बापो सुब्बाले उक्त प्रहार बचाइन् । त्यसको दुई मिनेटमै एन्जिलले पुनः अर्को बचाउ गर्दै इण्डियालाई हावी हुन दिइनन् ।
१९ औं मिनेटमा ज्योति चौहानले कर्नरमा गरेको हेडरलाई डिफेन्डर अमृता जैशीले ६ यार्ड बक्स भित्र रोकिन् । उक्त रिबाउन्डमा ज्योतिले बक्स भित्रबाट नै गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।
२३ औं मिनेटमा इण्डियाकी मनिषाले बायाँ विंगबाट विमला विकलाई बिट गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको लगातार प्रयासले डिफेन्स लाइन काट्न सकेन ।
३१ औं मिनेटमा नेपालले गोल गर्ने सुवर्ण अवसर सदुपयोग गर्न सकेन । साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार इण्डियन गोलरक्षक चानुले रोकिन् । रिबाउन्डमा अमिशा कार्कीले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार चानुले पन्च गर्दै मुस्किलले बचाइन् ।
इन्ज्युरी समयको चौथो मिनेटमा इण्डिया गोल गर्ने अवसरमा चुक्यो । मनिषाको फ्रिकिकमा गोलरक्षक एन्जिलाले पहिलो बचाउ गरेपछि ज्योति चौहान र अरुणा बागको लगातार प्रहार विफल भयो । त्यसपछि मनिषा आफैंले लगातार गरेको प्रयासमा पनि नेपाली डिफेन्सले बललाई पोस्टमा जान दिएन ।
दोस्रो हाफको ५० औं मिनेटमा नेपाल १० खेलाडीमा सिमित भयो । रेखा पौडेलले रन्जना चानुमाथि फल गरेपछि रेफ्री चोकी ओमले दोस्रो पहेंलो कार्ड देखाएकी थिइन् ।
त्यसअघि उनले पहिलो हाफको इन्ज्युरी समयमा मनिषामाथि गरेको फलका कारण पहेंलो कार्ड पाएकी थिइन् ।
लामो विश्रामपछि खेल सुरु भयो । खेल सुरु भएको केही मिनेटमै नेपालले गोल फर्कायो । प्रितीले मिडफिल्डबाट दिएको पासलाई साम्बाले गोलरक्षक र डिफेन्डरको बीचबाट गोल गरिन् ।
त्यसपछि थप गोल हुन नसक्दा खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
त्यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।
नेपालले घरेलू मैदानमा इण्डियालाई हराएपछि दर्शकहरु खुशी मनाएका थिए । आजको फुटबल खेल हेर्न रंगशाला खचाखच दर्शकले भरिएको थियो ।
खेल चलिरहँदा सविता भण्डारी (साम्बा) निकै चर्चित भइन् ।