काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने पक्राउ परेदेखि पार्टीले निरन्तर प्रदर्शन गरिरहेको छ । उसले यो प्रतिशोध विरुद्धको आन्दोलनको संज्ञा दिएको छ ।
पोखरामा स्थानीय रैथाने बासिन्दाको खासै सहभागीता नभएपछि गत शुक्रबारदेखि रास्वपा काठमाडौँमा प्रदर्शनका लागि केन्द्रीत छ ।
तर, काठमाडौँमा पनि उत्साहजनक रुपमा समर्थकको सहभागीता नभएपछि गत शनिबार चितवनमा प्रदर्शन गर्ने घोषणा गरेको थियो । त्यहाँ पनि सोचे अनुसारको प्रदर्शन हुन सकेन ।
गत शनिबार नै सभापति रवि लामिछाने रिहाईको माग गर्दै देशभर आन्दोलन गर्ने रास्वपाले निर्णय गरिसकेको छ । तर, कतै पनि रास्वपाको उत्साहजनक प्रदर्शन हुन सकिरहेको छैन ।
यता, माओवादी केन्द्रले राजधानीमा गत शनिबार खबरदारी सभा गर्यो । विना एजेण्डा भएको सभामा ३० हजार बढी सहभागी हुने माओवादीले चर्चा गरेको थियो ।
तर, शनिबारको विदाको दिन भृकुटीमण्डपको खाली स्थानमा औसत जनसहभागीतामा माओवादीले सभा सम्पन्न गर्यो । यसै पनि विदाको दिन भृकुटीमण्डपमा धेरै चहलपहल हुने ठाउँ । माओवादीको घोषित सभामा पनि उक्त स्थान तुलनात्मक रुपमा भरिन सकेन ।
किन रास्वपाको प्रदर्शन र माओवादीको खबरदारी सभा प्रभावहिन भए ? धेरैलाई जिज्ञासा हुन सक्छ ।
पहिलो रास्वपाकै सवालमा प्रवेश गरौं ।
पुर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछाने राष्ट्रिय राजनीतिमा पुराना दलहरुको कोपभाजनमा पर्दै गए ।
कहिले कुन पार्टीसंग कहिले कुन पार्टीको नजिक र गठबन्धनबाट परिक्षण प्राप्त गरेको रास्वपा अर्धसत्तापक्षबाट अनुभव प्राप्त गरिसकेको पार्टीमा स्थापित भइसकेको छ ।
सरकारको गुलियोमा चुर्लूम्म डुबिसकेको दल पनि हो यो । त्यसपछि क्रमशः पार्टी सभापतिसँग विगतका विभिन्न काण्डहरु जोडिएर राष्ट्रिय मुद्दाहरु बन्न थाले ।
सहकारीकै मुद्दा मार्फत रकम अपचलन, संगठित अपराध र सम्पति शुद्धिकरणको अनुसन्धानमा परेका उनि अझै कहिलेसम्म थुनामा रहने हुन्, कसैले पनि केही भन्न सक्ने अवस्था छैन ।
न अदालत, न प्रहरी, न सरकार न कुनै दल वा कुनै न्यायीक निकायले यसको ग्यारेन्टी दिन सक्ने अवस्थामा छैनन् । किनकी, अनुसन्धानको तार र लहरो कसरी कहाँसम्म फैलिन्छ वा सोझिन्छ स्वंय अनुसन्धानमा सहभागी व्यक्ति पनि निश्चित देखिंदैनन् ।
प्रदर्शनमा रास्वपाले सहकारी पीडितलाई रकम फिर्ता गर्ने पनि नारा लगाएको छ । तर, यो नाराको तालमेल रास्वपाको नियतसँग मेल खाँदैन ।
किनकी, लामिछानेबाट संचालित गोर्खा मिडियामा गएको करीब अर्बसम्मका रकम फिर्ता गर्ने र यो रकमका असली हकदार पीडितलाई वितरण गर्ने सवालमा रास्वपा बोलेको छैन ।
अर्कोतर्फ रास्वपा भनिरहेको छ, अदालतलाई सम्मान गर्ने । तर, अनुसन्धान र न्यायीक निरुपण अबधिसम्म पनि रास्वपा पर्खिन सकिरहेको छैन । उसले अदालत अगाडी नै भीडभाड जम्मा गरिरहेको छ ।
अहिले रास्वपाका केन्द्रीय तहका धेरै नेता राजधानी फर्किएका छन् । स्रोतका अनुसार, रास्वपाले राष्ट्रिय अन्तराष्ट्रिय शक्तिकेन्द्रमा धाउन एकजना पदाधिकारीलाई खटाएको छ ।
उनि यसअघि नेपाली कांग्रेसमा हुँदा पटक पटक सरकारी जिम्मेवारीमा बसेका र विभिन्न आइएनजिओमा काम गरिसकेका भएकोले उनलाई इण्डियाको समर्थन जुटाउन आन्तरिक रुपमा खटाइएको स्रोत बताउँछ ।
स्मरणीय छ, यी उनै नेता हुन्, जस्ले नेपालको सार्वभौम विषयलाई इण्डियासँग जोडेर केही समयअघि दिएको अभिव्यक्ति निकै विवादित थियो ।
पछिल्लो पटक रास्वपाको आन्दोलन अर्थहिन र पार्टीका लागि प्रत्युत्पादक हुने जानकारहरु बताउँछन् ।
‘कानुनी शासनमा अनुसन्धानमा रहेको व्यक्तिलाई रिहा गर्नका लागि प्रदर्शन गर्नु गलत हो, विश्व कानुनका जानकार तथा संविधानविद् डा. भीमार्जुन आचार्यले भने,‘भोलि आफ्नो पार्टी सत्तामा गएर अरु पार्टीका नेतालाई यसरी नै छानविन गर्दा उनिहरुले पनि प्रतिशोध साँधिएको भनेर आन्दोलन गरे भने के हुन्छ ?, त्यतिबेला रास्वपा के गर्छ ।’ रास्वपाको यो प्रदर्शन स्वभाविक नमानिने उनले बताए । ‘रविजीको मुद्दा कानुनले हेरिरहेको छ, आचार्यले भने,‘सडक प्रदर्शनले अदालत प्रभावित हुँदैन, हुनु पनि हुँदैन ।’
रास्वपाले यसअघि रवि पक्राउ पर्दा जनदबाबकै कारण रिहा भएको निष्कर्षका साथ उसले एकसाथ देशभर आन्दोलन सुरु गरेको छ । तर, यो उसको तर्क गलत भएको विश्लेषकहरु बताउँछन् ।
२०७६ साल साउन ३० गते रवि पक्राउ पर्नुको मुद्दा र अहिले पक्राउको विषयमा निकै अन्तर छ । त्यतिबेला रवि संचारकर्मी थिए र स्वतस्फुर्त नागरिकको सहभागीता थियो । अहिले एक पार्टीको जिम्मेवारी व्यक्ति भएकोले सबै नागरिक रिहाईमा सहभागी भएका छैनन् ।
अर्कोतर्फ माओवादी केन्द्र पनि यही बेला सडकमा ओर्लिएको छ । गत शनिबार नै उसले राजधानीमा प्रदर्शन त गर्यो, तर त्यसको खास प्रभाव नागरिकबीचमा परेन । किनकी उसले कुनै मुद्दाविनै खबरदारी सभा गरेको थियो ।
उक्त प्रदर्शनलाई धेरैले माओवादीले सत्ता छोड्नुपर्दाको छटपटाहट मात्र भएको रुपमा चित्रण गरेका छन् ।
‘सायद माओवादीले म ज्यूँदो छु भनेर प्रदर्शन गरेको होला, तर यी खालका सभाहरुको कुनै औचित्य छैन, संविधानविद् डा. आचार्यले राष्ट्रिय समाचारसँग भने,कुनैबेला उ पनि सत्तामा थियो, उसले गरेका काम सबैले देखेका छन् ।’ माओवादीले आफ्नो अस्तित्व देखाउन खोजेको होला, तर, उसको हैसियत सबैलाई थाहा भएकै कुरा हो, उनले भने ।
पछिल्ला दिनहरुमा भएका यी दुई पार्टीका प्रदर्शन र सभाहरु नागरिकबीचमा रुचिकर देखिएका छैनन् । कतिपयले समानुपातिक मत बटुलेको रास्वपा यही प्रदर्शनबाट खुम्चिएको तर्क गरिरहेका छन् ।
उता, गठबन्धनबाट प्राप्त भोटबाट केही सिट जितेको माओवादी भने एकल सभा गर्दा रित्तिएको तर्क गर्नेहरु पनि छन् ।
अहिले यतिबेला न रास्वपामा नागरिकको कुनै आर्कषण देखिएको छ न माओवादीमा कुनै नागरिकको चासो नै छ । यी दुबै पार्टीका अहिलेका गतिबिधिहरु सत्ता बाहिर हुँदाको भोक सडकमा पोखिएको आभास नागरिक समाजले गर्न थालेका छन् ।