काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो- मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
तिहार भनेको नेपालीहरुको मौलिक पर्व हो । यो धर्म भन्दा नेपालीपनसँग सम्बन्धित छ । यो पर्वले नेपालीहरुलाई खुसी बनाउँछ ।
बिहान सूर्योदय कालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगि दियोस् भनेर आजका दिन कागलाई पूजा आराधना सहित मीठो- मीठो खान दिई खुसी पार्ने चलन छ ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास समेत गर्ने गरिन्छ ।
‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ ।
यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका- १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।
दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम पनि आज बुधबार साँझदेखि नै सुरु गरिँदैछ ।
यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता रहेको छ ।
यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक मङ्गलबार बेलुकीदेखि नै सुरु भएको हो ।
तिहार भनेको नेपालीहरुको मौलिक पर्व हो । यो धर्म भन्दा नेपालीपनसँग सम्बन्धित छ । यो पर्वले नेपालीहरुलाई खुसी बनाउँछ ।
नेपालीहरुको मौलिक पर्व भएको यो पर्वमा देउसी–भैलो खेल्ने, सेलरोटी खाने, आआफ्नो गच्छेअनुसार मिठो खाने र दशैँका रमाइला पक्षहरु पनि तिहारमा मनाउने चलन छ ।
पछिल्ला वर्षमा दक्षिणतिरबाट आएका विकृतिहरु नेपालीहरुको तिहारमा मिसिएकोले सावधान हुनुपर्ने मौलिक नेपालीहरुले सचेत गराउन थालेका छन् । किनकी नेपालीहरुको मौलिक पर्व मातृशक्तिमा आधारितहरु छन् ।