लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका एक सय एक उपलब्धि पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेका हुन्।
नागरिकमा बढ्दै गएको निराशालाई आशामा रुपान्तरण गर्न, प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन प्रदेश सरकार सफल भएको मुख्यमन्त्री आचार्यले बताए।
“प्रदेश सरकारको फजुल खर्च रोक्न, मितव्ययिता कायम गर्न नवीनतम सन्देश जनस्तरमा प्रवाह भएको छ”, मुख्यमन्त्री आचार्यले भने, “यस अवधिमा प्रदेश सरकारले नीतिगत र कानुनी सुधार, शासकीय सुधार र सुशासन, विकास व्यवस्थापन, वित्तीय प्रबन्ध, शिक्षा, स्वास्थ्यलगायतका सामाजिक क्षेत्र, कृषि र स्वरोजगारको क्षेत्र, पर्यटन, संस्कृति र पर्यावरण, सूचना प्रविधिको विकास र प्रयोग, गुनासो व्यवस्थापन, जनतासँगको संवाद लगायतलाई प्राथमिकतामा राखेर कामकारबाही गर्दै आएको छ ।”
प्रदेशको आन्तरिक आयस्रोत वृद्धि गर्न राजस्वको दायरा फराकिलो बनाउने, आर्थिक अनुशासनलाई कडाइका साथ कार्यान्वयन गर्ने, अघिल्लो वर्षको दायित्व भुक्तानीलाई अघि बढाउने आधार तयार गरिएको मुख्यमन्त्री आचार्यको भनाइ छ ।
उनले गत साउन ९ गते पद तथा गोपनियताको शपथ लिएका थिए। त्यसपछि एक सय दिनको अवधिमा प्रदेश सरकारले गरेका नीतिगत एवं कानुनी सुधार, साङ्गठनिक तथा व्यवस्थापन, शासकीय तथा सुशासन, प्रदेश गौरवका आयोजनाको कार्यान्वयन, अर्थतन्त्र र राज्यको क्षेत्रमा सुधारका विषय उठान गरिएका छन् ।
यस अवधिमा प्रदेश सरकार नीतिगत एवं कानुनी सुधार गर्ने काममा अघि देखिएको छ । प्रदेशसभा तथा प्रदेश सरकारबाट नीतिगत एवं कानुनी सुधारका लागि विभिन्न कानुन, कार्यविधि एवं निर्देशिका जारी गरिएको, कानुनमा आवश्यक संशोधन, परिमार्जन गरिएको र केही अत्यावश्यक कानुन एवं कार्यविधि स्वीकृतिको अन्तिम चरणमा रहेका उल्लेख छ ।