काठमाडौँ । त्यो दिनअघि देशभर अन्धकार थियो । मानिसहरु वैकल्पिक उज्यालो प्रयोग गर्थे । मधुरो उज्यालो हुन्थ्यो ।
तर, सबैजसो ठाउँ अन्धकार थियो । किनकी देशले १८ घण्टाको लोडसेडिङ झेलिरहेको थियो । नेपालीहरु भन्ने गर्थे,‘कहिले आउला उज्यालो ?’ कुनै टुँगो थिएन ।
सरकारले विकल्प दिन सकिरहेको थिएन । अनेक तरहले कुलमान घिसिङ नेपाल विद्युत प्राथिकरणको नेतृत्वमा आइपुगे । उनले खास योजना ल्याए ।
तत्कालीन सरकारले साथ दियो । कुलमानले प्रण गरे, यो सालदेखि लोडसेडिङ हटाउनेछु ।
उनले योजना बुन्दाबुन्दै तिहार आइपुग्यो । २०७३ साल तिहारको लक्ष्मीपूजाको दिन । यो त्यही दिन थियो, जहाँ नेपालले सम्पुर्ण रुपमा उज्यालो पाएको थियो ।
जब त्यसपछिका हरेक लक्ष्मीपूजा आउँछ, अनि नेपालीले एक पटक कुलमानलाई सम्झिने गर्छन् । झिलीमिली नेपाल त्यही दिनदेखि सुरु भयो, जुन दिनदेखि नेपाल लोडसेडिङ मुक्त भयो ।
घिसिङले विद्युत प्राधिकरणको नेतृत्व लिएपछि हरेक वर्ष संस्थानलाई नाफामा लगे , विद्युत विस्तार तीव्र पारे, उत्पादन दोब्बरले बढाउन भुमिका खेल्दै आए । आजको यो लक्ष्मीपूजाको दिनमा सबैतिरको उज्यालो देखेपछि एकपटक कुलमानलाई सबैले सम्झिने गर्छन् ।
आज नै उनले एउटा समाचार एजेन्सीसँग कुरा गर्दै जति विजुली बालेपनि लोडसेडिङ नहुने स्पष्ट पारेका छन् । जति खपत गरे पनि लोडसेडिङ नहुने भएकोले निर्धक्क साथ लक्ष्मीपूजामा उज्यालो छरेर रमाउन उनले अपिल गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरैभन्दा धेरै विद्युत खपत गर्न आग्रह गरेका छन्।
विद्युत खपतको लागि पर्याप्त विद्युत भएकाले तिहारमा जतिसक्दो बढी विद्युत प्रयोग गर्दा पनि हुने उनले बताए।
कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने उनको भनाइ छ।
‘तिहारको लागि विद्युत आयात गर्नु पर्दैन। बढी पनि हुन्छ। कतै–कतै प्राविधिक समस्या भएर लाइन गयो भने मात्रै नत्र तिहारमा विद्युत नपुगेर लाइन काट्नुपर्ने अवस्था छैन। तिहारमा विद्युत जति प्रयोग गर्न सकिन्छ सबैले प्रयोग गर्नु अनुरोध गर्दछु,’ उनले भने।
यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत आयात गर्नुपर्ने अवस्था नरहेको उनले जानकारी दिए।
सकेसम्म तिहारमा विद्युत पुर्याएर निर्यातसमेत गर्न पुग्ने विद्युत प्राधिकरणसँग रहेको उनको भनाइ छ।
असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको पनि उनले बताए।
मुख्य गरेर यो वर्ष वर्षातको कारण आएको बाढी पहिरोको कारणले जलविद्युत क्षेत्रमा ठूलो क्षति पुगेको छ।
प्राधिकरण र निजी क्षेत्र दुवैमा क्षति पुगेको छ। तामाकोशी ४६५ मेगावाट अहिले पनि आउट छ। प्रशारणलाइन बगाएको हुनाले काबेली करिडोरको करिब २ सय मेगावटको आयोजना आउट छन्।
करिब ७ सय मेगावटका जलविद्युत प्रणालीभन्दा बाहिर छन्। एक महिना भन्दा बढी भयो उत्पादन भएको छैन,’ उनले भने।
अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
अहिले पनि २१ सय मेगावाट विद्युत उत्पादन भए पनि घटेर १९ सयमा झरेको उनले जानकारी दिए।
‘यति हुँदा पनि हामीलाई पुग्ने विद्युत उत्पादन छ। करिब २ हजार एक सय मेगावटको उत्पादन अहिले छ। तर त्यो घटेर १९ सय मेगावटमा झरेको छ। दैनिक रुपमा उत्पादन घट्दो क्रममा छ। तिहारको लागि हाम्रो उत्पादनले हामीलाई पुग्छ,’ उनले भने।
यो वर्ष बाढी पहिरोका कारण जलविद्युत आयोजनाहरूमा क्षति पुगेका कारण हिउँदमा थप विद्युत आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए।
नेपालमा हाल कुल दुई हजार ७९४ मेगावाट बिजुली उत्पादन हुन थालेको छ। यो भनेको नेपालको कुल विद्युत उत्पादन क्षमताको ३.८५ प्रतिशत मात्रै हो।
नेपालको कुल विद्युत उत्पादन क्षमता ७२ हजार ५४४ मेगावाट छ। यसमा हाल चार हजार ४५२ मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन अवस्थामा छन्।
१२०० मेगावाट विद्युत खरिद बिक्री सम्झौता (पिपिए) का लागि आवेदन छ। सर्वे लाइसेन्सका लािग पनि १२०० मेगावाटको आवेदन छ।
नेपालमा धेरैजसो आयोजनाहरू नदी प्रवाहमा आधारित (आरओआर) छन्। यहाँ जलाशययुक्त जलविद्युत आयोजनाको ठूलो सम्भावना छ। तर यस्ता आयोजना बन्न नसक्दा वर्खामा बिजुली खेर जाने र हिउँदमा अपुग हुने समस्या छँदैछ।
आर्थिक वर्ष २०७५/०७६ मा ६८.३० प्रतिशत बायोमास (घाँस, दाउरा तथा गुइँठा) जस्ता परम्परागत ऊर्जामा निर्भर थियो। उक्त वर्ष आयातीत ऊर्जा ५.०४ प्रतिशत र २७.५० प्रतिशत नवीकरणीय ऊर्जा प्रयोग भइरहेको थियो।
एक तथ्यांकले नेपालमा खाना पकाउन, बत्ती बाल्न लगायत विभिन्न घरायसी कामका लागि ६० प्रतिशत बिजुली खर्च हुने गरेको देखिएको हो।
एक प्रतिवेदनअनुसार २२.१७ प्रतिशत बिजुली औद्योगिक क्षेत्रमा, १०.४९ प्रतिशत यातायात र ४.७९ प्रतिशत व्यावसायिक कामका लागि खर्च हुन्छ। निर्माण क्षेत्रमा १.०२ र अन्य क्षेत्रमा ०.९४ प्रतिशत खर्च हुन्छ।
उत्तारचढावका बाबजुद जलविद्युत क्षेत्रमा लगानी आकर्षण बढिरहेको छ । इण्डियासँगै बंगलादेशमा पनि बिजुली निर्यात भएपछि यसले उत्साह थपेको छ ।
अबको दस वर्षमा इण्डिया र बंगलादेश र चीनमा गरी कुल ३० हजार मेगावाट बिजुली निर्यात गर्न सकिन्छ भन्ने प्राधिकरणको प्रक्षेपण छ ।
अहिले नेपालले पटक पटक गरेर इण्डियन बजारमा ४५२ मेगावाट बिजुली बेच्ने अनुमति पाएको छ। थप बिजुली लैजान भने आनाकानी गरिरहेको छ।
पाँच वर्षमा थप २०० मेगावाट बिजुली इण्डिया बिक्री गर्ने गरी मध्यकालीन विद्युत व्यापार सम्झौता पनि भइसकेको छ।
तर इण्डियाले स्वीकृति दिएको छैन। अन्य आयोजनाहरूको बिजुली बिक्री गर्न नेपालले प्रस्ताव गरे पनि इण्डियाले स्वीकार गरेको छैन।
नेपालले पहिलो पटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत इण्डिया निर्यात सुरू गरेको हो। हाल दैनिक करिब ४५० मेगावाट विद्युत निर्यात भइरहेको छ।
नेपालले आर्थिक वर्ष २०७९/८० मा इण्डियालाई दस अर्ब ४५ करोड रूपैयाँको बिजुली बिक्री गरेको छ। उक्त वर्ष १९ अर्ब ४४ करोड रूपैयाँको बिजुली किनेको छ।
पछिल्लो समय नेपालले बंगलादेशमा पनि बिजुली बिक्री गर्ने सम्झौता गरिसकेको छ भने चीनसँग पनि निर्यात अघि बढाउने कुरा उठिरहेको छ। यो सबै पहलका लागि कुलमान घिसिङको ठुलो भुमिका रहँदै आएको छ ।