काठमाडौँ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।
नेपालीहरुले मनाउने तिहार पर्वमा आधारित छ । यो कुनै धर्मबाट उत्पत्ति नभई नेपाली सनातन संस्कार अनुसार सृजना भएकोले हरेक समुदाय, हरेक जातजाति र हरेक धारणा बोकेका व्यक्तिले तिहार मनाउने गर्छन् ।
आजको भाइटीका एक मातृशक्तिको अनुपमा हो । यो परम्परा नेपाल र नेपालीमा मात्र रहेको छ ।
कतिपयले इण्डिया र सिमावर्तीस्थानमा नेपालीको तिहारलाई उस्तै मिल्दोजुल्दो हो भन्ने भ्रम फैलाउन थालेका छन् । मौलिक नेपालीले तिहारमा कष्टपुर्वक कुनै ब्रत बस्दैनन् ।
यसमा दिदिबहिनीहरुलाई मनोरञ्जन मात्र प्रदान गरिएको छ र नेपालीको तिहार मातृशक्तिमा आधारित छ ।
देउसी भैलो खेल्नु, मिठोमिठो खेल्नु, सबैसँग घुलमिल हुनु, छोरा भन्दा छोरीहरुको स्वतन्त्रतालाई प्राथमिकता राख्नु, घर समाजमा महिला हावी हुनु र भाईटीका लगाउनु नेपाल र नेपाली मात्रको संस्कार रहेको छ । नेपालीको तिहार मातृशक्ति मात्र आधारित छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित मुहूर्त उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।
यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइ माग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायत फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् समितिका अध्यक्ष अधिकारीले बताए ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
बालगोपालेश्वर खुलाइने
दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
खञ्जनेश्वर महादेवमा भक्तजन
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए।
“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भिड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भिड लाग्छ”,उनले भने।
विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायका केहीले भने शनिबार नै किजापूजा गरेको जनाइएको छ ।
तिहारको भाइटीकामा नेपालीको मौलिक संस्कार रहेको छ । तिहार, दशैँ, तीज लगायतका नेपालीका पर्वहरु मातृशक्तिमा आधारित छन् ।
नेपालीका चाडहरु धर्ममा नभई पर्वहरुमा सृजना भएका यसका उत्पत्तिलाई हेर्दा स्पष्ट हुन्छ । पछिल्ला वर्षहरुमा नेपालीका पर्वहरुलाई बढी धार्मिककरण गर्दा अनेक विवादहरु निम्तन थालेका छन् ।
यी पर्वहरुमा नेपाली मौलिक नाम, नेपाली मौलिक मनाउने शैली, खानपिन , छोराछोरीबीच समानता, मातृशक्ति र समृदायगत सम्बन्धहरु बलियो रहेको छ ।
तर, पछिल्ला वर्षमा इण्डियाबाट आयातित संस्कृतिहरु मिसाउन थालेपछि नेपाली समाजमा भ्रम पैदा भएको छ । यसको ज्वलन्त उदाहरण हुन्, धनतेरस, रंगोली र यसैमा जोडेर सम्बोधन हुने छठ ।
यी कुनै पनि संस्कारहरु मौलिक नेपाली समाजसँग सम्बन्धित छैनन् ।