काठमाडौँ । नेपाली कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची- महाकाली ‘युवा सङ्कल्प यात्रा’ सञ्चालन गरिने भएको छ ।
यात्राबाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध नेपाल निर्माणमा उद्यमशील बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले उद्यमशीलता नेपालको विकासका लागि अपरिहार्य रहेको जनाउँदै राजनीतिक उपलब्धिको संरक्षण युवाशक्तिको समुचित उपयोगबाट मात्र हुनसक्ने धारणा राखे ।
नेपाल तरुण दलका पूर्वमहामन्त्री शाहीले कांग्रेसले युवा उद्यमशीलता प्रवर्द्धन मात्र होइन, देशको अवस्था बदल्ने तागत राख्नुपर्नेमा जोड दिएका छन्। कृषिप्रधान देशमा कृषिको आधुनिकीकरण मार्फत लाखौँ युवालाई स्वदेशमै रोजगार बनाउन सकिने उनको भनाइ छ ।
यात्राले युवालाई राजनीतिक आन्दोलनको मात्र नभएर आर्थिक विकासको पनि साझेदार बनाउने उद्देश्य लिएको जनाउँदै नेता शाहीले लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्द्धन, दण्डहीनताको अन्त्य, भ्रष्टाचारको उन्मूलन, सुशासन, युवा उद्यमशीलताको प्रवर्द्धन र राष्ट्र निर्माणको नेतृत्व गर्न पनि अभियान सार्थक हुने उल्लेख गरे ।
यही कात्तिक २३ गते मेचीनगरको काँकडभिट्टाबाट सुरु भई इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै यात्रा मङ्सिर ४ गते महाकाली पुगेर समापन हुनेछ ।
अभियानमा खासगरी युवालाई रोजगारीको सुनिश्चितताका लागि पहलका साथै दबाब सिर्जना गर्ने, भ्रष्टाचार उन्मूलन र सुशासन पहल र खबरदारी गर्ने तथा महङ्गी र मूल्यवृद्धि नियन्त्रणको विषय प्रखर रूपमा उठाउने र समाधानको उपायसमेत देखाउने नेता शाहीले जानकारी दिएका छन्।
यात्रामा नेता शाही सहित रञ्जित कर्ण, धर्मेन्द्र नेम्वाङ, प्रेमिका राना, नरेश यादव, शेख ओकिल, मेदनी सिटौला, चन्द्रादेवी जोशी, राधिका हमाल, उदिराम खड्का, लेलिया विश्वकर्मा, सुनिल थापा, विनोद खनाललगायत ४० जना केन्द्रीय प्रतिनिधिका रूपमा सहभागी हुनेछन्।