अमेरिका । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ ।
अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ ।
निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् ।
निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो ।
मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर्वाचनमार्फत हुने सत्ताको परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पार्ने कतिपयको धारणा छ ।
आफ्नो पक्षका उमेदवारलाई विजयी गराउन दुवै पार्टीले आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका छन् ।
यो पटकको निर्वाचनमा पनि विगतका निर्वाचन जस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्र्याट र रिपब्लिकन पार्टीले आफ्नो एजेण्डा तय गरेका छन् । कोभिड महामारीपश्चात् अर्थतन्त्र केही चलायमान बन्ने प्रयत्न गरेको भए पनि मूल्यवृद्धिले यहाँको हरेक तहलाई असर परेको छ ।
खाद्यवस्तु, इन्धनका साथै सबै खालका वस्तु तथा सेवामा परेको असरले मध्यमस्तरको आय हुनेहरुका लागि कठिन आर्थिक अवस्था सिर्जना गरेकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।
तुलनात्मक रुपमा आप्रवासीहरुप्रति नरम नीति अङ्गीकार गर्ने डेमोक्र्याट पार्टीले अमेरिकाको इतिहासमा पहिलो पटक महिलालाई सर्वोच्च कार्यकारी अधिकार प्रदान गर्नेगरी कमला ह्यारिसलाई मैदानमा उतारेको छ ।
उता अनेकन मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा सत्ता आरोहणका लागि कडा मेहनत गरिरहेका छन्।
स्वीङ्ग राज्यहरु निर्णायक
अमेरिकामा रहेका कूल ५० राज्यमध्ये मुख्य सात एरिजोना, जर्जिया, मिचिगन, नाभडा, नर्थ क्यारालिना, पेन्सलभेनिया र विसकन्सिनलाई स्विङ्ग (मतदाताले अन्तिम समयमा निर्णय गर्ने) राज्यका रुपमा परिभाषित गरिएको छ ।
यसमध्ये सबैभन्दा बढी ध्यान पेन्सल भेनियामा रहेको छ । यी राज्यहरुको विगतको निर्वाचनको नतिजा हेर्दा सन् २०१६ मा डोनाल्ड ट्रम्पले पाँच वटा स्वीङ्ग राज्यमा जीत हासिल गरेर निर्वाचित भएका थिए । उता सन् २०२० मा जो वाइडेनले छ वटा राज्यमा जीत हासिल गरेर राष्ट्रपति बन्न सफल भएका थिए।
पेन्सलभेनिया कति महत्वपूर्ण छ भन्ने विषय उक्त राज्यमा रिपब्लिकन र डेमोक्र्याट पार्टीले सबै प्रकारका चुनावी अभियानमा सबै प्रकारका सञ्चारमध्यमहरुमा खर्च गरेका एक अर्ब २० करोड डलरको विज्ञापनले पनि पुष्टि गर्छ ।
सन् २०२४ को चुनावमा अमेरिकाभर कूल १० अर्व ५३ करोड विज्ञापनमा खर्च गरिएकामा त्यसमध्ये ११ प्रतिशत एउटै राज्यमा खर्च गरिएकोबाट पनि पुष्टि हुन्छ ।
कूल ९१ लाख मतदाता रहेको पेन्सलभेनियामा अर्लि भोटिङमार्फत १६ लाख २० हजारले मतदान गरिसकेका छन् । उक्त राज्यमा निर्वाचनको दिन अर्थात् आज बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ ।
नेपालीहरुको मत निर्णायक हुन सक्छ रु
व्याटल ग्राउण्ड अर्थात् मुख्य प्रतिस्पर्धा हुने राज्यका रुपमा रहेको पेन्सलभेनियाको निर्वाचन निर्णायक हुने भनेर सारोकार भएका संयन्त्रको ध्यान केन्द्रित हुनुका साथै निर्वाचन समितिको परिचालन भइरहेको छ ।
सो राज्यमा करिब २५ हजार नेपाली भाषीको मतदानको अधिकार रहेकाले उनीहरु निर्णायक हुनसक्ने बताइएको छ ।
नेपाली मतदाताहरुलाई निर्वाचनसम्बन्धी जनचेतनाका लागि पेन्सलभेनियाको हयारिसवर्गमा पुगेका अमेरिकी राजनीतिज्ञ डा ह्यारी भण्डारीले यो स्थान निर्वाचन निर्यायक बनाउन सक्ने भएकाले निकै महत्वपूर्ण रहेको बताए।
शनिबार मात्रै उनको अगुवाइमा मेरिल्याण्डबाट ५१ जना स्वयंसेवक परिचालन गरी भोट माग्न जुटेका भण्डारी हरेक मतको मूल्य हुने बताउछन्।