ललितपुर । गोदावरी नगरपालिका–१ गोदामचौरमा वडास्तरीय ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता सुरु भएको छ ।
‘युवाका लागि खेलकुद, विकासका लागि खेलकुद’ भन्ने नाराका साथ यही कात्तिक २४ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आयोजक र खेलाडीलाई शुभकामना दिए ।
प्रतियोगितामा नौ वटा वडाबाट ११ समूह प्रतिस्पर्धा गरिरहेका छन् ।
स्थानीय खेलाडीलाई प्रोत्साहित गर्दै उनीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई क्रमशः ५० हजार, २५ हजार, र १५ हजार पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै रु दुई लाखसम्मको उपचार बिमाको व्यवस्था गरिएको वडाध्यक्ष वडाध्यक्ष श्रीराज थापाले जानकारी दिए ।
प्रतियोगिताको पहिलो दिन हिजो तीन खेल भए। पहिलो खेल ‘डि वाई सिए’ र गोजवेश्वर युथ क्लबबीच गोलरहित बराबरीमा समाप्त भएको थियो ।
दोस्रो खेलमा ‘डि वाई सिबी’ र फुलचोकी युथ क्लबबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा फुलचोकी क्लब १ गोलले पराजित भयो ।
तेस्रो खेलमा गोदामचौर युथ क्लबले नवोदय युथ क्लबलाई ३ गोलको फराकिलो अन्तरले पराजित गर्दै विजय हासिल गरेको आचार्यले जानकारी दिनुभयो ।