काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई अझै १३ दिन थुनामा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पुर्व गृहमन्त्री समेत रहेका लामिछानेमाथि प्रहरीले थुनामा राख्न अदालत समक्ष अनुमति मागेको थियो ।
सोही बमोजिम आज आइतबार कास्की अदालतले यो अनुमति प्रदान गरेको हो । यो थुनाको म्याद चौथो पटक हो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथी थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
रविसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्व डीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि १३ दिन म्याद थप गरिएको छ ।
उनिहरुविरुद्ध सहकारीको रकम अपचलन, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा लागेको छ ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो ।
पुनः तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो । रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
सूर्यदर्शन सहकारी पोखरामा अनुसन्धान सकेपछि बुटवलको सुप्रिम सहकारीमा अनुसन्धान गर्न प्रहरीले संयन्त्र तयार गरिसकेको छ ।
त्यसो त रवि जस्तै सहकारीको रकम अपचलनमा संलग्न गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल बन्जाडे जोशीलाई बुटवल लगिएको थियो ।
रविलाई समेत कास्कीपछि रुपन्देहीमा यसैगरि शुन्य दिनबाट गणनाका आधारमा थुनामा राखेर अनुसन्धान हुनेछ ।
किनकी उनि गृहमन्त्री पदमै रहेका समयमै बुटवलको सुप्रिम सहकारी ठगीमा अभियोग दायर भएको थियो । अभियोगपत्रमा लामिछानेका नाममा पनि सहकारीको रकम गएको उल्लेख थियो ।
ठाउँठाउँमा लामिछानेको संलग्नता खुल्ने उल्लेख भए पनि उनिसँग सामान्य सोधपुछसमेत गरिएको थिएन । उनि गृहमन्त्री भएका कारण प्रहरी अनुसन्धान गर्न आँट गरेको थिएन ।
तर, पूर्वडिआइजी छविलाल जोशीलाई समेत थुनामा राखिएको आधार देखाएर लामिछानेलाई अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बुटवलले अगाडि बढाएको हो ।
सहकारी सम्बन्धी संसदीय छानविन समितिले पाँचवटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम लगेर अपचलन भएको निष्कर्ष निकाल्दै कारबाहीको दायरामा ल्याउन सिफारिश गरेपछि उनिमाथिको कारबाही अगाडि बढेको हो ।
सुप्रिम सहकारीमा रवि कसरी मुछिए ?
बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ ।
एक हजार ८२८ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगीको आरोप उनीहरूमाथि छ । बचतकर्ताको रकम यी २८ प्रतिवादीको संलग्नतामा विभिन्न व्यक्तिको नाममा अपचलन गरेको यसअघिकै अभियोग पत्रमा उल्लेख छ ।
उक्त अभियोग पत्रमा पूर्व–गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रतिवादी बनाइएको थिएन । तर, उनको नाममा दुई करोड रुपैयाँ निकासा पाइएको अभियोग पत्रमा उल्लेख छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले रकम पठाएका कम्पनीहरूका सञ्चालक समितिहरूको नाम र विवरण पनि राखिएको छ ।
यसमा पनि रवि लामिछानेको नाम उल्लेख छ । जुन मिसिल अहिले पनि अदालतमै छ । यसअघि मुद्दा दायर गर्दा लामिछानेसँग प्रहरीले सामान्य सोधपुछ गरेर कागजसमेत गरेको थिएन ।
गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालक मध्येमा रवि लामिछानेको पनि नाम मिसिलमा खुलाइएको थियो । पछि संसदीय छानविन समितिले पनि उहाँको संलग्नता रहेको पुष्टि गर्यो ।
यसरी रकम अपचलन गर्ने कम्पनीमा लामिछानेको एक लाख ८० हजार कित्ता सेयर रहेको देखिएको छ । यो सेयरको मूल्य एक करोड ८० लाख रुपैयाँ कायम गरिएको छ । २०७८ पुस ७ गते गोर्खा मिडिया नेटवर्क प्रालिको सेयर उनको नाममा कायम भएको थियो ।
यस्तै, लामिछाने र गोर्खा मिडिया नेटवर्क प्रालि खाता नम्बर ००१–००१–१०५–००००२२४ मा दुई करोड रुपैयाँ निकासा भएको देखिएको छ ।
मिसिलमा भनिएको छ, ‘उक्त रकम श्री रवि लामिछानेको नाममा ऋण खडा गरी मिति २०७७ चैत १८ गते श्री गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आइएमई बैंक लिमिटेडको खातामा सेवा शुल्कबापत चार लाख रुपैयाँ कट्टी गरी संस्थाले एक करोड ९६ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ ।’
सोही विषयमा सोधपुछ गर्नका लागि इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेलाई पनि झिकाउने भएको हो । लामिछाने हाल २४ दिनदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
लामिछानेको रुपन्देहीपछि चितवन, पर्सा र काठमाडौँमा समेत लगातार अनुसन्धान हुने
सहारा चितवन सहकारीबाट गोर्खा मिडियामा गएको ४७ करोड रुपैयाँको हिसाबकिताब प्रहरीले प्राप्त गर्न नसकेको र थप अनुसन्धान गर्नुपर्ने यसअघिकै अभियोग पत्रमा उल्लेख छ ।
चितवनको भरतपुर महानगरपलिका–३ स्थित केन्द्रीय कार्यालय रहेको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलनमा जिबी भन्ने गितेन्द्रबाबु राईसहित १७ जनाविरुद्ध पहिलो चरणमा मुद्दा दायर भएको छ ।
४४६ जना बचतकर्ताको साढे ३७ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपमा मुद्दा दर्ता भए पनि अनुसन्धानका क्रममा केही कारोबारको विवरण भने प्रहरीले सम्बन्धित निकायबाटै पाउन नसकेको अभियोग पत्रमा उल्लेख छ ।
सहकारीको रकम अपचलन गरेर जम्मा गरिएका केही खाताको विवरण राष्ट्र बैंक र अन्य केही बैंकले नै प्रहरीलाई उपलब्ध नगराएको जनाइएको छ ।
सहकारीबाट विभिन्न कम्पनीहरूमा समय समयमा रकम गएको देखिएको र यसरी खुलेका कम्पनी तथा प्रालिहरूको समेत बैंक खाताको बैंक स्टेटमेन्ट माग गरिएको थियो । बैंक स्टेटमेन्टको एक्सेल सिट सफ्ट कपीको विवरण नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागमा माग गरिएको थियो ।
‘सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट गएको भनिएको गोर्खा मिडियाको ग्लोबल आइएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड बराबरको कारोबार के, कसरी, को–को सँग भएको हो, सो को विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकोले सो कम्पनीहरूको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समिति लगायतका बारेमा थप अनुसन्धान गर्नुपर्ने देखिन आयो,’ अभियोग पत्रमा भनिएको छ ।
मुद्दाको हदम्यादसमेत विचार गरेर अहिलेकै अवस्थामा उल्लिखित कम्पनी र पदाधिकारीहरूका सम्बन्धमा निर्णयमा पुग्न नसकिने देखिएको हुँदा थप अनुसन्धान गर्नुपर्ने देखिएकाले पुनः अनुसन्धान गरी पूरक अनुसन्धान प्रतिवेदन पेस गरिने पनि सरकारी वकिल कार्यालयले अभियोग पत्रमा उल्लेख गरेको छ ।
त्यसैगरि, पर्सा स्थित वीरगंजको सानोपाइला र काठमाडौँको स्वर्ण लक्ष्मी सहकारीबाट परेका उजुरीमा पनि सोही अनुसार अनुसन्धान गर्न प्रहरीले तयारी थालेको छ ।
यी सबै सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ गोर्खा मिडियामा ट्रान्सफर भएको रिपोर्ट प्रहरीसँग सुरक्षित छ । यसैका आधारमा अनुसन्धान भइरहेको छ ।
गोर्खा मिडियामा छविलाल जोशी उपाध्यक्ष र प्रवन्ध निर्देशकमा रवि लामिछाने थिए । अध्यक्षमा जीबी राई हुन् ।
हालसम्म उनि फरार छन् । हाल यो मिडिया कार्यालय बन्द छ भने यसबाट संचालित ग्यालेक्सी टेलिभिजन अलपत्र अवस्थामा छ ।