काठमाडौँ । नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको “अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान गरिएको छ ।
१८ पटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा पुरस्कार प्रदान गरिएको हो ।
दिनेश सुनारले आफ्नो प्लेटफर्म र पार्कर कौशललाई विश्व रेकर्ड कायम राख्न मात्र नभइ युवाहरूलाई प्रेरणा दिन, स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउँदै आएका छन् ।
मानवतावादी सेवा, सामाजिक कार्य र शान्ति निर्माणका क्षेत्रमा योगदान दिने व्यक्तिहरू र संस्थाहरूलाई सम्मानित गरिने यो पुरस्कार स्वर्ण भारत परिवार नामक संस्थाले प्रदान गर्दै आएको छ ।
भारतका डा बेनेट फरनान्डेज, मेक्सिकोकी रीता अगुइलर गोन्जालेज, सिङ्गापुरकि डा म्यारी एङ, अमेरिकाकी डा लिनोरा पिटरसन, जिम्बाबेकी डा प्याटृसिया गोन्डे, बेलायतकी अलिसन चिवारा लगायत समाजमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक हजार एक जना मध्येबाट सुनारले पुरस्कार प्राप्त गरेका हुन्।
सुनारले विशेषगरी खेलकुद र पहिचानको अवसर सीमित रहेका ग्रामीण समुदायमा सकारात्मक प्रभाव पार्न योगदान पुऱ्याउँदै आएका छन् ।
मदर टेरेसाका मूल्य मान्यतासँग मेल खाने योगदानलाई प्रोत्साहित गर्न र प्रवद्र्धन गर्न स्थापना गरिएको यो पुरस्कार उपेक्षित समुदायको उत्थान, वञ्चित वर्गका लागि स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्न तथा विश्व शान्ति र सौहार्दको भावना जागृत गराउन करुणा र निःस्वार्थ सेवा गरेबापत प्रदान गर्ने गरिन्छ ।