धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपालमा हरितपथ विकासका लागि वैदेशिक लगानी आउनु सकारात्मक पक्ष भएको बताउनुभएको छ ।
बेलायत सरकारको वातावरण मैत्री आर्थिक वृद्धि कार्यक्रमका टोली नेतासहितका अधिकारीहरूसँग जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको भेटमा मुख्यमन्त्री सिंहले मधेस प्रदेश सहितका देशले जलवायु परिवर्तनका कारण पर्यावरणीय सङ्कट भोगिरहेको भन्दै यसको समाधानका लागि बेलायतसहित विश्व समुदाय एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री सिंहले नेपालको समग्र विकासमा बेलायती सरकारले गरेको सहयोगको सराहना गर्नुभएको थियो । उहाँले बेलायत सरकारले नेपाललाई निरन्तर र उपलब्धिमूलक सहयोग गरिरहेको बताउँदै पछिल्लो समय यहाँको आवश्यकता अनुसार सहयोग परियोजना सञ्चालन गरेकामा उक्त प्रयास प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री सिंहले देशले कम कार्बन उत्सर्जन गरे पनि त्यसबापत पाउनुपर्ने क्षतिपूर्तिका विषयमा अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुनुपर्नेमा जोड दिँदै सङ्घीय सरकारले यस विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आएको चर्चा गर्नुभयो ।
उहाँले जलवायु परिवर्तनका कारण मधेस प्रदेश सहित मुलुकले बाढीपहिरो, खेतीयोग्य जग्गाको कटान, पटान र भसान, खानेपानी तथा सिँचाइको सङ्कट, हिमपहिरो लगायत समस्या भोगिरहेको उल्लेख गर्नुभयो ।
“गर्मीयाममा सुक्खा हुन्छ । जाडोयाम जाने बेलामा कठ्याङ्ग्रिने चिसो हुन्छ । अहिले जाडो हुने समयमा पसिनाले निथ्रुक्क भिजाउँछ । यो सबै जलवायु परिवर्तनले निम्ताएको सङ्कट भएको मुख्यमन्त्री सिंहले बताउनुभयो ।