अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।
अजरबैजानको बाकुमा सोमबारदेखि सुरु भएको कोप- २९ सम्मेलनका क्रममा किर्गिस्तानद्वारा आज बाकुमा आयोजित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण पीडित हुनेहरूलाई न्याय दिने हो भने उनीहरूले भोगेका समस्यालाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको हो ।
जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रका युवा विदेश पलायन हुँदा गरिब, महिला, बालबालिका र वृद्धवृद्धा अझ बढी प्रभावित भएको उल्लेख गर्नुभयो ।
उनीहरूलाई न्याय दिने हो भने उनीहरूले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने राष्ट्रपति पौडेलले बताउनुभयो ।
पर्वतीय क्षेत्रका नागरिकले व्यहोरेका जलवायु समस्या उनीहरूको आफ्नै कारणले नभई त्यो द्रुत गतिमा प्राकृतिक स्रोतको दोहन गरेर धनी भएका विकसित राष्ट्रहरुले गरेको कार्बन उत्सर्जनका कारण भएको उहाँको धारणा थियो ।
उनीहरूलाई जलवायु न्याय दिनमा कोप- २९ सफल हुनेछ भन्ने मेरो पूर्ण विश्वास छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
जलवायु परिवर्तनका प्रभाव हरेक वर्ष बढ्ने क्रममा रहेको र त्यसले नयाँ ‘रेकर्ड’ कायम गर्दै गएको बताउँदै त्यसका कारण पर्वतीय क्षेत्र तुलानात्मक रुपमा बढी जोखिममा परेको उहाँको भनाइ थियो ।
गत अगस्टमा नेपालको सगरमाथा क्षेत्रमा हिउँताल फुट्दा सोलुखुम्बुको थामेगाउँका ३५ भन्दा बढी घरधुरी विस्थापन भई करोडौँको हानिनोक्सानी ब्यहोर्नु परेको सन्दर्भ उल्लेख गर्दै उहाँले गत मनसुन ‘सिजन’ मा आएको बाढीपहिरोमा नेपालका पाँच सय बढी नागरिकले जीवन गुमाउनु परेको जानकारी दिनुभयो ।
उहाँले नेपाल र किर्गिस्तान दुवै पर्वतीय मुलुक भएकाले हामीहरूले भोगेका जलवायु परिवर्तनका असर र प्रभाव पनि समान रहेको पनि बताउनुभयो । साथै, नेपाल र किर्गिस्तानले विगतमा हिउँ चितुवा संरक्षणमा सहकार्य गरेको अनुभव उहाँले उक्त सत्रमा स्मरण गर्नुभयो ।
कार्यक्रममा किर्जिकिस्तानका राष्ट्रपति, मङ्गोलियाका राष्ट्रपति, अजरबैजानका विदेश मामिलामन्त्री लगायतले बोल्नुभएको थियो ।