काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिर्ष नेताहरुले जथाभावी नाराबाजी गरेको भन्दै अदालतको अवहेलनासम्बन्धी बिहीबार निवेदन दर्ता भएको छ ।
न्यायाधीश विनोद शर्माको इजलासले यही कात्तिक २७ गते पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम ठगी, संगठित अपराध र सम्पति शुद्धिकरणमा अनुसन्धान प्रक्रिया भइरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरी अदालतको अवहेलना गरेको भन्दै निवेदन दर्ता गर्न आदेश गरेको थियो ।
यो रिटमाथी आउने मङ्सिर ३ गते सुनुवाइ हुनेछ ।
सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेलले दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको निवेदन अधिवक्ता अनुपम भट्टराईले यही कात्तिक १४ गतेको इजलासमा निवेदन पेस गरेका थिए ।
सो निवेदनमाथि आज प्रारम्भिक सुनुवाइ गर्दै दरपिठ बदर गरी अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश गरेको थियोे ।
निवेदनमा न्यायनिरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिकाबारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउनेलगायत कार्यगरी स्वतन्त्र न्यायपालिकामाथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको उल्लेख छ ।
रास्वपाका नेताहरूले अदालतको अवहेलना गरी प्रदर्शन गरेको भन्दै अधिवक्ता भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए । तर सहरजिष्ट्रार कुईकेलले उक्त रिट दरपीठ गरेका थिए। उक्त रिटमा पुनर्विचार गर्न भन्दै भट्टराईले पुनः निवेदन दिएका थिए।
‘विपक्षीहरूले मुद्दा विचाराधिन रहेको स्थानमा र अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई रिहाई गर्नुपर्ने मागसहित खडा गरेको भिडले न्याय प्रक्रियामा अवरोध सृजना गरेको छ,’ रिटमा भनिएको छ, ‘न्यायपालिका स्वतन्त्र छैन भन्ने भाष्य प्रयोग गरी नाराबाजी गरेककोले न्यायलयको गरिमामा नकारात्मक सन्देश प्रवाह भइरहेको छ।’
यस्तै रास्वपा कार्यवाहक प्रवक्ता सांसद मनिष झाले पोखरामा न्यायाधीशमाथि नै प्रश्न उठाएको पनि रिटमा उल्लेख छ।
जथाभावी नाराबाजी गर्ने उपाध्यक्षद्धय डीपी अर्याल, स्वर्णिम वाग्ले, सांसदहरू मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सोबिता गौतम, अशोककुमार चौधरी, असिम शाह, गणेश पराजुली, चन्दा कार्की, निशा डाँगी, बिन्दबासिनी कंसकार, बिनिता कठायत, लक्ष्मी तिवारी, शिव नेपाली, शिशिर खनाल, सन्तोष परियार र हरि ढकाललाई विपक्षी बनाएर रिट दर्ता भएको हो ।
सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका थिए।
त्यसबेलादेखि नै रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै सडक प्रदर्शन गरेको छ ।
लामिछानेलाई प्रहरीले जहाँ जहाँ लान्छ, पछिपछि लागेर यी सांसद र नेतााहरुले नाराबाजी गर्दै आएका छन् ।