दार्चुला । दार्चुलामा जिप दुर्घटनामा घाइते भएका तीनजनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा कैलालीको धनगढी लगिएको छ।
हेलिकप्टरमा उद्धार गरिएकामा जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका- ८ का सुनिल जोशी, शैल्यशिखर- ५ का सन्दीप रावल र बैतडीको डिलासैनी गाउँपालिका- ५ का उत्तम रोकाया रहेका छन् ।
उनीहरुलाई सेती प्रादेशीक अस्पतालमा भर्ना गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
शैल्यशिखर नगरपालिका- ६ को बगजेबलामा आज बिहान म१ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको हो । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको उक्त जीपमा सवार आठ जनाको मृत्यु भएको थियो । स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि दार्चुलाको शैल्यशिखर नगरपालिका- ५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर- ९ १८ हजारनकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी- ५ का १५ वर्षीय सञ्जीव बोहरा तथा भारतको उत्तर प्रदेश बिजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही ठाउँका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर- ९ गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका- ५ का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको छ ।
मृतक विष्ट गोकुलेश्वर बहुमुखी क्याम्पसका शिक्षक तथा लेखक सोही क्याम्पसकी लेखापाल हुन् । यस्तै दुर्घटनामा मृत्यु भएका वीरेन्द्र र शान्ति श्रीमान श्रीमती हुन् । वीरेन्द्र शैल्यशिखर नगरपालिकामा अमिन पदमा कार्यरत थिए ।
दुर्घटनाका अन्य घाइतेको गोकुलेश्वरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।