काठमाडौँ । नेपालमा उत्पादित बिजुली भारतपछि आजदेखि बङ्गलादेशतर्फ निर्यात सुरु भएको छ ।
नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुलकबीर खानले भर्चुअल प्रविधिमार्फत संयुक्त रुपमा स्वीच थिचेर विद्युत् निर्यातको शुभारम्भ गरेका हुन् ।
नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत् तेस्रो देशमा विस्तार भएको छ ।
नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बङ्गलादेशसम्म पुगेको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर- मुजफ्फरपुर चार सय केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ ।
त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत- बङ्गलादेशबीचको बहरामपुर (भारत)- भेरमारा (बङ्गलादेश) चार सय केभी प्रसारण लाइनमार्फत बङ्गलादेश विद्युत् पुग्नेछ ।
नेपालबाट भारत हुँदै बङ्गलादेशतर्फ विद्युत् निर्यात आज मध्यान्ह १२ः३० बजेदेखि सुरु भएको हो । यसवर्ष (सन् २०२४)को वर्षायाममा विद्युत् निर्यात आज राति १२ बजेसम्म मात्र हुनेछ ।
त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ देखि बङ्गलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८ दशमलव ६० र २१ दशमलव ४० गरी ४० मेगावाट विद्युत् बङ्गलादेशतर्फ निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो ।
केन्द्रीय विद्युत् प्राधिकरणले दुई आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बङ्गलादेश निर्यात स्वीकृति दिएको हो ।
यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् । नेपाल विद्युत् प्राधिकरणले वर्षायामको छ महिना अर्थात् हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच वर्षसम्म ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बङ्गलादेशलाई बिक्री गर्नेछ ।