काठमाडौँ । विभिन्न समयमा अचाक्ली उग्रता प्रदर्शन गर्दै आएका दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
उनलाई प्रहरीले उनकै निवास भक्तपुरबाट आज मंगलबार पक्राउ गरेको हो । उनी झापाका बासिन्दा हुन् भने पछिल्लो पटक भक्तपूर लगायत क्षेत्रमा घर जग्गा जोडेका छन् ।
मेडिकल व्यवसायको आवरणमा सोझा नागरिकलाई उचाल्ने गतिविधिमा अनवरत लागिरहेका उनी साइबर अपराधमा पक्राउ परेका हुन् ।
पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भ्रमपूर्ण विवरण आफ्नो फेसबुकमा सार्वजनिक गरेका दुर्गा प्रसाईं पुर्पक्षका लागि जेल पठाएर अनुसन्धान गर्ने तयारीमा प्रहरी पुगेको छ ।
उनका पछिल्ला गतिविधि निकै गंभिर प्रकृतिका छन्, त्यसैले यसपालि छिट्टै रिहा हुँदैनन्, प्रहरी स्रोतले भन्यो ।
सामान्य नागरिकलाई सडकमा उतारेर अराजकता फैलाएका दुर्गा प्रसाईं गत असोजमा पक्राउ परेका थिए । रिहा भएपछि झनै उनले असन्तुलन व्यवहार देखाउँदै आएका थिए ।
‘प्रसाईंलाई साइबर अपराधमा मुद्दा दर्ताको तयारी गर्दैछौं, नेपाल प्रहरी अनुसन्धान व्यूरो (सीआईबी)का प्रमुख एआइजी दीपक थापाले भने,‘निकै समयदेखि उनका गतिविधि निगरानी गरेका थियौं, यसपालि भने प्रधानमन्त्री केपी ओली विरुद्ध नक्कली सामग्री सहितको उनको कार्य अपराध उन्मुख देखिन्छ ।’
प्रसाईंले गलत काम गरेका विभिन्न प्रमाण संकलन भइरहेको उनले बताए । प्रसाईं विरुद्ध मुख्य तीनवटा मुद्दामा सीआइबीले अनुसन्धान गर्दैछ, थापाले राष्ट्रिय समाचारसँग भने,‘साइबर अपराध नक्कली कागजपत्र, संगठित अपराधमा अनुसन्धान हुनेछ ।’
यस बाहेक उनको सम्पतिको आयस्रोत सहित सामुहिक रुपमा चन्दा उठाउने काम भएको छ वा छैन भन्ने विषय सांगठनिक अपराध अन्तर्गत हुने भएकोले यही मुद्दा वरपर रहेर अनुसन्धान हुने उनले बताए ।
दुर्गा प्रसाईंले गत वर्ष मधेसदेखि पहाडसम्मका विपन्न परिवारका व्यक्तिलाई अनेक प्रलोभन देखाएर राजधानी उतारेका थिए । पछि सहभागीहरुले प्रसाईंले झुठ बोेलेर आँफूलाई प्रयोग गरेको बताए थिए ।
उनले नक्कली विवरण तयार गरेर पीडित नागरिकलाई सहयोग दिएको प्रचार गर्छन् ।
स्मरणरहोस, प्रसाईंले हालसम्म कुनै सामाजिक काम गरेका छैनन् । बरु उनको सामाजिक अराजकताले धेरैलाई हैरानी पारेको छ ।