काठमाडौँ । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ ।
आयोजनाको पहिलो युनिटबाट उत्पादित बिजुली शुक्रबार साँझ राष्ट्रिय प्रणालीमा जोडिएको हो ।
रसुवाको आमाछोदिङ्मो- ५ मा निर्माण भएको सो आयोजनाको क्षमता ४२ दशमलव पाँच मेगावाट रहेको छ । सबै प्राविधिक परीक्षण सम्पन्न भई पहिलो युनिटबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका सब इन्जिनियर रबिन कोइरालाले जानकारी दिए ।
एक युनिटबाट पाँच मेगावाट बिजुली उत्पादन भएको छ ।
आयोजनाको बाँकी रहेको दुई युनिटको पनि आइतबारसम्म परीक्षण गरेर केन्द्रीय प्रणालीमा जोडिने तयारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पण बहादुर सिंहले जानकारी दिए ।
‘क्यास्केड मोडल’ मा निर्माण गरिएका अर्धजलाशय प्रकृतिको दुई आयोजनामध्ये साञ्जेन (माथिल्लो) जलविद्युत् आयोजना २०८० भदौ मसान्तमा सम्पन्न गरी वि. सं २०८० असोज २१ गतेदेखि राष्ट्रिय प्रणालीमा बिजुली उपलब्ध गराउँदै आएको थियो ।
कुल ११ केभी क्षमताको आपतकालीन प्रसारण लाइन मार्फत व्यापारिक रुपमा बिजुली प्रवाह गरिरहेको छ । सो आयोजनाको विद्युत् प्रवाहका लागि कम्पनी आफैँले आठ किलोमिटर ११ केभी डबल सर्किट प्रसारणलाइन तथा १३२/ ११ केभी सबस्टेसन निर्माण कार्य सम्पन्न गरेको थियो ।
चिलिमे त्रिशूली ६६ केभी प्रसारण लाइनमार्फत क्षमताको सीमितताका कारण करिब आठ दशमलव पाँच मेगावाट विद्युत् वैकल्पिक रुपमा बिक्री गरी हालसम्म करिब ३० करोड आम्दानी गरिसकेको छ ।