बागलुङ। कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ ।
अहिले करिडोर भएर इन्डियन पर्यटक मुक्तिनाथ पुग्न थालेका छन् । इन्डियाका पर्यटकलाई मुक्तिनाथ पुग्ने सबैभन्दा छोटो बाटो कालीगण्डकी करिडोर भएको हो ।
करिडोरले इन्डियन पर्यटकलाई मुक्तिनाथ पुर्याउने र कालीगण्डकी तटीय क्षेत्रका पर्यटकलाई लुम्बिनीसँग जोड्न सफल भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।
उनले दक्षिण भेगको करिडोरका कारण बागलुङको मुहार नै फेरिएको बताउँदै अहिले सडक धमाधम कालोपत्र भइरहेको बताए ।
करिडोरअन्तर्गत बागलुङमा मात्रै ४४ किलोमिटर सडक पर्छ । यस सडकले बागलुङको दक्षिण भेग बलेवा, कुश्मिसेरा, जैदी हुँदै छिस्ती छिचोलेर गुल्मी पुग्ने गरेको छ ।
करिडोर चौडा भएदेखि नै ठूला मालवाहक ट्रक र पर्यटक बोकेका बस गैँडाकोटबाट जैमिनी धाम, बागलुङ कालिका, पञ्चकोट हुँदै मुक्तिनाथ पुग्ने गरेका छन् ।
करिडोरको ट्रयाक खोलेको पाँच वर्षमा विभिन्न खण्डमा स्तरोन्नतिसँगै धमाधम कालोपत्र भइरहेको छ । गैँडाकोटबाट चीनको सिमाना कोरला नाकासम्म करिडोरको चार सय ९५ किलोमिटरको २०७६ सालमा नै नेपाली सेनाको सहयोगमा ट्रयाक खुला गरिएको थियो ।
चीनका पर्यटक पनि करिडोरबाट नै लुम्बिनी आउन थालेका छन् ।