जनकपुर । यही मङ्सिर २१ गते जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाह पञ्चमीको तयारी तीव्र रुपमा सुरु भएको छ ।
विवाहपञ्चमीलाई थप व्यवस्थित, प्रभावकारी र आकर्षक बनाउन प्रचारप्रसारका साथै विभिन्न कार्ययोजनाबद्ध रुपमा सुरु भइरहेको छ ।
मङ्सिर २१ गते मार्गशुक्ल पञ्चमी तिथिमा हुने स्वयंवर र वैवाहिक कार्यक्रम एवं त्यसअघिका विवाहपूर्वका विधिविधानमा सहभागी हुन लाखौँको सङ्ख्यामा जनकपुरधाममा आउने श्रद्धालु भक्तजन र साधुसन्तका लागि बास, शौचालय, खानेपानी, सुरक्षा तथा अन्य सेवा व्यवस्थापनका विषयमा तयारी भइरहेको छ ।
विवाहपञ्चमी महोत्सवका लागि जनकपुरधाममा विभिन्न पाँच ठाउँबाट ‘डिस्पले’ का माध्यमबाट महोत्सवबारे जानकारी, महोत्सवका दृश्य विनिमय तथा अवलोकन गराउने, ठाउँठाउँमा प्राथमिक उपचार सहितको स्वास्थ्य शिविर राख्ने, बिरामी तथा चोटपटकका सिकार हुनेको उद्धार तथा उपचारका लागि एम्बुलेन्स तथा निजी एवं सरकारी अस्पतालमा निःशुल्क उपचारका लागि शय्या व्यवस्था तथा ट्रमा सेन्टर सञ्चालन गरिने भएको छ ।
औषधिसहित रेपिड रेस्पोन्स टिम परिचालन गर्ने, विभिन्न स्थानमा खाने तथा अन्य प्रयोजनका लागि पानीको आपूर्ति मिलाउने, अघिल्ला वर्षभन्दा बढी सङ्ख्यामा सफाइकर्मी सहित शौचालय व्यवस्थापन गर्ने, सडक बत्तीको व्यवस्थापन गर्ने र सिसिटिभी तथा ड्रोनबाट संवेदनशील ठाउँका गतिविधि निगरानी गर्ने लगायत अन्य कार्यको तयारी भइरहेको जनाइएको छ ।
महोत्सव तयारी गर्ने कार्यको बाँडफाँड सकिएको छ । रासस