मनाङ । जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन् । नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् ।
उचाइअनुसार नै यस क्षेत्रका नदी, ताल, खोलाको पानी चिसोले जम्ने गरेका छन् । तीन हजार मिटरमाथिका अधिकांश नदी, खोला, हिमताल जम्दै गएका हुन् ।
मनाङका खोला सहित आधा दर्जन हिमताल जमेर चट्टानझैँ भएको मनाङ ङिस्याङ गाउँपालिका- ६ का वडाध्यक्ष सोनाम गुरुङले बताए ।
उनका अनुसार चार हजार ९१९ मिटरमा उचाईमा अवस्थित तिलिचो, भ्राकामा पर्ने चार हजार ६०० मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकर लगायतका हिमताल यतिबेला जमेका छन् ।
चिसो बढेसँगै खानेपानीको मुहानसमेत जम्दै गएका छन् । चिसोले मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ- बिहान माइनस छदेखि माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताए । उनका अनुसार तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानी समेत जमेको छ ।
मनाङमा मङ्सिर- पुसदेखि फागुनसम्म हिमतालका पानी जमेर चट्टान भएका हुन्छन् । अत्याधिक चिसोले बगिरहेका नदी, खोला, हिमताल जम्न थालेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल मनाङका अनुसार राति जमेको पानी दिउँसो भएपछि मात्रै बग्ने गर्छ । चिसो बढेसँगै धारामा पानीसमेत जम्ने गरेको छ ।
चिसो बढेसँगै मनाङ पुगेका आन्तरिक तथा बाह्य पर्यटक भने जमेको तालमाथि हिँडेर नौलो अनुभव लिने गरेका छन् । चिसोका बावजुत पनि मनाङका ताल हेर्न पर्यटक पुग्ने क्रम जारी छ ।