काठमाडौँ । कात्तिक २ गतेदेखि पोखरा जिल्ला प्रहरी कार्यालयको थुनामा रहेका रवि लामिछानेले भावुक रुपमा आँफू निर्दोष रहेको भेट्न जानेहरुलाई लगातार भन्दै आएका छन् ।
सोमबार उनलाई भेट्न गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्तासँग न्यायालय र जनताप्रति आँफु सधैं विश्वास गरिरहने सुनाएका थिए ।
आँफू न्यायालयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा गर्न उनले पटक पटक दोहोर्याएका थिए ।
रविले भनेका छन्,‘केही मिडियाले संगठित रुपमा आक्रमण गरेका छन् । ‘फेक’ तथा ‘मिस लिडिङ’ न्यूजको तथ्य र प्रमाण बारेमा सधैं जवाफ दिएकै छु ।’
प्रेसमिट समेत गरेर प्रश्नहरुको सामना तथा सवालहरुको सप्रमाण जवाफ दिएकै हुँ, उनले भने ।
यसरी थुनिएको मौका छोपेर कायरतापूर्वक गरिएको ‘मिडिया ट्रायल’ र संगठित मिडिया आक्रमण भएको लामिछानेले सुनाएका थिए ।
थुनामा रहेका रास्वपा सभापति तथा दुई पटक गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका लामिछानेले भने,‘प्रमाणसहितको जवाफ दिन पाए त हुन्थ्यो तर यतिबेला धैर्यतापूर्वक प्रतिक्षा गर्नुको विकल्प छैन।’ पटक-पटक गलत समाचार लेखेर माफी माग्दै आएकाहरुलाई जवाफ दिन होइन उहाँ आमनागरिकलाई भ्रम नपरोस् भन्नेमा आँफु चिन्तित रहेको उनले सुनाए ।
लामिछानेको भनाई उदृत गर्दै रास्वपाका ती नेताले सामाजिक संजालमा पोष्ट गर्दै भनेका छन्,‘जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीमा भएको बयानलाई विभिन्न मिडियाले आ–आफ्नो स्वादअनुसारले पूर्वाग्रही भई संगठित रुपमा सार्वजनिक गरेर भ्रम छर्न मिल्छ?’
लामिछाने भन्छन्,‘पहिलो कुरा, उक्त चेकसहितको सवालका लागि एकैछिन बुझ्नुपर्छ भनेको हुँ। पुरानो कुरा भएकाले बुझ्न दुई÷तीन कल वयान लिनेकै अगाडि गरेको पनि हुँ।’ सबै कलको समय जोड्दा ५ देखि ७ मिनेट मात्र भयो होला। त्यतिन्जेल अरु सवालहरुमा काम निरन्तर भयो। काम रोकिएको र त्यसैका कारण बयानमा समय लागेको कुरा गलत हो, झुटो भएको लामिछानेले सुनाए ।
अझै बिस्तारमा लामिछाने भन्छन्,‘दोस्रो कुरा ‘मेरो जवाफमा मैले यसो यसो भएको हुनुपर्छ तर मलाई अहिले यकिन भएन, लेखापरीक्षण प्रतिवेदनमा पनि कतै नदेखिएकाले थप तथ्य अनुसन्धान अधिकारीलाई पछि जानकारी गराउँछु भनेर प्रष्ट रुपमा भनेको थिएँ। सहकारीबाट ऋण लिने कुनै निर्णय कम्पनीले गरेको छैन। कार्यकारी अध्यक्ष एवं लगानीकर्ता जिवी राईले ब्याज नलाग्ने ऋण लिएको ‘डिक्लेयर’ गरेका छन्। उनको निर्देशनमा कुनै चेकहरु काटिएको हुन सक्छ र त्यसका लागि चेकसँगैको ‘सपोर्टिङ डकुमेण्ट’ हेर्नुपर्ला। साथै, व्यस्तता र उपत्यका बाहिरको भ्रमणहरुका कारण खाली चेकमा समेत हस्ताक्षर गरेर छोड्ने अभ्यास थियो। कतै दुरुपयोग पो भयो कि? जे भए पनि मैले व्यक्तिगत रुपमा र संस्थागत रुपमा समेत सहकारीबाट ऋण लिएको छैन, सहकारीको ऋणको सावाँ, ब्याज, किस्ता तिर्न भनी कुनै पत्र, सूचना प्राप्त भएको वा सार्वजनिक भएको जानकारी छैन। त्यसैले प्रस्तुत चेकबारे ‘सपोर्टिङ’ कागजात हेर्नुपर्छ भनेर जवाफ दिएको थिएँ।’
रास्वपा सभापति लामिछानेले यस प्रसंगलाई यसरी उचालिएको छ कि मानौं मैले सहकारीबाट ऋण मागेको, लगेको, खाएको, मासेको प्रमाण नै फेला परेझैं गरिएको सुनाए ।
‘गोर्खा मिडियाले सम्झौता गरेका कर्मचारी, कम्पनी, भेण्डर आदिलाई भुक्तानी दिन प्रदान गरिएका चेकहरुबारे तथा कार्यकारी अध्यक्षको निर्देशन पालना गरी भुक्तानी गरिएको बैंक, वित्तीय संस्था, कम्पनी, वा व्यक्तिका हकमा मेरो जवाफदेहित रहन्छ। प्रचलित कम्पनी ऐन बमोजिम गोर्खा मिडियाले तिरेको पैसाको जिम्मेवारी र जवाफदेहिताबाट मैले अलग हुन्छु भनेको छैन र हुन्न, उनले भने,‘तर, सहकारीबाट पैसा ल्याउने कार्यमा मेरो संलग्नता थिएन, छैन।’
मैले गोर्खा मिडियाका खाताहरु रहेको चेकमा हस्ताक्षर गरी भुक्तानी गर्दा कुन–कुन चेकले कुन–कुन कानूनको उलंघन भयो? आज पो सुप्रिम, सूर्यदर्शनजस्ता सहकारीका समस्या सार्वजनिक भयो। तीन वर्ष अगाडि लगानीकर्ताको निर्देशनसँगै निश्चित विधि र प्रक्रिया पूरा गरी आएका बैंक, वित्तिय संस्था, सहकारी वा कुनै कम्पनीलाई दिइने चेकमा हस्ताक्षर गर्न किन सोच्नुपथ्र्यो र?’ उनको प्रश्न छ ।
लामिछाने भन्छन्,‘निजी क्षेत्र विश्वासमा चल्छ। मैले हस्ताक्षर गरेका चेकहरु गोर्खा मिडियाका चेकहरु हुन्। कम्पनी ऐनको अधिनमा रहेर गरिएका प्रत्येक कारोबारको जवाफ म दिन्छु। सहकारीका कुरा सहकारीका मान्छेले जानुन्। सहकारीबाट गोर्खा मिडियामा पैसा ल्याउने सम्पूर्ण प्रक्रियामा मेरो संलग्नता छैन भनेर संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पृष्ठ नम्बर ४४९ मा लेखेको छ । ममाथि कम्पनी ऐनमा अनुसन्धान हुनुपर्नेमा सहकारी ठगीको झुटो मुद्दामा गिरफ्तार गरियो, अझ प्रतिशोधपूर्वक संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको मुद्दा लगाइँदैछ। त्यतिले नपुगेर सरकारी वकील कार्यालय नै लागेर मेरा बयानका अधुरा, अपुरा र मेरोविरुद्ध हुनेगरी मिडियालाई सूचना चुहाउने कार्य हुँदैछ।’
‘म चाहिँ नागरिकले दुःख नपाउन् भनेर शान्तिपूर्ण ढंगले गरिएको आन्दोलन समेत नगर्नु भन्ने अनी मेराविरुद्ध सिंगो राज्य र केही मिडिया सुनियोजित भएर लागिरहने? यसरी एउटा व्यक्तिविरुद्ध भएभरका सारा शक्ति नाङ्गो भएर लाग्ने र त्यसमा पनि नपुगेर न्यायालयमा पनि चल्छ भन्दै खुलमखुला तर्साउने हो भने हामीले विश्वास गरेको निलो क्रान्तिको रंग बदल्नुपर्ने हुनसक्छ।’ रविले हिरासत कक्षमा भेट्न गएका ती रास्वपा नेतालाई भनेका छन् ।
लामिछानेले जोड दिंदै भनेका छन्,‘हिरासत कक्षको पाँच नम्बर कोठाबाट छुटिंदै गर्दा यो सन्देश चाहिँ नछुटोस् है ।’
लामिछाने यतिबेला पोखरा जिल्ला प्रहरी कार्यालयमा थुनामा छन् ।
आज मंगलबार उनलाई काठमाडौँ ल्याउने भनिएपनि प्राविधिक तयारी नपुग भएको भन्दै ढिलाई भएको छ ।
काठमाडौँमा उनी विरुद्ध एक सहकारीका बचतकर्ताहरुले मुद्दा दायर गरेका छन् ।
अदालतले पनि पक्राउ पुर्जी जारी गरिसकेको छ । यस बारेमा विस्तृत समाचार यो लिंकमा धमाधम प्रमाण जुटाउँदै प्रहरी